Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

शिक्षक विज्ञापन गर्न आयोगलाई बाटो खुल्यो

विहीबार, १९ चैत्र २०७१

भक्तपुर १९ चैत / शिक्षा विभागले रिक्त शिक्षक दरबन्दिको बिवरण शिक्षक सेवा आयोगमा बुझाएको छ । २०६३ बैशाख ११ गते यता रिक्त बिवरण उपलब्ध गराएसँगै नयाँ शिक्षकको लागि विज्ञापन गर्न आगोगलाई बाटो खुलेको छ । शिक्षा मन्त्रालयले यकिन रिक्त दरबन्दी नदिदाँ नयाँ शिक्षकको विज्ञापन गर्न नसकेको आयोगले बताउँदैं आएको थियो ।

पढ्नुहोस् दरबन्दी यकिन नहुँदा शिक्षक आयोग खुल्न सकेन: सोती

माध्यामिक र निम्न माध्यामिकका गरी देश भर ३ हजार २ सय ४९ शिक्षक पद रिक्त रहेको विवरण बुझाएको विभागका निर्देशक खगेन्द्र नेपालले एडुखबरलाई बताए । बिवरण अनुसार माध्यमिकमा १ हजार ३ सय ८५ र निम्न माध्यमिकमा १ हजार ८ सय ६४ पद रिक्त छन् ।

विभागले आयोगलाई बुझाएको बिवरण अनुसार माध्यमिक तर्फ सुदूर पश्चिमाञ्चलमा १ सय १५, मध्य पश्चिमाञ्चलमा १ सय ५५, पश्चिमाञ्चलमा ३ सय ४२, मध्यमाञ्चलमा ४ सय ८४ र पूर्वाञ्चलमा २ सय ८९ पद रिक्त रहेको उल्लेख छ ।

यस्तै निमावि तर्फ सुदुर पश्चिमाञ्चलमा १ सय ३५, मध्य पश्चिमाञ्चलमा २ सय २६, पश्चिमाञ्चलमा ५ सय १४, मध्यमाञ्चलमा ५ सय ८८, पूर्वाञ्चलमा ४ सय शिक्षक पद रिक्त फेला परेको छ ।

२०६३ बैशाख १० गते पछि रिक्त भएका १३ हजार ५९ पदका निम्ति आयोगले गत बर्षको जेठमा परीक्षा सञ्चालन गरेको थियो । उक्त विज्ञापन नयाँ शिक्षक नियुक्तिका लागि १७ बर्ष पछि गरिएको थियो । यस अघि २०५२ सालमा आयोग मार्फत शिक्षक छनौट भएको थियो भने २०६१ सालमा आन्तरिक प्रयिोगिताबाट १२ हजार ९६ शिक्षक नियुक्ति गरिएको थियो ।

शिक्षक सेवा आयोगले रिक्त शिक्षक पदको बिवरण जिल्ला शिक्षा कार्यालयबाट लिने छ भन्ने ब्यवस्था भएकोमा शिक्षक सेवा आयोग नियमावलीमा भएको नवौँ संशोधनले जिल्ला शिक्षा कार्यालयबाट शिक्षकहरुको मागको बिवरण शिक्षा विभागले लिने र विभागले आयोगलाई दिने ब्यवस्था गरिएको छ ।

नक्कली शैक्षिक प्रमाणपत्र बुझाएका शिक्षकहरुका बारेमा अख्तियारको छानविन कडा हुन थालेपछि राजिनामा दिने शिक्षकको संख्या बढेको छ । तर, मन्त्रालयले अख्तियारका कारणले मात्रै नभई उमेर हद तथा शिक्षकका अन्य आन्तरिक कारणले समेत राजिनामा दिनेको संख्या बढेको बताउँदै आएको छ । 

प्रतिक्रिया