काठमाडौँ, १३ माघ । भूकम्पपछि तिब्बती सिमाछेऊ नेपाली गाउँ लामावगरको स्यालूबाट एकै पटक ७ जना कलिला बालबालिकाहरु हराए । बालबालिका हराएकोबारे गाउँमा हल्लीखल्ली हुन थाल्यो । त्यसपछि उनीहरुलाई अभिभावकले नै लामा भाषा पढाउन भनेर भारतीय सिमाछेऊमा कसैको जिम्मा लगाएको खुलासा भयो । गाउँका कसैको सल्लाहमा ६ देखि १२ बर्षका कलिला बालबच्चाहरुलाई राजीखुसीले सिमाक्षेत्र पुर्याएको आमाहरुले बताएपछि उक्त खुलासा भएको हो ।
यहाँबाट फकाएर लाने ‘कसै’ र सिमाबाट बालबालिका बुझेर भारत छिराउने ‘कसै’को पहिचान गोप्य छ । पहिचान खुलाउन नचाहने तर छोरा पढ्न पाएकोमा खुसी देखिने स्यालुकी लक्ष्मी तमाङले भनिन, ‘प्रहरीको सोधपुछमा ढाटीढाटी लग्यौ । चिनेकै मान्छेसँग गएकोले ढुक्कसँग लामाको भेषमा आएका गुरुहरुलाई छोरा जिम्मा लगायौ ।’
उक्त गाउँमा २०७२ सालको असोज २४ गते हराएका ६ जना बालबालिका अझै गाउँ फर्किएका छैनन् । उनीहरुको खोजी धेरैपछि थालिदासम्म उक्त गाउँ र आसपासबाट धमाधम बालवालिकाहरु हराउँदै गएका छन् । भूकम्पपछि उब्जिएको चरम आर्थिक र सामाजिक संकटको फाइदा लिदै अनाधिकृत बालबालिका उपयोग गर्ने क्रम बढिरेहको स्थानीय अगुवाहरुको भनाई छ । अभिभावककै राजीखुसी भएकाले अनाधिकृत कार्य भए पनि रोक्न नसकिरहेको गोगरेश्वर प्रावि शिक्षक हिरण्यबहादुर घिसिङ बताउँछन् । ‘यसक्षेत्रका विभिन्न गाविसहरुबाट भूकम्पपछि मात्र २०, २५ जना वालवालिकाहरु पढाउने लोभ देखाउँदै लगिसके,’ शिक्षक घिसिङले भने, ‘जति गरे पनि रोक्न सकिएको छैन ।’ वालवालिका अन्यत्र जान थालेपछि स्थानीय विद्यालयहरुमा भने विद्यार्थी कम हुँदै गएको उनले बताए ।
बालबालिकालाई विभिन्न कार्यमा अन्यत्र लानुपरेमा स्वीकृति अनिवार्य छ । विदेश लानका लागि स्थानीय प्रशासनको सिफरिसमा अध्यागमण विभागले स्वकिृति दिनुपर्छ । दोलखा प्रशासनले भूकम्पपछि अध्यायन गराउनका लागि भनेर बालबालिका लान कसैलाई पनि स्वीकृति दिएको छैन । प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेका अनुसार विनास्वकृति बालबालिका अन्यत्र लानु कानुनविपरित हो । उनले भने, ‘भूकम्पपछि अवैध ढंगले लगिएका बालबालिकाहरु फिर्ता गरिरहेका छौं ।’
लामा पढाउन भनेर भारत छिराएका बालबालिकहरु ३ बर्षपछि फर्कने आश्वासन अभिभावकले पाएका छन् । कानुनबारे अनिभिज्ञ उनीहरुले चौकीहरुमा सोधनी गर्दा आफ्नो छोरा भनेर पहिचान गराएका थिए । उनीहरुलाई भारतको कुन ठाउँमा छोरा पढ्दै छ भनेर जानकारी छैन् । भीममाया तमाङले छोरालाई चिनेकै मान्छेको हातमा जिम्मा लगाएर फर्किएकाले ढुक्क भएको बताइन् ।
पढ्न भनेर खुसीसाथ हिडेका आमाछोराका समुहलाई कसैले २ दिन काठमाडौं राख्यो । अर्को २ दिनपछि बालकहरुलाई सिमा पसाइयो र आमाहरुलाई फर्काइयो । आमाहरु कसैले बाटो खर्चबाहेक अन्य पैसा कसैबाट नलिएको बताए । ‘भूकम्पले घर भत्कायो, बस्ने बास छैन, खाना छैन, लुगा छैन । दुस्खको बेला सित्तैमा पढाउने र पाल्ने भेट्टाएपछि खुसीले छोरा जिम्मा हौ,’ भीममायाले सुनाइन् ।
भूकम्पछि वालवालिकाहरु उपयोग गर्न विभिन्न स्थानमा लानेक्रम रोक्न जिल्लामा सरकारी तथा गैरसकारी प्रयास जारी छ । प्रतिवेदनहरुमा कसैसँग कतै अबैध प्रकृयाबाट हिडिरहेका बालबालिका उद्धार गरिएको प्रतिवेदनहरु प्नि सार्वजनिक छन् । जिल्ला वाल कल्याण समितिको प्रतिवदेनमा ५ सय वालक र ४ सय ६५ वालिका जोखिममा परेको उल्लेख छ । उनीहरुलाई विभिन्न कोणबाट निगरानी र सहयोगको कार्यक्रम गरिरहेको उल्लेख छ ।
समितिको प्रतिवदेनमा गैरसरकारी संस्था इकार्डस् दोलखाले २ सय ४६ जना वालवालिका उद्धार गरेको उल्लेख छ । प्रहरीले १८ जना वालवालिकालाई उद्धार गरेको उल्लेख छ ।
सवारीसाधन ओहरदोहर गर्ने जिल्लाको नाकाहरुमा सरकारी र गैरसकारी तहका कर्मचारी परिचालन गरे निगरानी र सम्झाइबुझाइ गर्दा पनि बालबालिका हराइरहेका छन् ।
भूकम्पपछि सुरु भएको चरम गरिबी जीवनलाई व्यवस्थापन गर्न नसक्दा अभिभावकै सरसल्लाहमा बालबालिका दुरुपयोग भैरहेका छन् । यो क्रम रोक्न प्रहरीले भारतमा समेत काम गरेको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी बेलबहादुर पाण्डेले भारतबाट उद्धार गरिएका बालबालिकाहरुलाई अभिभावकको जिम्मा लगाइएको छ । अबैध ढंगले बालबालिका दुरुपयोग गर्ने गिरोह खोजीसमेत प्रहरीले गरिरहेको छ । जिल्ला वालकल्याण समितिले पनि राहत तथा उद्धारका कार्यक्रमहरु गरिरहेका छन् ।
(कान्तिपुर दैनिकमा प्रकाशित)
प्रतिक्रिया