Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

शिक्षक आयोगका अध्यक्ष पनि दोहोरो सुविधा लिदैं

मंगलबार, १२ माघ २०७२

काठमाडौं - सार्वजनिक पदमा बसेर दोहोरो सुविधा लिईरहेका उच्च सरकारी अधिकारीको सूचिमा शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतम समेत रहेका छन् । पूर्व सचिव गौतम गत असोजमा आयोग अध्यक्ष भएका हुन् । उनले अध्यक्षको तलव भत्तासँगै पूर्व सचिवको हैसियतमा पाउने पेन्सन समेत बुझ्दै आएको सामान्य प्रशासन मन्त्रालय श्रोतले एडुखबरलाई बतायो ।

गत बिहीबारको मन्त्रिपरिषद् बैठकले संवैधानिक लगायतका विभिन्न सरकारी निकायमा लाभको पदमा बसेर दोहोरो सुविधा लिएकाहरुले अब देखि एउटा मात्रै सुविधा लिनु पर्ने निर्णय गरेको छ । उक्त निर्णय पछि मन्त्रालयले यस्ता अधिकारीको विवरण अद्यावधिक गर्ने क्रम शुरु गरेको छ । जस अनुसार गौतमले दोहोरो सुविधा बुझेको फेला परेको मन्त्रालय श्रोतले जनायो ।

मन्त्रिपरिषदको उक्त निर्णय र सामान्य प्रशासन मन्त्रालयले आन्तरिक सर्कुलर मार्फत दोहोरो सुविधा फिर्ता गराउने अभियान शुरु भएको छ । यस्ता अधिकारीहरुले की पेन्सन वा हाल बहाल भएको पदको मासिक तलब भत्ता लिएको घोषणा गर्नुपर्ने उक्त बैठकले निर्णय गरेको थियो । सोही निर्णयका आधारमा एक महिना भित्र एउटा मात्रै सुविधा लिएको घोषणा गर्न सरकारले म्याद दिएको छ । यसरी घोषणा गर्दा जुन सुविधा बढि हुन्छ त्यही रोज्न पाउने पनि ब्यवस्था भएको छ ।

सामाजिक सुरक्षा कार्यक्रम कार्यविधि ०६९ ले दोहोरो सुविधा लिन नपाईने  व्यवस्था गरे पनि सार्वजनिक पदमा बस्नेहरुले कानूनी अभावको छिद्र समातेर दोहोरो सुविधा लिदैं आएका छन् । जसले गर्दा राज्य कोषबाट बर्षेनी करोडौ रकम खर्च हुँदै आएको छ ।

शर्मा सँगै शिक्षा मन्त्रालयका पूर्व सचिव समेत रहेका डा. किशोर थापाले समेत दोहोरो सुविधा लिएको फेला परेको छ । उनी अहिले भूकम्प पुनर्निर्माण प्राधिकरणका विषय विज्ञका रुपमा कार्यरत छन् ।

यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पाँच जना आयुक्तहरु केशव बराल, नविन घिमिरे, दीप बस्न्यात, शावित्री थापा गुरुङ र राज नारायण पाठकले राज्यबाट दोहोरो सुविधा लिइरहेको फेला परेको छ । बराल पूर्व प्रहरी अतिरीक्त महानिरीक्षक हुन् भने गुरुङ त्रिभुवन विश्वविद्यालयकी प्राध्यापकका हैसियतले  सुविधा लिदैं आएकी छन् । पाठक उप महान्यायधिवक्ताको पेन्सन खाँदै छन् भने  आयुक्तद्वय बस्न्यात र घिमिरे नेपाल सरकारका पूर्वसको पेन्सन बुझ्छन् ।

यस्तै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष रहेका पूर्वप्रधान न्यायाधीश अनुपराज शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा पूर्व गभर्नर युवराज खतिवडा यसैगरी लोक सेवा आयोगकी पूर्व अध्यक्ष डा. कयोदेवी यमी र सदस्य डा. गोविन्दप्रसाद कुसुमले पनि दोहोरो सुविधा लिएका छन् । कुसुम पूर्वसचिव हुन् भने यमी नाष्टकी पूर्व वैज्ञानिक हुन् । लोकसेवा आयोगका सदस्य ब्रह्मदेव राय पूर्व सचिवसमेत रहेकी लोकसेवा आयोग सदस्य विन्द्रा हाडा भट्टराईले पनि दोहोरो सुविधा लिइरहेकी छिन् । निर्वाचन आयोगका डा. अयोधीप्रसाद यादव, सार्वजनिक संस्थान बोर्डका कार्यकारी प्रमुख डा. विमलप्रसाद वाग्लेले पनि दोहोरो सुविधा लिएका छन् ।

सार्क सचिवालयका महासचिव रहेका पूर्वसचिव अर्जुनबहादुर थापा, पूर्वराजदूत तथा संयुक्त राष्ट्र संघका उपमहासचिव समेत भइसकेका ज्ञानचन्द्र आचार्य पनि दोहोरो सुविधा लिने अधिकारी हुन् । हाल स्टाफ कलेजबाट मासिक तलब खाईरहेका पूर्वसचिवहरु युवराज भुसाल, पुण्यप्रसाद न्यौपाने र खुमराज पुञ्जाली पूर्वसचिवका रूपमा पेन्सन समेत बुझ्छन् ।

यसैगरी एमाले सांसद उदय नेपाली श्रेष्ठ र एमाओवादी सांसद  जनकराज जोशीले पनि पूर्व सचिवको पेन्सन र सांसदको तलव भत्ता दुवै बुझिरहेका छन् ।  एमाओवादीका अर्का सांसद तथा नेपाल प्रहरीका पूर्व महानिरीक्षक रवीन्द्रप्रताप शाहले पनि दोहोरो सुविधा लिइरहेको मन्त्रालय श्रोतले जनाएको छ ।

प्रकाशित मिति २०७२ माघ १२ गते

प्रतिक्रिया