Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

लगातारको बन्दले वीरगन्ज छाड्दै विद्यार्थी

शुक्रबार, ०१ माघ २०७२

काठमाडौँ, १ माघ । मधेसमा लगातार भएको बन्द हडतालका कारण पठनपाठनमा असर परेपछि वीरगन्जका विद्यार्थी स्कुल कलेज छाडेर अन्यत्र जान थालेका छन्।

 खासगरी निजी विद्यालयका विद्यार्थी वीरगन्ज छाडेर अन्य सहरतिर लाग्न थालेका हुन् । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) पर्साका अध्यक्ष लालबाबु पटेलले निजी विद्यालयमा पढ्ने १० प्रतिशत विद्यार्थी वीरगन्ज छाडेर अन्यत्र लागेको बताए। 

उनले आफ्नै विद्यालय मिनिल्यान्ड माध्यमिक विद्यालयबाट पनि सातआठजना विद्यार्थी स्थानान्तरण भइसकेको जानकारी दिए। विद्यालय खुलेपछि विद्यार्थीको पढाइ सुधार गर्न शुक्रबार र शनिबार पूरा दिन तथा सरकारी बिदामा पनि पढाउने गरेको पटेलले बताए।

 गौतम माविका सञ्चालक सोनाम लामाले भने, ुलामो समय बन्द हुँदा विद्यार्थीको पढाइमा असर परेको मात्र नभई ठूला लगानी भएका विद्यालयको आर्थिक अवस्था पनि खस्किएको छ। आर्थिक गतिविधि बढी भएको क्षेत्र वीरगन्जमा शैक्षिक हब बनाउन सकिने ठाउँमा झन् शैक्षिक संस्था नै बन्द गर्दा बालबालिकाको भविष्यमात्र बिग्रिएको नभई समाज पनि पछाडि परेको लामाको भनाइ छ।

 जिल्ला शिक्षा अधिकारी रामविनय सिंह मधेस आन्दोलनमा लामो समय विद्यालय बन्द हुनुमा सामुदायिक विद्यालयका शिक्षकको पनि भूमिका रहेको बताउँछन्। अहिले सामुदायिक विद्यालय पनि सार्वजनिक बिदाको दिनमा सञ्चालन गर्न निर्देशन गरेको उनले बताए।

 आन्दोलनकै कारण तराईकै जेठो ठाकुरराम बहुमुखी क्याम्पसमा समेत विद्यार्थीको अभाव भएको छ। मधेस आन्दोलनका कारण सवारीसाधन नचलेकाले ठाकुररामका स्नातकोत्तर तह प्रथम वर्षका १ सय पचासजना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन्। 

 मधेसी दल र त्रिभुवन विश्वविद्यालयका कारण विद्यार्थीको भविष्य अन्योलमा परेको विद्यार्थी नेता दिलीपराज कार्कीले बताए।मधेस आन्दोलन र झन्डै चार महिनादेखिको नाकाबन्दीका कारण प्रभावित भएको शैक्षिक क्षेत्र अझै सहज हुनसकेको छैन।

 आन्दोलनरत मधेसी दलले आन्दोलनको तीन महिनापछि बिहानी समयमा शिक्षण संस्था खोल्न दिने निर्णय गरे। तर जाडो मौसम सुरु भएपछि विद्यार्थी विद्यालय जान नसकेका कारण पढाइमा असर परेको छ।

 विद्यालयमा विद्यार्थी आउन नसक्नु र आएका विद्यार्थीले पनि पहिले पढाएका कुरा बिर्सिसकेकाले पुनः त्यही पाठ दोहोर्‍याउनु परिरहेको शिक्षक बताउँछन्। गौतम माविकी एक शिक्षिकाले भनिन्, ‘लामो समयसम्म विद्यालय बन्द हुँदा सानासाना बालबालिकाले पढेका कुरा बिसर्ने भएकाले गाह्रो भएको छ।ु

 वीरगन्जका शिक्षा पत्रकार अनन्तकुमारलाल दास भन्छन्, ‘वैशाखमा गएको भूकम्पका कारण एक महिना विद्यालय बन्द रह्यो। फेरि मधेस आन्दोलनले तीन महिना विद्यालय बन्द भयो । अहिले बिस्तारै पढाइको गति बढिरहेकाले संस्थागत विद्यालयको पाठ्यक्रम पूरा हुनसक्छ तर सामुदायिक विद्यालयको पाठ्यक्रम भने पूरा हुने सम्भावना निक्कै कम छ।ु

 उनका अनुसार सामुदायिक विद्यालयका शिक्षकमा पढाउने रुचि कम हुनु र शिक्षकले पढाइरहेको समयमा विद्यार्थी पछाडिबाट निस्किने गरेकाले पाठ्यक्रम पूरा हुनसक्ने सम्भावना कम रहेको छ।उनले भने, 'अब पनि विद्यालय बन्द गरिए विद्यार्थीको पढाइमा असर पर्ने र विद्यालय पनि सञ्चालन गर्नसक्ने अवस्था रहँदैन।'

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित समाचार)

 

प्रतिक्रिया