Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

एसएसडिपीले विद्यार्थीलाई स्थायी शिक्षक बनाइदिने !

सोमबार, ११ माघ २०७२

काठमाडौँ, ११ माघ । उच्च शिक्षामा सर्वोत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई उसले चाहेको खण्डमा शिक्षण पेसामा स्थायी नियुक्ति दिने योजना अगाडि बढाइएको छ । शिक्षा मन्त्रालयले आगामी साउन महिनाबाट कार्यान्वयनमा ल्याउन लागेको विद्यालय क्षेत्र विकास योजना (एसएसडीपी) मार्फत सर्वोत्कृष्ट विद्यार्थीलाई त्यस्तो आकर्षण दिइने भएको छ ।

शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आइतबार आयोजना गरेको कार्यक्रममा शिक्षा मन्त्रालयका उपसचिव डा. मुकुन्दमणि खनालले प्रतिभाशाली विद्यार्थीलाई शिक्षण पेसामा आकर्षित गर्न यस्तो योजना ल्याउन लागिएको जानकारी दिए ।

उनका अनुसार कुल रिक्त दरबन्दीको पाँच प्रतिशत पदमा त्यस्ता विद्यार्थीलाई स्थायी शिक्षकका रुपमा नियुक्ति गरिनेछ । उनले उच्च माध्यमिक र स्नातक तहमा सर्वोत्कृष्ट अंक हासिल गर्नेलाई आधारभूत तह (कक्षा १–८)मा र स्नाकोत्तर तहमा सर्वोत्कृष्ट अंक हासिल गर्नेलाई माध्यमिक तह (कक्षा ९–१२)मा अध्यापन गर्न स्थायी नियुक्ति गरिने बताए ।

हाल एसएलसी परीक्षामा तेस्रो श्रेणीमा उत्तीर्ण हुनेहरु उच्च शिक्षामा शिक्षाशास्त्र विषय लिने गरेका छन् । अव्वल विद्यार्थीलाई शिक्षण पेशातर्फ आकर्षण गराउन सकिएमा शैक्षिक स्तरमा सुधार आउने विश्लेषण गर्दै मन्त्रालयले त्यस्ता विद्यार्थीलाई सिधै स्थायी नियक्तिको अवसर दिन चाहेको हो ।

(गोरखापत्र दैनिकमा प्रकाशित समाचार) 

 

प्रतिक्रिया