Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

विद्यालय महिनौ बन्द, जेनेरेटरको 'विल' चाँही अभिभावकका हातमा !

शुक्रबार, २४ पुस २०७२

मायामितु न्यौपाने - पर्सा / आन्दोलनका कारण तराई क्षेत्रमा महिनौ बन्द विद्यालय खुले सँगै, जेनतेन पढाई त शुरु भयो तर उक्त अवधिको शुल्कको विषय निकै पेचिलो भएको छ । विद्यालयहरुले बन्द हुँदाको अवधिको समेत विल पठाउन थालेपछि अभिभावक रुष्ट भएका छन् । उनीहरुको प्रश्न छ – पढाई नै नभएको अवधिको शुल्क किन तिर्ने ? विद्यालय सञ्चालकहरुको सदावहार तर्क छ पढाई भए पनि नभए पनि हाम्रो खर्च त भईहाल्यो त्यसैले शुल्क तिर्नै पर्छ ।

तिन महिनासम्म बन्द विद्यालयले बस, जेनेरेटर, कम्प्युटर आदिको समेत फि जोडेर विल पठाएको अभिभावकको गुनासो छ । 'फि नतिरे बच्चालाई परिक्षाको कार्ड नदिने भनेर तनाब दिएको छ, यो त सरासर अभिभावको ढाड सेक्ने काम भयो' अभिभावक घनश्याम पटेल कुर्मी भन्छन्, 'बन्दको बेलाको जेनेरेटर र कम्प्युटर फि हामीले किन तिर्नु ?'

स्कूल भन्छ पढाई भए पनि नभए पनि फि त तीर्नै पर्छ । जसरी पनि पाठ्यक्रम पुरा गर्छाै । यदि अभिभावकले फि नतिरे शिक्षकलाई तलव दिन नसक्ने उनीहरुको तर्क छ ।  विरगंज एकेडेमीका सञ्चालक ह्दयनारायण तिवारीले अरु बेलामा पनि जाडो, गर्मी र दशै देखि छठ सम्म मधेशका विद्यालय तिन महिना नै बन्द हुने चलन रहेको बताउँदै अहिले भने लगातार बन्द भएकाले मात्रै त्यस्तो लागेको तर्क गर्छन् । 'अन्य वर्ष पनि त अभिभावकले फि तिरेकै थिए नि, अहिले आएर किन समस्या बनाईएको हो हामीले बुझ्न सकेनौं' उनी भन्छन् 'विद्यालय बन्द भयो भनेर शिक्षकलाई तलव नदिएर भएन अनि शिक्षकले विद्यालय छाडे भने ति बालबालिका कहाँ जान्छन् । त्यसैले पनि फि लिनु बाध्यता हो ।'

बन्दको समयको जेनेरेटर, बस, कम्प्युटर आदिको रकम जोडेर पठाएको रसिद बोकेर धेरै अभिभावक आफूकहाँ आएको राष्ट्रिय मधेश समाजवादी पर्सा अध्यक्ष प्रेमबाबु पटेलले बताए । त्यस्तो कार्य तत्काल रोक्न विद्यालयलाई उनको आग्रह छ ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सनसँग सहमती गरी १ महिनाको शुल्क नलिने जानकारी गरायो भने संघीय समावेसी मधेसी गठबन्धनले बन्द अबधिको पुरै समयको एक रुपैँया पनि शुल्क नतिर्न अभिभावकहरुलाई अनुरोध गरेको छ । उक्त अवधिको शुल्क लिएमा प्रतिकार गर्ने उसको चेतावनी छ । पटेलले उक्त तिन महिना बन्द अवधिको शुल्क पुरै मिनाहा गर्न आग्रह गरेको बताउँछन् ।

प्याब्सन पर्साका अध्यक्ष लालबाबु पटेलले आन्दोलन अघि साउन सम्मको र मसिंरदेखि यताको फि तिर्न आग्रह गरेका छन् । 'बन्द अवधिको फि भने आन्दोलनरत दल, अभिभावक संघ, अभिभावकसंघ छलफल गरेर कसैलाई पनि बाधा नपुग्ने बाटो अपनाउनेछौ' उनले भने, 'हामीलाई रहर छैन तर विद्यालय सञ्चालकका क्रममा हामी पनि बाध्य छौ ।'

यस्तै एन प्याब्सनका अध्यक्ष रामसुन्दर चौधरीले विद्यालय सञ्चालन भएदेखि चैतसम्मका शनिबार तथा अन्य सरकारी विदा, विद्यालय समय भन्दा अन्य अतिरिक्त समयमा पनि अध्यापन गरेर पाठयक्रम पुरा गर्ने आफूहरुको तयारी रहेको बताउँछन् । अतिरिक्त समयले पनि बन्द अवधिको पढाई पुरा गर्ने भएकाले अभिभावक मर्कामा नपर्ने र शुल्क लिनु न्याय संगत रहेको उनको भनाई छ ।

विगत ५ महिना देखि तराई क्षेत्रमा जारी आन्दोलनका कारण समग्र समाजमा प्रभाव पारे पनि समाज विकासको मेरुदण्ड शिक्षा क्षेत्रमा परेको प्रभाव निकै डरलाग्दो छ । आन्दोलनरत दलहरुले बुझ्नै पर्ने एउटा तथ्य के हो भने, राजनीतिक मुद्धा केन्द्रित आन्दोलनका कारण विद्यालय र विद्यार्थीमाथि परेको प्रभावको दूरगामी असर विद्यार्थीको सिकाई उपलब्धिमै गएर टुङ्गिन्छ । उसै त तराई क्षेत्रमा विद्यार्थीको शैक्षिक उपलब्धि कमजोर छ त्यस माथि पढ्नै नपाउँदा के होला ? 

आन्दोलन सुरु हुना साथ विद्यालयहरु ठप्प पारिए । स्कूल संचालन गरे प्रतिकार गर्ने चेतावनी दिईयो । शिक्षा क्षेत्रमा राजनीतिक आन्दोलनको प्रभाव नपार्न चौतर्फि दवाव भएपछि अन्ततः आन्दोलनरत दलहरुले पठन पाठन गर्न सहमती त जनाए पछि केहि समय अघिदेखि विद्यालय संचालनमा आएको छ ।

आन्दोलनमा विद्यालयलाई छुँदै नछुने हो भने यस्ता समस्या सम्म जुध्नै नपर्ने बारेमा भने विद्यालय सञ्चालक र अभिभावकको एक मत छ । विद्यालयलाई शािन्त क्षेत्र भन्ने तर आन्दोलनमा सबै भन्दा पहिला विद्यालय र विद्यार्थीलाई नै प्रयोग गर्ने क्रम राजनीतिक दलहरुले नरोकेसम्म यस्ता समस्याले नछाड्ने उनीहरु बताउँछन् । जब जब आन्दोलन हुन्छ तब तब विद्यालय बन्द गरिन्छ अनि ढुङ्गा मुढा गर्न, टायर बाल्न तिनै १६/१७ वर्षका विद्यार्थी प्रयोग गरीन्छ, तिवारी प्रश्न गर्छन्, विद्यालय र विद्यार्थीलाई निशानामा पारेर आउँदो पुस्ता र समाजलाई आन्दोलनरत दलहरुले कता लान खोज्दैछन् ?

प्याव्सन पर्साका अध्यक्ष पटेल पनि आन्दोलनकारीहरुले अत्याबश्यक सवारी साधनलाई जस्तै विद्यालयको सवारीलाई पनि निर्वाध सञ्चालन गर्न दिए यस्ता समस्यामा अल्झनै नपर्ने बताउँछन् । जब आन्दोलनको घोषणा हुन्छ त्यसको दुई दिन अघि शिक्षा, बजार, उद्योग कलकारखाना, सबै बन्द गर्न आव्हान गर्दै विज्ञप्ति आउँछ अनि त्यस्तो बेलामा हामी कसरी विद्यालय सञ्चालन गर्न सक्छौ ? उनी प्रश्न गर्छन्, उनीहरुले विद्यालय बन्द गर्नु भनेका छैनौ भन्छन् तर विज्ञप्ति नै आएपछि भोलि केही भयो भने त्यसको जिम्मेवारी कस्ले लिन्छ ?

प्रकाशित मिति २०७२ पुस २४ गते

प्रतिक्रिया