Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

स्थायी शिक्षकले जिशिकामा हाजिर गर्दै !

मंगलबार, २१ पुस २०७२

काठमाडौँ, २१ पुस । स्थायी शिक्षकमा नाम निकालेर पढाउन पुगेका शिक्षकहरूले तोकिएको विद्यालयमा हाजिरसमेत गर्न नपाउँदा अहिले जिल्ला शिक्षा कार्यालयमा हाजिर गर्न बाध्य भएका छन् । 

यसै महिनाको १२ गते सरकारले १२० शिक्षकलाई मध्यमाञ्चलबाट मावि तहको दरबन्दीमा नियुक्ति दिए पनि ३८ शिक्षकले विद्यालयमा गएर पनि पढाउन र हाजिर गर्न पाएनन् । 

आफूहरूले विद्यालयमा हाजिर नै गराउन नपाएपछि उनीहरूले सङ्घर्ष समिति नै गठन गरी प्रक्रियालाई विभिन्न कार्यक्रम गरी अगाडि बढाएका छन् ।  सङ्घर्ष समितिका संयोजक भोजराज गौतमले अस्थायी शिक्षकलाई विस्थापित गरेर स्थायी राखेका कारण उक्त समस्या आएको बताए । 

अस्थायी शिक्षकले छाड्न नमान्ने र अस्थायी शिक्षक नभएका विद्यालयमा पनि सम्बन्धित विद्यालयका प्रधानाध्यापकले हाजिर गर्न नदिएको गुनासो उनले गरे ।  विसं २०६३ भन्दा अघिका अस्थायी शिक्षकलाई नहटाइने र त्यसपछि राखिएका अस्थायी शिक्षकको दरबन्दीमा स्थायी शिक्षक आए पनि अस्थायी शिक्षकलाई हटाउन नसकेकै कारण उक्त समस्या झेल्नुपरेको उनको दाबी छ । 

संयोजक गौतमले गत वर्ष पनि यस्तैखालका समस्या आएका कारण नयाँ स्थायी नियुक्ति पाएका शिक्षकले मुद्दासमेत हाल्नुपरेको बताए ।   “हामीले जिशिकामा गएर हाजिर गरे पनि त्यो बेतलवी हुन्छ । मेरो काभ्रेमा प्रावि तहमा स्थायी नियुक्ति थियो तर माविमा नियुक्ति पाएपछि त्यता छाडेर यता आएँ । तर यहाँ यस्तो समस्या भएपछि उता पनि जान सक्दिनँ र यता पनि बस्न नसक्ने भएँ । म त दोहोरो मारमा परेको छु” – उनले गुनासो गरे । 

अब सङ्घर्ष समितिमार्फत विरोधका कार्यक्रम गर्ने जानकारी पनि उनले जानकारी दिए ।

रासस 

 

प्रतिक्रिया