- विष्णु विवेक / ‘हिसाब’ भन्ने वित्तिकै ‘पिसाब’ आउँछ ! उखान कै रुपमा स्थापित भै सकेको छ यो भनाई । विद्यालय शिक्षाको अन्तिम परीक्षा एसएलसीमा मात्रै हैन उच्च माध्यामिक तहका परीक्षाफलको तथ्याङ्क विश्लेषण गर्ने हो भने पनि गणितकै कारण नतिजा खस्केको पुष्टि हुन्छ । झट्ट हेर्दा गणित बेस्वादको विषय ! विभिन्न सूत्र र साध्य घोक्नु पर्ने निरस विषय !
गणितलाई बुझाएर नपढाउने शिक्षकका कारण विद्यार्थीमा यो विषय प्रति रुचि नभएको ठान्छन् एक जना गणित शिक्षक विनोद भट्ट । उनी पनि आम शिक्षक जस्तै एउटा सरकारी विद्यालयका शिक्षक हुन् । उनले आफ्नो पेशालाई जागिर भन्दा अलिकति मात्रै फरक सोच्दा नतिजा विल्कुल विपरित आएको छ । विद्यार्थीलाई गणित कसरी रुचिकर बनाउने भन्ने प्रयोग नगर्ने अल्छि शिक्षक कै कारण नतिजा खस्क्यो उनी भन्छन्, पढाईमा रुचि जगाईदिने काम शिक्षकको हो रुचि बढाएपछि त विद्यार्थी आफैं सिक्छ, नजानेका कुरामा अलकति आईडिया मात्रै दिने त हो हाम्रो काम ।
पद्मोदय उच्च माध्यामिक विद्यालय प्रदर्शनी मार्ग काठमाडौँका यी शिक्षकसंग एडुखबर संवाददाता कुरा गर्न बस्ने वितिकै बजेको फोनको घण्टिले उनको भनाईलाई पुष्टि गर्दै थियो । ‘बाबु, आज म भ्याउदिन् आफैले पढेर बस ल ।’ मोवाईलमा यो वार्तालाप सकेर टेबलमा फोन राख्न नभ्याउँदै अर्को घण्टी बज्यो । ‘बाबु आज म साथीहरुसंग छु । आज आउँन भ्याउदिन । जानेको हिसाब गर । अरु म भोली सिकाउँला हैँ ।’
अघि जस्तै गरी मोवाईललाई टेबुलमा राख्न नभ्याउँदै उसै गरी फोन बज्यो । यसपाली उनले फोन उठाएनन् । मोबाइलको स्वीच अफ नै गरेर गोजीमा राखे ।
तपाई विद्यार्थीलाई फोनबाट पनि पढाउनु हुन्छ ? 'फोनमा मात्रै हैन म फेसबुकबाट पनि पढाउँछु, विद्यार्थीले कुनै कुरा जानेन भने उसले मलाई जतिखेर पनि सोध्न सक्छ' उनले भने, ‘म बिहानै ५ बजेदेखि राती १० बजेसम्म पढाउँछु । तर पनि सबै विद्यार्थीलाई पढाउनै भ्यार्इँदैन, अनी फेसबुक म्यासेज मार्फत विद्यार्थीले सोध्ने प्रश्नको उत्तर दिन्छु ।'
हरेक दिन उनको फेसबुकमा तिन सय हाराकारी विद्यार्थीको एसएमएस आईपुग्छ । उनले यसका लागी राती १० देखि ११ बजेको समय छुटाएका छन् । ‘दिउँसो नसकेको कुरा राती १ घण्टा भए पनि फेसबुक खोल्नै पर्छ र उनीहरु सबैको जवाफ फर्काउने गरेको छु' उनी भन्छन् 'बुझ्न सक्ने गरी म्यासेज गरिदिन्छु त्यही अनुसार गरेर मलाई एसएमएस गर्छन् । नजानेको भोली कक्षामै आएर गरिदिन्छु भन्छु ।’
दिनभर यसरी पढाउँदा दिक्क लाग्दैन ? ‘लाग्दैन । बरु मलाई तपाईसंग कुरा गर्दा के कसो हुने हो ? कसरी समय विताउने भन्ने चिन्ता लागिरहेको छ, विद्यार्थीसंग बसेँ भने कतिबेला समय वित्छ पत्तै पाउँदिन ।’ उनले भने ।
कक्षामा नपढाउने बरु ट्युसन पढाउने शिक्षक भोग्दै आएकाहरुलाई उनका कुरा सुन्दा अचम्म लाग्नु स्वभाविक हो । आफ्नो पिरियड भरी समेत कक्षामा नबस्ने शिक्षकहरुलाई उनका कुराले पट्यार लाग्दो हो !
पुख्र्यौली घर गोरखा ५ तान्द्राङ, हालको बसोबास चितवनको भरतपुर नगरपालिका क्षेत्रपुर २ । पेशा काठमाडौंमा । ४ घण्टाको मोटरबाटोमा पुगिने घर जाने समय निकाल्न समेत उनलाई फुर्सद छैन । काठमाडौमै शिक्षण पेशामा रमाएका उनी कमै मात्र घर पुग्ने गरेका छन् । फुर्सद भन्ने उनलाई कहिल्यै हुन्न । २०५२ सालदेखि शिक्षक भएका भट्टले शिक्षण पेशालाई कहिल्यै जागिर नठानेको बताउँछन् , उनी भन्छन् ‘यो जागिर होइन् । सबैभन्दा चुनौति र क्षमतावान मान्छेले गर्ने पवित्र सेवा हो ।’
कक्षाकोठामा छिर्दा सबै जना विद्यार्थी खुसी हुनु पर्ने उनको पहिलो सर्त छ । यदि कसैको अनुहार मलिन र न्यास्रो लाग्ने वित्तिकै उनी ती विद्यार्थीको समस्या बुझ्छन् । पढाईका कारण हो की अन्य कुराले हो पहिले त्यो बुझ्छन् । विद्यार्थीसंग एकान्तमा बसेर हुन्छ या त उसको आमाबुवालाई भेटेर नै । उनले समस्यामा रहेका विद्यार्थीको सुक्ष्म अध्ययन गरेर नै त्यसको समाधान गर्छन् ।
‘अहिले पनि कति विद्यार्थी फोन गर्छन् । बर्षौपछि फोन गरेर सर, म पास भएँ । हजुरकै कारणले यहाँ सम्म आएँ भन्छन् ।’ विद्यार्थीका यस्ता सफलताका कथाले साह्रै खुसी लाग्छ उनी भन्छन्, गाउँबाट पढ्न शहर आएका कतिपय विद्यार्थीलाई कुन विषय पढ्ने कसरी ब्यवस्थित हुने भन्ने कुरा पनि सिकाईदिन्छु, कसलाई कतिखेर सहयोग गरेको हुन्छु थाह हुन्न बाटोमा भेट्दा विद्यार्थीले सर तपाईले भन्नु भए अनुसार गरेको छु भन्छन् आनन्द आउँछ ।
बेलायतको भिसा
विदेश गएका धेरै साथीहरुले हेर्दाहेर्दै काठमाडौमै घर जोडे । कुस्त कमाए । आप्mनो हालत सँधै जस्ताको त्यस्तै । त्यसैले विज्ञान गणितमा स्नातकोत्तर यी शिक्षकले बेलायत जाने निधो गरे । ‘त्यतिबेला विज्ञानको धेरै मान्यता थियो । त्यसमा पनि गणित त झन् सबैलाई अनिवार्य चाहिने शिक्षण पेशा । विदेशमा यताको भन्दा धेरै तलब र मान्यता पनि' उनले पुराना दिन सम्झे, 'भिसा पनि लाग्यो, तर अकस्मात मनमा के आयो के ? विदेश गएर अर्काको देशका बालबालिकालाई सक्षम र उत्कृष्ट बनाउने हो भने म अरु भन्दा के कुरामा फरक भएँ ?'
शिक्षामा प्रसस्तै बेथिती छन्, सबै भन्दा धेरै यही क्षेत्रका ब्यक्तिहरुले कुरुप बनाए शिक्षा । त्यसैले आफैंबाट परिवर्तन गर्ने अठोट गरे यीनले ।
संयोग नै भनौं देशकै मुहार फेर्न भन्दै शुरु माओवादी आन्दोलनका अगुवा प्रचण्डका १० छोरा र छोरीलाई समेत पढाउने मौका जुर्यो उनलाई । पढ्दापढ्दै युद्धमा होमिएका आफ्ना ति विद्यार्थीको अझै सम्झना छ उनलाई । युद्ध सकियो देशको मुहार फेरियो फेरिएन जगजाहेरै छ, तर उनलाई शिक्षाको मुहार नफेरिएकोमा भत्भती मन चाँही पोलेको छ ।
किन सुध्रिएन त सामुदायिक शिक्षा ?
सामुदायिक विद्यालयमा पढाउने आधा भन्दा बढी शिक्षकलाई अंग्रेजीमा बोल्नै आउँदैन । नीजिमा सबै अग्रेजी बोल्छन्, यहीबाट गर्नु पर्ने छ सुधार । ‘कहिलेकोही सम्झिदा रुन मन लाग्छ, धेरै अवसर छाडेर सुधार गर्न बसियो, आफै आफ्नो मन बुझाउने ठाउँ पनि फेला नपर्दा हैरान हुन्छु' भावुक हुँदै उनी भन्छन् ‘नीजिमा सन्तान पढाउने अभिभावक उसको बारेमा चिन्तित हुन्छ सामुदायिकका अभिभावकलाई कुनै वास्तै छैन ।'
सुधार कहाँबाट त ? उनको स्पष्ट उत्तर छ – 'आफैंबाट ।' उनले आफैले पढाउने विद्यालयमा सुधारको प्रयास थाले । विद्यालयका प्रधानाध्यापक र ब्यवस्थापन समितिको चित्त बुझाए । ‘विद्यालयमा अनिवार्य रुपमा अङग्रेजी माध्यमबाट पढाई थाल्ने र विहान १० बजेदेखि बेलूका ४ बजेसम्मै सबै शिक्षक विद्यालयमै बस्ने । कोही पनि बाहिर जान नपाउने ।’
नियम त बनाईयो तर कार्यान्वयन भएन । उनी भन्छन् ‘नेपाली बाहेक सबै विषय अंग्रेजी पढाउने भनियो शिक्षकलाई नै राम्रोसंग अंग्रेजी आँउदैन । अनि विद्यार्थीले कसरी राम्रोसंग अग्रेजी पढ्न र सिक्न सक्छ ?’ केही शिक्षक फेरेरै भएपनि सुधार गर्ने कोशिस पहिलेका शिक्षकको 'सोर्स फोर्स'ले विथोलियो । आफ्नो गल्ती पनि नस्वीकार्ने सुधार पनि नगर्ने गरी शिक्षक पद नछाड्ने अडड्ी कसे । यति सम्मकी शिक्षाकै ‘हाकिम’ सावहरुले ‘तपाई एक्लैले गरेर हुदैन्’ भन्दै उल्टै जे मन लाग्यो त्यही नगर्न भने ।
‘अब तपाई आफै भन्नुस सामुदायिक विद्यालयमा सुधार कसरी हुन्छ ?’ उनले प्रतिप्रश्न गर्दै भने, 'शिक्षक जस्तो चुनौति र आनन्ददायी पेशा अरु हुदैन । शिक्षक पेशामा इमान्दारिता भयो भने र शिक्षकहरुले जागिरे प्रवृत्ति त्याग्यो भने सामुदायिक विद्यालय सुध्रिन धेरै समय लाग्दैन, र यो एक दिन पुरा हुन्छ हुन्छ ।'
नेता र कर्मचारीका सन्तान सामुदायिकमै
'यदि सबै नेता र कर्मचारीका छोराछोरी सरकारीमा पढिदिने हो भने शिक्षामा सुधार हुन एक बर्ष पनि लाग्दैन' उनी भन्छन् 'यसका लागी सरकारले नै कडा नीति ल्याएर त्यसको कार्यान्वयन गर्नुपर्छ । नेता र कर्मचारीका छोराछोरी पढे भने कुन शिक्षकले पढायो ? कसले पढाएन ? त्यहीँ विरोध हुन्छ अनि शिक्षा र शिक्षण सिकाई प्रभावकारी हुन्छ ।'
त्यसो त गिरिराजमणि पोखरेल शिक्षा मन्त्री भएपछि सार्वजनिक प्रतिबद्धता पत्रमा नेता र कर्मचारीका सन्तालाई सामुदायिकमै पढाउनु पर्ने भन्दै बहस शुरु गराएका छन् । यो कुरा कहिले काँही खुबै चर्चामा आउने विषय पनि हो । भट्ट सर पनि यसलाई राष्ट्रिय अभियान बनाउनु पर्ने ठान्छन् ।
अर्को समस्या भनेको शिक्षककै हो । ‘यदि सबै हामी सबै शिक्षकले जागिरे प्रवृत्ति त्यागेर परिवर्तन र सुधारका सवांह हौँ भन्ने भावना मनमा लिएर अघि बढ्ने हो भने सामुदायिक शिक्षामा सुधार र वैज्ञानिक शिक्षा नेपालमै स्थापित गर्न सकिन्छ ।’ उनको तर्क छ ।
पहिलो सबै शिक्षकको इमान्दारिता, दोश्रो अभिभावक र विद्यार्थीको लगनशिलता अनि तेश्रोमा सरकार र राजनीतिक दलको शिक्षामा सुधारको एजेण्डालाई प्राथमिकतामा राखेर अघि बढ्न भट्ट सर सुझाव दिन्छन् ।
प्रकाशित मिति २०७२ माघ ३ गते
प्रतिक्रिया