Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

विना शिक्षक पढाउन भने पछि ...

बुधबार, १३ माघ २०७२

पर्सा - शिक्षा मन्त्रालयले लागू गरेको कार्यक्रम तराईमा कसरी असफल हुन्छ भन्ने पछिल्लो उदाहरण बनेको छ पर्साका विद्यालयको कम्प्युटर कक्षा । मन्त्रालयले लागू गरेको पाठ्यक्रम  तीन बर्ष सम्म पनि पठन पाठन नभएको फेला परेसँगै सरकारी योजनाको हालत प्रष्ट भएको हो ।

शैक्षिक सत्र २०७० देखि सम्पूर्ण सामूदायिक विद्यालयमा कक्षा ६ देखि अनिवार्य कम्प्युटर शिक्षा लागू गरिएको थियो । हरेक बर्ष एक एक कक्षामा थप गर्दै क्रमशः तीन बर्षपछि कक्षा आठसम्म कम्प्युटर पढाउने भनिए पनि पर्सामा कम्प्युटर कक्षा झारा टार्ने मेलो मात्रै बनेको फेला परेको छ ।

कतिपय विद्यालयमा कम्प्युटर शिक्षक नै नभएको, कतिपय विद्यालयमा कम्प्युटरनै नभएको र कम्प्युटर किनेका विद्यालयहरुमा कमसल सामान खरिद गरिएकोले चाँडैनै विग्रदाँ पठन पाठन अलपत्र परेको हो । जिल्ला शिक्षा कार्यालयले कम्प्युटर पढाउने भने पनि शिक्षक भने उपलब्ध नगराउँदा ठूलो समस्या परेको हो । पहिल्यै भएका मध्येबाट कम्प्युटर पढाउन लगाएका शिक्षक पनि समय अनुसारको तालीम नपाउँदा अपडेट हुन सकेका छैनन् । अर्को तर्फ  ग्रामिण भेगका अधिकांश विद्यालयमा कम्प्युटर खरिदका लागि प्राप्त रकमको हिनामिना भएको स्वयं शिक्षकहरुले बताएका छन् ।

कमसल खालको कम्प्युटर खरिद भएका कारण एक बर्ष पनि नटिकी बिग्रेर थन्केका मावि सेढवाका एक शिक्षकले बताए । पर्साका एक जना स्रोत ब्यक्ति छोटेलाल साहले कम्प्युटर शिक्षाका बारेमा कुनै गुनासो नआएको बताए । तर, जिल्लाका ग्रामिण भेगका मावि जीतपुर नौकाटोला, मावि भीखमपुर, मावि सेढवा लगायतका विद्यालयहरुमा अहिले सम्म कम्प्युटर समेत खरिद गरिएको छैन । 

हरेक माध्यमिक र उच्च माध्यमिक बिद्यालयका लागि जिल्ला शिक्षा कार्यालयले कम्प्युटर खरिद गर्न रकम उपलब्ध गराएको थियो । शैक्षिक सत्र २०७० सालमै जिल्लाका सबै निमावि, मावि र उच्च माविहरुलाई १ लाख ४० हजार अनुदान उपलब्ध गराइ सम्बन्धित विद्यालयले ६० हजार थपेर २ लाख रुपै.याको लगानीमा कम्प्युटर खरिद गर्नु पर्ने थियो । सो लागतबाट ५ थान कम्प्युटर, प्रिन्टर, स्क्यानर, फोटोकपी सहित वाइफाइ वा सिडिएमए सेट मार्फत इन्टरनेट जडान गरी कम्प्युटर कक्षा संचालन गर्नुपर्ने योजना बनाईएको थियो ।

प्रकाशित मिति २०७२ माघ १३ गते

प्रतिक्रिया