Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

आर्थिक सङ्कटमा घुम्ती विद्यालयहरु !

शुक्रबार, २४ पुस २०७२

काठमाडौँ, २४ पुस । चिसोका कारण पोखरामा घुम्ती कक्षा सञ्चालन गरेका उपल्लो मुस्ताङका ६ वटा विद्यालय आर्थिक सङ्कटमा परेका छन् । 

छोण्हुप गाविसमा सञ्चालित ती विद्यालयले पोखराको बाग्लुङ बसपार्क नजिकै भित्री गल्लीमा अवस्थित मुक्तिनाथ समाजघरमा सामूहिक तवरले कक्षा सञ्चालन गरिरहेका छन् । बुद्ध प्रावि, जनप्रभात प्रावि, वीरेन्द्र प्रावि, भृकुटी प्रावि, सरस्वति प्रावि र दिव्यज्ञान प्राविका ३६ जना अध्ययनरत घुम्ती कक्षामा न्यानो कपडा, स्टेसनरी, विद्यालय पोसाक र खाद्यान्न सामग्रीको अभाव भएको हो । 

गरिब र निमुखा सर्वसाधारणका छोराछोरी मात्रै अध्ययन गर्ने घुम्ती कक्षाका लागि गाँस, बास, कपासदेखि शैक्षिक सामग्रीसम्म विद्यालयले व्यवस्थापन गर्नुपरेको बुद्ध प्राविका प्राचार्य जीवननाथ शर्माले जानकारी दिए । “न्यानो कपडा नहुँदा धेरै विद्यार्थी बिरामी परिसके, उनीहरुको उपचार पनि विद्यालयले नै गर्नुपर्छ”, प्राचार्य शर्माले भने, “अभिभावक आवश्यक सामग्री खरिद गर्नसक्ने अवस्थामा हुन्न, गाउँमा जसोतसो उनीहरुले व्यवस्थापन गर्नुहुन्थ्यो तर यहाँ हामीले नै सबै व्यवस्था गर्नुपरेको छ ।” 

व्यक्तिगत चन्दा सङ्कलन गरेर ६ वर्षदेखि नियमितरुपमा पोखरामा घुम्ती कक्षा सञ्चालन गर्दै आए पनि यस वर्ष कतैबाट खासै सहयोग प्राप्त नभएको विद्यालयले जनाएका छन् । उपल्लो मुस्ताङमा कात्तिक अन्तिम सातादेखि अत्यधिक चिसो हुने र भारी हिउँ पर्ने भएकाले फागुन महिनासम्म त्यहाँ सञ्चालित सबै विद्यालयले पोखराका विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गर्छन् । जाडोयाममा पर्याप्त मात्रामा लत्ताकपडा नहुँदा धेरैजसो विद्यार्थी बिरामी पर्न थालेको अभिभावक टासी पासाङ गुरुङले बताए ।

गत मङ्सिर १ गतेदेखि कक्षा सञ्चालन हुँदै आएको विद्यालयमा विद्यार्थीलाई सबै निःशुल्क गरिएको छ । घुम्ती कक्षा सञ्चालनका लागि चालु शैक्षिकसत्रदेखि जिल्ला शिक्षा कार्यालयले रु तीन लाख ५० हजार बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म प्राप्त भएको छैन । जिल्ला शिक्षा अधिकारी केशरीरमण न्यौपाने दोस्रो चौमासिकको फुकुवा आउने वित्तिकै उक्त बजेट विद्यालयलाई उपलब्ध गराइने बताउँछन् ।

रासस 

 

प्रतिक्रिया