Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

नेपालको शिक्षा परिवर्तन गरेरै छाड्छु : शिक्षामन्त्री पोखरेल

मंगलबार, २१ पुस २०७२

काठमाडौँ, २१ पुस । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा देखिएका समस्यालाई नीतिगत रूपमै परिवर्तन गरेर छाड्ने दृढ्ता व्यक्त गरेका छन् ।  खोटाङको दिक्तेलमा सोमबार आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

“शिक्षा क्षेत्रमा अहिले जटिल समस्या देखिएको छ, यसलाई तल्लो तहदेखि मन्त्रालयसम्म सुधार गर्नमा आफू लागिपरेको छु ।” उनले भने ।  संविधान प्रचार अभियानका क्रममा खोटाङ पुगेका मन्त्री पोखरेलले राष्ट्र र राष्ट्रियताका लागि आत्मैदेखि लागिपर्न शिक्षा सम्बद्ध व्यक्तिहरूलाई आग्रह समेत गरे । 

“शिक्षा भनेको परिवर्तन हो । तपाईंहरू त्यही पेसामा हुनुभएकाले आफ्नो पेसालाई नतिजामूलक बनाउनुहोस् ।” उनले भने ।  एकीकृत नेकपा (माओवादी) का सचिवसमेत रहेका  मन्त्री पोखरेलले पार्टीको भ्रातृ संस्थाका व्यक्तिका रूपमा भन्दा आफूलाई शिक्षक भनेर चिनाउन शिक्षकलाई आग्रह पनि गरे । 

“आगामी दिनमा शिक्षकले पार्टी सदस्यता लिन पाउने छैनन् ।”  उनको भनाई थियो ।  शिक्षा क्षेत्रको सुधारका लागि आफूले संसद्मा विधेयकसमेत पेस गरिसकेको सो विधेयकले शिक्षकलाई पार्टीको सदस्य बन्न नदिने दाबीसमेत मन्त्री पोखरेलले गरे । 

अन्तक्र्रियामा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका जिल्ला शिक्षा अधिकारी, प्राविधिक, शिक्षक सङ्घसङ्गठनका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । 

रासस 

 

प्रतिक्रिया