Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

जेलमा रहेका बालबालिका बालविकास केन्द्रलाई 

शनिबार, २५ पुस २०७२

काठमाडौँ, २५ पुस । आमा जेलमा परेपछि आमाको साथमा रहेका तीन बालबालिकालाई शुक्रबार जिल्ला बाल कल्याण समिति रुकुमले प्रारम्भिक बालविकास केन्द्रमा संरक्षणका लागि हस्तान्तरण गरेको छ । 

श्रीमान्को हत्याको आरोपमा गत भदौमा जिल्ला अदालतले आमा गौरी वादीलाई २० वर्षको जेल सजाय तोकेपछि रुकुम जिल्ला कारागारमा ती बालबालिका पनि आमाको साथमा बस्दै आएका थिए । 

कोटजाहारी–४ का रुकुम घर भएका मोहनलाल वादीको आफ्नै श्रीमतीले हत्या गरेपछि आमाको साथमा जेलमा बस्दै आएका १३ वर्षका वीरेन्द्र, ८ वर्षका दीपक र ७ वर्षकी पुष्पा वादीलाई सन् २०१२ को सिएनएन हिरो पुष्पा बस्नेतद्वारा काठमाडौँको महाराजगन्जमा सञ्चालित प्रारम्भिक बालविकास केन्द्रमा जिम्मा लगाएको बाल कल्याण समितिले जनाएको छ । 

पढाइबाट वञ्चित भएका बालबालिका अब संस्थाकै जिम्मेवारीमा पढ्न पाउने भएका छन् ।  प्रारम्भिक बालविकास केन्द्रले आमाबुबा जेलमा रहेका र बालबच्चा पनि जेलमा रहेको अवस्थामा उद्धार गरी संरक्षण, पढाइलेखाइ गराउने जिल्ला बालकल्याण समितिका अधिकृत मानवीर वलीले बताए ।  उक्त संस्थामा अहिले करिब ३५÷४० जना बालबालिका संरक्षणमा रहेका छन् । 

रासस 

 

प्रतिक्रिया