Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

प्राथमिक तहका शिक्षकलाई बढुवाको तयारी, अनुमती नलिने भारतीय विद्यालय बन्द गर्ने

शुक्रबार, २४ पुस २०७२

काठमाडौं - शिक्षा मन्त्रालयले प्राथमिक तहको शिक्षकलाई माथिल्लो कक्षामा बढुवा गर्ने भएको छ । अन्य तहमा भन्दा प्राविमा आवश्यक भन्दा बढी दरबन्दी भएपछि निमावि र माविमा बढुवा गर्न लागेको हो । शैक्षिक योग्यता पुगेका शिक्षकलाई माथिल्लो तहमा लैजान लागेको शिक्षा मन्त्री गिरिाजमणि पोखरेलले बताए । यो व्यवस्था गरेपछि १० हजार शिक्षक माथिल्लो तहमा जान सक्ने उनले अनुमान गरे । ‘माथिल्लो तहमा बढुवा गर्न तथ्याङक संकलन लगायतको अन्य प्रक्रिया सुरु भइसक्यो’ उनले भने, ‘यो बिषयमा प्रधानमन्त्रीज्यू संग पनि कुराकानी भइसकेको छ ।’

शिक्षा विभागले पनि निमावि र माविमा बढुवा गर्न योग्य शिक्षकको तथ्याङ्क संकलन सुरु गरेको छ । स्नातककोत्तर तह उतिर्ण गरेका शिक्षक पनि प्राथमिक तहमा रहेकाले उनीहरुलाई माथिल्लो तहमा बढुवा गर्न लागेको मन्त्रालयले जनाएको छ ।

यसैगरी सरकारले भारतीय सीबीएसई बोर्डको कार्यक्रम सञ्चालन गर्ने विद्यालयलाई चालू शैक्षिक सत्र भित्र अनुमति लिन समय अवधि दिएको छ । यो अवधिमा अनुमति नलिने विद्यालयलाई बन्द गर्ने निर्णय भएको शिक्षा मन्त्री पोखरेलले बताए ।

बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको उनले बताए । ‘प्रक्रियामा आउन अपिल गर्छौ,’ उनले भने । नियमित पत्रकार भेटघाटमा उनले खुला विद्यालय विधेयक पनि संसदमा सैद्धान्तिक सहमति भइसकेको बताए । ‘अब संशोधन दर्ताको प्रक्रियामा छ’ उनले भने । शिक्षा ऐन संसोधन बिधेयक समितिमा रहेको उनले बताए ।

शिक्षा मन्त्रालय र मातहतको निकायमा आवश्यक भन्दा बढी उपसचिव भएपछि उनीहरुलाई व्यवस्थापन गर्न नगर शिक्षा अधिकारीको अवधारणा अघि सारेको पनि मन्त्री पोदरेलले बताए । चार सय ८४ उपसचिव व्यवस्थापन गर्न नगर शिक्षा अधिकारी राख्न लागेको उनले बताए । यस अनुसार अब प्रत्येक नगरपालिकामा नगर शिक्षा कार्यालय स्थापना हुने छ । यो बिषयमा प्रधानमन्त्री र योजना आयोगलाई समेत जानकारी गराइसकेको पोखरेलले बताए । यो व्यवस्थाले संघीयता खाका सुरु हँुदा पनि सहयोग पु¥याउने उनको तर्क छ । ०७४ अघि शिक्षामा राम्रो परिणाम ल्याउन यस्तो व्यवस्था गरिएको उनले बताए । ‘ठूलो जनशक्ति अहिले खेर गइरहेको छ । यसलाई सदुपयोग गर्न नगर शिक्षा अधिकारीको अवधारणा अघि सारेको हो’ उनले भने ।

यसैगरी भूकम्पका कारण भत्केका विद्यालयहरुको पुननिर्माण लगायतका काम गर्न शिक्षा विभागमा सहसचिवको नेतृत्वमा प्रजोक्ट ईम्लिमेण्ट यूनिट गठन गरिएको छ । यसको संयोजकमा सहसचिव कृष्णप्रसाद काप्रीलाई तोकिएको मन्त्रीका प्रेस सल्लाहकार प्रकाश खतिवडाले बताए । काप्री यस अघि मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयका निर्देशक थिए । केन्द्रमा सहसचिव र स्थानीय तहमा ईञ्जिनीयरको संयोजकत्वमा रहने समितिले काम गर्ने छ । 

प्रकाशित मिति २०७२ पुस २४ गते 

प्रतिक्रिया