Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

कक्षामा हुनुपर्नेहरु अन्तै भेटिन्छन् राजधानीमा !

आइतबार, १९ पुस २०७२

- विष्णु विवेक / काठमाडौ - पढ्नका लागि सर्लाहीबाट काठमाडौं आएका अजय शाह हिजो आज कक्षा कोठामा फेला पर्दैनन् । राजधानीको नयाँ बानेश्वरस्थित एक निजी कलेजमा कक्षा १२ मा विज्ञान विषय पढ्ने शाहलाई ग्यासको लाममा भेटिन्छ ।

तराईमा जारी आन्दोलन र भारतीय नाकाबन्दीका कारण ईन्धन अभाव हुँदा आपत खेप्ने नेपालीका कथा घर घरै भेटिन्छन् । कथाका पात्र र घटनाक्रम मात्र फरक हो, समस्या चाँही समान । 

शाहको, पढ्ने लेख्ने रुटिन ध्वस्त भयो, लाममा बस्ने रुटिन चाँही दुई हप्ता देखि जारी छ । पढियो भने पास हुने पक्का छ, तर लाममा बस्दा ग्यास पाउने नपाउने कुनै टुङ्गो छैन । ग्यास डिपोका साहुजीले ग्यास पाउँछ भोली आउनु भन्छन्, कलेज छाडेरै लाइनमा आयो पाँईदैन' अनामनगरको ग्यास डिपोमा कलेज ड्रेसमै भेटिएका शाह भन्छन्, ‘एक महिना देखि यही रुटिन छ, आज पाउँला भन्यो, त्यस्तै, भोली पाउँला भन्यो त्यस्तै । अब त दिक्क लाग्न थालिसक्यो ।’

हरेक दिन ग्यास पाउने आशामा दुई तीन पिरियड नपढेर लाममा बस्छन् तर पालो नआउँदै आजलाई सकियो भनेपछि निराश भएर फर्किन्छन् । आफ्नो ग्यास समातेर निराश अनुहार बनाउँदै लाइनमा बसेका उनी यो पीडाबाट छटपटिरहेका छन् । ग्यास पाईने आशामा धाउँदा धाउदाँ उनी विचलित भइसकेका छन् । दाउरा बालेर भात खाने मेसो बसाएका शाह घरबेटीको किचकिचले सडक किनारामा पकाउने ब्यवस्था मिलाएको बताउँछन् ।

बैशाख १५ गतेसम्म परीक्षा भइसक्छ । तर कोठामा ग्यास नभएर एक महिना भन्दा बढी यही समस्याले टाउको दुखाइरहेको छ । यसपालीको परीक्षामा नराम्रो हुने पक्का भईसकेको छ, तर ग्यास पाईएला र समयमै भात पकाएर समयमै कक्षामा पुग्ने आशा मरेको चाँही छैन । 

यस्तै पुतलीसडक स्थित एक सामुदायिक विद्यालयको कक्षा ९ मा पढ्ने सुमन खड्काको दैनिक पनि ग्यासकै लामबाट शुरु हुन्छ र त्यहीँ सकिन्छ । पारिलो घाम ताप्दै आफ्नो खाली सिलिण्डर माथी बसेर पालो कुरिरहेका खड्का पनि उस्तै निराश छन् । ‘लाइन लागेको त दुई हप्ता भइसक्यो तर ग्यास पाएको छैन' उनी भन्छन्, 'खाना खानै समस्या भएपछि स्कुल जानै मन लाग्दैन भोक लागेको हुन्छ, कसरी स्कुल जाने ? कहिले साथीकोमा गएर खान्छु । कहिले चाउचाउँ विस्कुट खाएर छाक टार्छौँ ।’

दोलखा घर भएका उनी दिदीसंगै अनामगनरको घट्टेकुलोमा डेरामा बसेर पढिरहेका छन् । दाउँरा बालेर खाना पकाउन घरबेटीले नदिने गरेको पनि उनको गुनासो छ ।

राजधानीको बसुन्धरास्थित एक निजी कलेजमा पढ्ने विजय रेग्मीको हालत पनि उस्तै छ । शान्तिनगरमा रहेको डेराबाट कलेज पुग्नै  समस्या छ । इन्धन अभावले सवारी साधन कम चलेपछि आधा घण्टा कुरेर ४५ मिनेट यात्रा तय गर्दाको हैरानी भनिसाध्य छैन । एकातिरको भिडम्भिड अर्धातिरको कम गाडि, बाटोमै दैनिक ३ घण्टा समय वित्छ । पढ्ने कतिखेर ?

म्याग्दी घर भएका उनी १० बर्ष पहिले राजधानी आएका हुन् । शान्तिनगरमा रहेको सानो खाजा पसलको कमाईबाट उनका आमाबाबुले इञ्जिनियर बनाउने सपना सहित उनलाई विज्ञान विषय पढाईरहेका छन् । तर, उनीहरुको सपना नाकाबन्दी र तराई आन्दोलनका कारण सृजित समस्याले कहाँ पुर्याएर तुहाउने हो यसै भन्न सकिन्न । 'ग्यास नभएपछि पसल चलाउनै समस्या छ' उनी प्रश्न गर्छन्, 'पसलै नचले कहाँबाट कमाउनु, नकमाएपछि कसरी ईञ्जिनीयर बन्ने ?'

ग्यास र ईन्धनसँगै डेरामा बस्ने विद्यार्थीलाई लोडसेडिङले अर्को चड्कन हानेको छ । कालिमाटीको एक कलेजमा कक्षा १२ मा व्यवस्थापन पढ्ने पारु सुनार बत्ति आउने समय कुरेर खानाको जोहो गर्दै छिन् । दैनिक ११ घण्टा बढीको लोडसेडिङ त्यसमाथि प्राय दुई दिनको फरकमा ट्रान्समिटर पड्किएर दुई तिन दिनसम्सम बत्ति नआउने क्रम ! सकिनै लागेको ग्यासको सिलिण्डर सम्झँदा उनको पीर बढ्छ । 

‘डेली ट्रान्समिटर पड्कििएर बत्ति गएपछि तीन चार दिनसम्म आउदैन । आएपछि फेरी पड्किन्छ, उनी भन्छिन्, 'न अर्को कुनै उपाय छ न त बत्ति नै । हामी जस्ता विद्यार्थीलाई साह्रै गाह्रो भयो ।'

संविधान निर्माणपछि असन्तुष्ट बनेका मधेसीदलको आन्दोलन त्यसैलाई बाहना बनाएर शुरु भारतीय नाकाबन्दीका कारण चार महिना देखि डेरामा बस्ने विद्यार्थीले खानु गोता खाएका छन् ।

पछिल्लो समय वीरगञ्ज बाहेकका नाका खुकुलो भएर ईन्धन आयात बढेपनि फितलो ब्यवस्थापनका कारण बजार सरकारको हैन कालोबजारियाको चँगुलमा रहेको प्रष्ट भैसकेको छ ।  भित्रिएको ईन्धन डेरामा बस्ने विद्यार्थी सहित मर्कामा परेकाहरुको पहुँचमा हैन, पहुँच हुनेहरुको हातमा पुगेको प्रष्टै देखिन्छ ।

आयल निगमका अनुसार जाडो समयमा मासिक २७ हजार मेट्रिक टन ग्यासको माग हुने गरेको छ भने गर्मी मौसममा मासिक १९ हजार मेट्रिक टन ग्यास आवश्यक पर्छ । सबैभन्दा बढी ग्यास खपत हुने काठमाडौं उपत्यकामा दैनिक ३७ हजार ९ सय सिलिन्डर अर्थात ५ सय ४ सय मेट्रिक टन ग्यास आवश्यक पर्छ ।

तर, नाकाबन्दीपछि भारतबाट ५ हजार १ सय मेट्रिक टन अर्थात २ सय ८३ वटा ग्यास बुलेट मात्र भित्रिएको आयल निगमको विवरण छ । 
देशभरमा लागि दैनिक ६२ हजार सिलिन्डर अर्थात ९ सय मेट्रिक टन ग्यासको माग छ ।

प्रकाशित मिति २०७२ पुस १९ गते

प्रतिक्रिया