Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

विद्यार्थीको सिकाई उपलब्धि घट्दो

बुधबार, १८ चैत्र २०७१

भक्तपुर १८ चैत / हरेक बर्ष सरकारले शिक्षामा लगानी बढाए पनि उपलब्धि भने घट्दै गएको फेला परेको छ । शिक्षा मन्त्रालय अन्र्तगतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कक्षा ८ का विद्यार्थीहरुको सिकाई उपलब्धिबारे गरेको अध्ययनले यस अघिको तुलनामा उपलब्धि घटेको फेला पारेको हो ।

दुई बर्ष अघि ४३ प्रतिशत रहेको गणित विषयको उपलब्धि यस पटक घटेर ३५ मा झरेको छ भने, ४९ प्रतिशत रहेको नेपाली विषयको उपलब्धि ४८ मा झरेको छ ।

देशभरका विभिन्न २८ जिल्लाका एक हजार एक सय ९९ विद्यालयका ४४ हजार ६७ विद्यार्थी बिच अध्ययन गरिएको थियो । गत बर्षको फागुन २९ गतेबाट गरिएको अध्ययनको मस्यौदा सार्वजनिक गर्दै केन्द्रका प्रमुख सहसचिव डा. लेखनाथ पौडेलले सन्तोष गर्ने ठाउँ नभएको भन्दै चिन्ता ब्यक्त गरे । ‘विद्यालयहरुमा सुधार गर्नु पर्छ भन्ने पत्ता लगाएका छौं कसरी सुधार्ने भन्ने मन्त्रालयको कुरा हो’ उनले भने, ‘विदेशमा यस्तो संस्थाले दिने सुझाव नैतिक बन्धन बन्छ हाम्रोमा त्यो प्राक्टिस नहुँदा उपलब्धि सुध्रनु पर्नेमा घट्यो ।’

२०६२ सालमा एकजना विद्यार्थी बराबर २ हजार ९ सय ९३ रुपैयाँ खर्च हुनेमा यस वर्ष बढेर १२ हजार ३ सय १४ पुगेको छ । प्रतिवर्ष सरदर १० हजारको दरले खर्च गर्दा एउटा विद्यार्थीलाई एसएलसीसम्म पढाउन राज्यले न्यूनतम एक लाख रुपैयाँसम्म खर्च गर्छ । तर, खर्चको तुलनामा उपलब्धि भने घट्दै जानुले शिक्षाका नीति नियम सुधारको आवश्यकता दर्शाएको छ ।

यस अघि नेपाली, सामाजिक र गणित विषयको उपलब्धि अध्ययन गरिएकोमा यस पटक सामाजिकको सट्टा विज्ञान विषय समाबेश गरिएको थियो । विज्ञानमा पनि जम्मा ४१ प्रतिशत उपलब्धि रहेको फेला पारेको छ । राष्ट्रिय उपलब्धि सामान्यतया ४८ प्रतिशत हुनु पर्छ । यसअघिको अध्ययन सन् २०११ म गरिएको थियो भने सन् २०१३ को प्रतिबेदनको मस्यौदा बुधबार सार्वजनिक गरिएको हो ।

छात्रको तुलनामा छात्रा कमजोर

ग्णितमा छात्राहरुको औषत उपलब्धि ३३ छ भने छात्रहरुको ३८ छ । यस्तै विज्ञानमा छात्राहरुको ३९ प्रतिशत छ भने छात्रहरुको ४३ छ । नेपालीको उपलब्धि भने समाननै फेला परेको छ । पनि गणित र विज्ञानमा फरक फेला परेको छ ।

नेपालीमा विद्यार्थीहरु शब्द भण्डार र ब्याकरणमा भन्दा पढाई र लेखाईमा कमजोर छन् । विज्ञान अन्र्तगत जीव विज्ञानमा विद्यार्थीको सिकाई उपलब्धि कमजोर छ ।

तराई र हिमालका जिल्ला कमजोर

अध्ययनले समग्रमा तराई र हिमाली क्षेत्रको नतिजा कमजोर देखाएको छ ।

उपत्यकामा ६६ प्रतिशत रहेको सिकाई उपलब्धि तराईमा ३७ र हिमालमा ३९ छ । अलिक राम्रो भनिएको पहाडमा पनि औषत राष्ट्रिय उपलब्धि भन्द्या कम अर्थात् ४७ प्रतिशत मात्रै छ ।

गणित विषयको मात्रै सिकाई उपलब्धि हेर्ने हो भने, उपत्यकामा ५३ प्रतिशत रहेकोमा हिमालमा २१, तराईमा २७ र पहाडमा २९ प्रतिशत मात्रै छ । यस्तै विज्ञानको तराई र हिमालमा ३२ तथा पहाडमा ३८ प्रतिशत रहेको छ भने उपत्यकामा ५६ प्रतिशत फेला परेको छ । नेपालीमा उपत्यकामा ६६, तराईमा ३७, हिमालमा ३९ र पहाडमा ४७ प्रतिशत फेला परेको छ ।

उपत्यकामा तीन जिल्ला तिनैवटा विषयको सिकाई उपलब्धिमा अब्बल छन् भने न्यूनतम नतिजा हासिल गर्ने जिल्लाहरुमा नेपालीमा मुगु, सिराह र सुनसरी छन् । मुगुको २९, सिराहको ३० र सुनसरीको ३४ प्रतिशत उपलब्धि छ । यस्तै गणितमा डोल्पा, तेह्रथुम र मुगु कमजोर छन् । डोल्पामा १२, तेह्रथुममा १४ र मुगुमा १५ प्रतिशत मात्रै उपलब्धि छ । यसैगरी विज्ञानमा सबै भन्दा कमजोर रहेको धनुषामा २४, मुगुमा २५ र बाजुरामा २९ प्रतिशत मात्रै सिकाई उपलब्धि फेला परेको छ ।

विकास क्षेत्र अनुसार हेर्दा पूर्वाञ्चल, मध्य पश्चिम र सुदुर पश्चिम पछाडी छन् ।

एक घण्टा टिभि हेर्ने विद्यार्थीको उपलब्धि उच्च

एक घण्टा सम्म घरको काम गर्ने र १ देखि २ घण्टा सम्म टिभि  हेर्ने विद्यार्थीको उपलब्धि उच्च रहेको फेला परेको छ । टिभिको पहुँचमै नभएका विद्यार्थीको उपलब्धि ४६ प्रतिशत रहेकोकाम १ देखि २ घण्टा सम्म टिभि  हेर्ने विद्यार्थीको उपलब्धि  ५१ द्येखि ५५ प्रतिशत फेला परेको छ ।
तर २ देखि ४ घण्टा टिभि हेर्नेको उपलब्धि भने ५० प्रतिशत फेला परेको छ । चार घण्टा भन्दा धेरै टिभि हेर्ने विद्यार्थीको उपलब्धि भने ३७ प्रतिशत सम्म झरेको छ ।

निरक्षर बाबुआमा र कृषि पेशामा संलग्नको छोराछोरीको उपलब्धि अन्यको तुलनामा कमजोर रहेको छ । कक्षा ८ मा अध्ययन गर्ने विद्यार्थीको उमेर १३–१४ बर्ष हुन्दा उपलब्धि अन्यको भन्दा राम्रो फेला परेको छ । गृहकार्य नदिने र दिएर पनि नजाच्ने विद्यालयका विद्यार्थीको उपलब्धि कमजोर छ भने, संधै वा कहिले काँही दिने र पृष्ठपोषण गर्नेको उपलब्धि राम्रो छ ।

जुन विद्यार्थीले अन्य विद्यार्थीबाट धकेल्ने, पिट्ने, मननपर्ने काम गर्न लगाउने, होच्याउने, खिसि टिउरी गर्ने, जस्ता समस्या भोग्नु परेको छ, त्यस्ता विद्यार्थीको उपलब्धि कमजोर छ । अन्र्तराष्ट्रिय उपलब्धि परीक्षणहरु टी आई एम एस एस का प्रश्नावलीको आधारमा गरिएको तुलनामा नेपालका विद्यार्थीको उपलब्धि अन्र्तराष्ट्रिय औसत भन्दा कमजोर रहेको छ । शहरी क्षेत्रमा अध्ययन गर्नेको उपलब्धि ग्रामिण क्षेत्रको भन्दा कमजोर छ ।

सन् २०१० मा स्थापना भएको केन्द्रले यस अघि कक्षा तीन र ८ को उपलब्धि अध्ययन गरेको थियो भने, यो बर्ष ३ र ५ कक्षा को अध्ययन गर्ने बताएको छ ।

प्रतिक्रिया