Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

गाउँलेले फेरे विद्यालयको मुहार !

आइतबार, १० माघ २०७२

काठमाडौँ, १० माघ । गाउँलेको प्रयासबाट बन्द हुनबाट जोगिएको बागलुङको एक विद्यालय ‘नमुना’ बनेको छ ।  व्यवस्थापन र पढाइ सुधारले तित्याङ–९ सालबोटस्थित शिवालय प्राविको मुहार फेरिएको हो । 

दुई वर्षअघि २० विद्यार्थीले पढ्ने विद्यालयमा अहिले ७५ जना छन् । अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेपछि विद्यालयप्रति विद्यार्थी र अभिभावक आकर्षित बनेका हुन् ।  विद्यालयले शैक्षिक गुणस्तर बढाएपछि निजी विद्यालय छाडेर भर्ना हुन आउने विद्यार्थी पनि बढ्दै गएको प्रअ घनश्याम केसीले बताए । 

विद्यालयप्रति अभिभावकको विश्वास जगाउन विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले समेत आफ्ना बालबच्चालाई निजीबाट निकालेर सोही विद्यालय ल्याएका थिए ।  विसं २०२१ मा स्थापित विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै जान थालेपछि व्यवस्थापन समिति र विद्यालयले सुधार अभियान चलाएका थिए । 

व्यवस्थापन समितिका अध्यक्ष लोकराज पौडेलले भने “बालबच्चा हामीलाई दिनुस्, पढाउने जिम्मा हाम्रो भयो, नतिजा बिग्रे हामी क्षतिपूर्ति तिर्छौं, भन्दै अभिभावकको घरदैलोमा पुग्यौँ ।” उनले विद्यालयको अवस्था खस्कँदै जान थालेपछि अङ्ग्रेजी माध्यमबाट पढाउन थालिएको बताए ।

रासस

प्रतिक्रिया