Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

युनेस्को एसिया क्षेत्रीय अध्यक्षमा नेपाल

शुक्रबार, ०१ माघ २०७२

काठमाडौँ, १ माघ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) एसिया तथा प्रशान्त क्षेत्रका मुलुक समूह (एस्पेक) को अध्यक्षता पहिलो पटक नेपालले गर्न पाएको छ । 

सन् १९५३ मा युनेस्कोको सदस्यता लिएयता नेपालले सन् २०१६ वर्षको एसिया प्रशान्त क्षेत्रका मुलुक समूहको अध्यक्षता प्राप्त गरेको फ्रान्सका लागि नेपाली दूतावासले जनाएको छ । 

एस्पेकको यस वर्षको पहिलो बैठकपछि पेरिसमा आयोजित विशेष समारोहमा युनेस्कोको सो समूहको निवर्तमान अध्यक्ष रहेको चीनका स्थायी प्रतिनिधि/राजदूत झाङ सिक्यिनले युनेस्कोका नेपाल स्थायी प्रतिनिधि÷राजदूत अम्बिकादेवी लुइँटेललाई हस्तान्तरण गरेका थिए ।

समारोहमा एस्पेकको अध्यक्षता प्राप्तिपछि राजदूत लुइँटेलले इमान्दारीका साथ नेपालले सबै सदस्यको विश्वास लिएर अघि बढ्ने बताउनुभएको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

उनले युनेस्कोको सचिवालय र एस्पेक समूहका सदस्यबीच अझ सहयोग बढाउनुपर्ने बताए । उनले एस्पेक क्षेत्रीय समूह युनेस्कोका लागि जनसङ्ख्या, प्राकृतिक र सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण रहेको बताए ।

रासस 

 

प्रतिक्रिया