Edukhabar
मंगलबार, ०८ असोज २०८१
विचार / विमर्श

पुस्तकलाई दुई सय, पिकनिकलाई पाँच हजार !

मंगलबार, २१ पुस २०७२

- शिवशरण ज्ञवाली / यो समय हो –‘पिकनिक’ को । अक्सफोर्ड डिक्सनरीमा ‘पिकनिक’ को अर्थ ‘आउटडरमा विशेष गरी नदीको तीर वा वनमा खाइने खाना’ उल्लेख छ । नेपाली भाषामा यसलाई वनभोज भनिन्छ । गाउँघरमा ‘पुुसे खाजा’ खाने चलन पुरानै हो । तर त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक रामप्रसाद उपाध्यायका अनुसार ‘पुसे खाजा’ पनि पाश्चात्य संस्कृति नै हो । उहाँका अनुसार अँग्रेजी नयाँ वर्षको अवसरमा यस्तो खाजा खाइन्थ्यो, जुन संस्कृतिलाई बेलायती उपनिवेशकालीन समयमा भारत गएका नेपालीहरुले भित्र्याए । उपाध्याय सरका अनुसार कतै न कतै नेपाली संस्कृतिमा पनि वनभोजको चलन थियो नै । बृहत्त नेपाली शब्दकोशले पनि यही कुरालाई पुष्टि गर्दै वन भतेर वा वनभातको अर्थ ‘कात्तिक महिनामा विशेषतः अमलाका रुखमुनि पकाएर खाइने भात’ भनेर लगाएको छ । तसर्थ आजको वनभोज तथा पिकनिक पूर्वीय र पाश्चात्य सभ्यतामा रहेको ‘जन्मोत्सव’ र ‘वर्थ डे’ जस्तै गज्जबको एकै प्रकारको प्राचीन संस्कृति नै हो । 

डा. वासुदेव त्रिपाठीले पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा’ भाग १ मा पूर्वीय र पाश्चात्यका बारेमा यसरी उल्लेख गरेका छन् : ‘पृथ्वीका दुई गोलार्ध छन् । एक गोलार्ध अन्तर्गत एसिया, अफ्रिका, युरोप र अस्ट्रेलिया लगायत अन्टार्टिका क्षेत्रका चार महाद्वीप पर्दछन् भने अर्को गोलार्ध अन्तर्गत उत्तरी र दक्षिणी अमेरिकाका महाद्वीप पर्दछन् । कोलम्बसले अमेरिका पत्ता लगाएपछि नै उत्तरी–दक्षिणी अमेरिकाको ‘नयाँ दुनियाँ’ वा नवगोलार्ध बारे जानकारीको क्रम थालिएको हो, पुरानो दुनियाँका नामले खासगरी अर्को गोलार्धका एसिया–अफ्रिका र युरोपको भूक्षेत्र चिनिदै आएको छ ।

ग्रीसेली रोमेली प्राचीन परम्परामा ‘एसिया’ र ‘युरोप’ दुई भूदेवीहरुको चर्चा पाइन्छ र पूर्वीय तथा पाश्चात्य वर्गीकरणको मूल विभाजक रेखा पुरानो दुनियाँका एसिया र युरोप महाद्वीपका आधारमा (यी दुई महाद्वीपलाई मूलतः युराल पर्वतमालाले छुट्टयाएको छ) नै प्रथमतः थालिएको हो । हालको विश्व सन्दर्भमा चाहिं मुख्यतः युरोप अमेरिकालाई पाश्चात्य विश्व भनिन्छ र युरोपमूलको सभ्यताको प्रभाव क्षेत्र अन्तर्गत पर्ने युरोप अमेरिका तथा अष्ट्रेलिया क्षेत्र समेतलाई ‘पाश्चात्य’ शब्द अन्तर्गत समेट्न सकिन्छ, त्यस्तै पूर्वीय विश्व अन्तर्गत मुख्यतः एसिया र अफ्रिकालाई राख्न सकिन्छ । ...

मोटामोटीमा अरबी फारसी र भारत वर्षीय सभ्यताका साथै चिनियाँ सभ्यताकै परिवेशबाट पूर्वीय परिप्रेक्ष्य प्रकट हुन्छ अनि युरोप–अमेरिकाकै सभ्यता–सेरोफेरोबाट पाश्चात्य वा पश्चिमा परिप्रेक्ष्य देखापर्छ । अझ सीमित सन्दर्भमा हेर्दा चाहिँ हामी हाम्रो भारत वर्षीय परिप्रेक्ष्यलाई पूर्वीय परम्परा भन्दछौँ र यसको मूल स्रोत संस्कृत वाङ्मय रहेको छ ...पाश्चात्य तथा पश्चिमा परम्परा भन्नाले चाहिँ युरोप अमेरिकाको प्राज्ञिक परम्परालाई हामी बुझ्छौँ ।’ (त्रिपाठी, २०५८ : १)

आज पूर्वीय सभ्यता पाश्चात्य सभ्यताबाट थिचिए पनि पछिल्ला केही वर्षहरुमा योग दर्शनले सारा संसारलाई पुनः व्युताउँदै गएको छ । तथापि बहुसंख्यक मानिसहरु पाश्चात्य ‘पिकनिक’मै रमाउन थालेका छन् । नेपाली कात्तिक महिनामा खाइने खाजा हराउँदै गएको छ बरु पिकनिक तन्किएर वैशाखसम्म चलिरहन्छ ।

नेपाली समाजमा एउटा भनाइ छ, ‘साउने संक्रान्तिले चाडवाडको आमन्त्रण गर्दछ र हरिबोधनी एकादशी (ठूलो एकादशी) ले चाडवाडको अन्त्य गर्दछ ।’ तर हरिबोधनी एकादशी पछि हामीले नयाँ संस्कृतिको सुरुवात गरेका छौं, ‘पिकनिक’ । हाम्रो पूर्वीय संस्कृतिलाई विचार गर्दा ‘पिकनिक’ जहिले मन लाग्यो तहिले जान मिल्दैन । अत्यन्त सुविचारिक तरिकाले हाम्रा पुर्खाहरुले जाडो याममा नै वनभोजको चलन चलाएको देखिन्छ । पाश्चात्य जगत्बाट आए पनि ‘पुसे खाजा’ ले जाडो याम नै समातेको छ । पुसको १५ जाडोको करिब करिब उत्कर्षको समय पनि हो । त्यतिबेला बारी काल्ना तथा जंगलतिर गएर खाजा खाँदा न्यायो, पोषिलो तथा खाना पच्ने हिसाबले नै त्यो संस्कृति विकसित भएको होला ।

गाउँघरतिर अझै पनि पुस १५ मा छरछिमेकका केटाकेटीहरु रमाइलो गर्दै साँझपख बारीमा गएर पुसे खाजा खाने गर्दछन् । पाश्चात्य सभ्यताको भद्दा नक्कल गर्दै आज हामी नेपाली कार्तिक मंसीरपछि हरेक वर्ष करिब करिब वैशाखसम्म नै पिकनिक गइरहेका छौं तर त्यसरी गर्मीयाममा समेत पिकनिक जाँदा त्यसले स्वास्थ्यमा पार्ने असर बारे विचार गर्न सकेका छैनौं ।

फलतः योगी विकासानन्दले भनेजस्तै ‘खान नपुगेर थोरै मर्ने र खान नजानेर धेरै मर्ने’ अवस्थाबाट गुज्रिएका छौं । त्यसो त वनभोज वा पिकनिक आफैमा नराम्रो होइन, आपसी तिक्कताहरु बिर्सने तथा लामो थकानबाट अवकाश लिएर आफूलाई पुनः ताजा पार्ने अवसर पनि हो । विद्यार्थीका लागि यो जिम्मेवारी लिने तथा नेतृत्व विकास गर्ने अवसर पनि हो । भलै, हामी हाम्रा विद्यार्थीलाई ऊ स्वयंमा जिम्मेवारी बोध गराउने र नेतृत्व विकास गर्न अवसर सिर्जना गर्ने भन्दा पनि उसलाई त्यसबाट बञ्चित गर्दै ‘नसक्ने’ तथा ‘नजान्ने’ बनाएर आफू कथित नेता बनेर पछिपछि लाग्छौं ।

२०७२ हाम्रा लागि निकै कष्टकर वर्ष रह्यो । हामी शुभकामना पनि राम्ररी आदान प्रदान गर्न भ्याएका थिएनौं, ठूलो भँुइचालोले नेपालमा ठूलो क्षति ग¥यो । करिब दश हजार दाजुभाइलाई हामीले त्यो भूकम्पमा गुमायौं । कैयौं घरबार विहीनहरु हिजो वर्षायाममा पनि खुला आकाश मुनि बिताए भने आज पुस माघको जाडो पनि खुला आकाशमुनि बिताउँदै छन् । तसर्थ आज पनि कैयौँ नेपालीहरु त्यो ठूलो पीडाबाट गुज्रिरहेका छन् । क्षति मात्र गरेन भूकम्पले हाम्रा नियमित कामहरु ठप्प भए । यसले देश दशकौं पछि धकेलिएको महसुस भयो । विद्यालयहरु महिनौं  ठप्प भए ।

त्यसपछि संविधान आउने लक्षण देखियो नभन्दै असोज ३ गते संविधान आयो । संविधान निर्माणको खुशीयाली मनाउन पनि पाएका थिएनौं, नाकाबन्दी सुरु भयो । त्यसबाट हामी अझै पनि मुक्त भइसकेका छैनांै । यसबाट देशको अवस्था झन् थिलोथिलो भएको छ । भूकम्पको निर्माणका लागि हामीले दातासँग हात फैलाएका छौं । आफ्नै नागरिकसँग हात पर्सान सरकार तयार भएन । दलीय नेतृत्वले सोचेन । नेपालीसँग पैसा नै नभएको होइन । हामीले पनि सोचेनौं । भूकम्पले खान नपाएकाहरुलाई हामीले दिनुपर्छ भन्नेबारे विद्यार्थीलाई सिकाइएन । विद्यार्थी हामी मिलेर दश बीस उठायौं र आफ्नो ‘ठूलो’(?) जिम्मेवारी पुरा ग¥यौं । तर पिकनिकलाई प्रति विद्यार्थी एक हजार उठायौं । अझै पनि बस्ने बास नभएर जाडोमा घरको अभावमा कठ्याङ्रिएर जीवन गुजार्नेहरुको कथाका बारेमा हामीले जिम्मेवारी महसुस गर्दै गरेनौं ।

यसपालि पीडा छ, पिकनिकको खर्च घरबार नहुनेहरुका लागि लगानी गरौं हामीले भनेनौं । धुमुर्से र सुन्तलीको टेलिफिल्म हेरेर हाँस्यौं तर उनीहरुलाई पछ्याएनौं । चाहेका भए हामी थुप्रा घरहरु बनाउन सक्थ्यौं । तर हामी यसको जिम्मेवार सरकार मात्रै हो भन्नेतिर गयौं । हाम्रा विद्यार्थीलाई संवेदनशील बनाउँदै बनाएनौं । भूकम्प पीडितका लागि दश बीस रुपैयाँ उठाएकामा नै हाम्रा विद्यार्थी मख्ख छन् ।

हो, पिकनिकको आफ्नै प्रयोजन छ । थाकेको दिमागलाई मनोरन्जन चाहिन्छ, सिकाइको एक तरिका पनि हो । तर फरक किसिमले सोचिएन भन्ने मात्र हो । भूकम्पमै जानु पर्दैन, हामी हाम्रा बाबुनानीहरुलाई हरेक वर्ष नेपाली प्रकाशनका सस्ता (प्रत्येक पुस्तकका लागि ५० रुपैयाँ) किताब पनि ‘पुराना’ तथा ‘च्यातिएका’ कवाडी मालका खोज्छौ । दुई सय रुपैंयामा सबै किताव पुगे हुन्थ्यो भन्ने ठान्छौं, तर पिकनिकका लागि सजिलै हजार रुपैयाँ दिन्छौं । हजार त बुझाउने नगद मात्रै रे ! पिकनिक जानका लागि अघिल्लो दिन गरिने सपिङ्मा हुने खर्चको लेखा जोखै  छैन ।  अघिल्लो दिन हुने किनमेलमा ५ हजार सम्म खर्च गर्न पनि राजि हुने अभिभावक बढ्दै छन् ।

जति दिन विद्यालय बन्द भए पनि अथवा ठूलै शोकमा परे पनि ‘पिकनिक’को कर्मकाण्ड पूरा गर्नैपर्ने भयो । हामीले विद्यार्थीलाई घटना परिस्थितिको संवेदनशीलता, गम्भीरता र जिम्मेवारीको बोध गराउनै सकेनौं अर्थात यसबाट चुक्यौं । यसबाट हामी भावी पिढीलाई कस्तो संस्कार सिकाउँदै छौं ?

पश्चिमाहरुले आफूहरुलाई उम्दा त्यतिकै बनाएका होइनन् ! तिनीहरु पनि कुनै दिन संकटबाटै गुज्रिएका थिए । संकटमा उनीहरु एकताबद्ध भए, फरक किसिमले सोचे र त्यसलाई कार्यरुपमा उतारे । 
के हामीले फरक किसिमले सोच्न सकिन्न ?

प्रकाशित मिति २०७२ पुस २१ गते

प्रतिक्रिया