Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

शिक्षा ऐनमा साँसदहरुको ३३ संशोधन दर्ता

विहीबार, १६ पुस २०७२

काठमाडौं - संसदमा छलफल शुरु भएको शिक्षा ऐनमा विभिन्न दलका साँसदले ३३ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् । संशोधन दर्र्ताका लागि तोकिएको विहीबार दिउँसो ३ बजे सम्मको समयमा  उनीहरुले संशोधन दर्ता गराएका हुन् ।

कतिपय साँसदहरुले सामूहिक रुपमा र कतिले एकल रुपमा संशोधन दर्ता गराएका संसदको विधेयक शाखाले जनाएको छ । शाखाका अनुसार साँसदहरु प्रतिभा तिवारी मुखिया, हितराज पाण्डे, अमृतकुमार बोहरा, यज्ञराज सुनुवार, भुवन कुमार थापा, तेजुलाल चौधरी, राजेन्द्र प्रसाद पाण्डे, रेवतीरमण भण्डारी, राम नारायण विडारी, धनीराम पौडेल, पेम्वा लामा, गोमा कुवँर, विकास लम्साल, महालक्ष्मी उपाध्याय डीना लगायतले संशोधन दर्ता गराएका हुन् ।

अधिकाँश साँसदले अस्थायी शिक्षक, परीक्षा बोर्डको गठन, प्रारम्भिक बाल विकासबाटै आधारभूत शिक्षा भनिनु पर्ने लगायतमा संशोधन दर्ता गराएका छन् ।

अव उक्त संशोधन संसदमा जाने र त्यहाँ दफाबार छलफल भएपछि संसदले आवश्यक ठानेमा महिला बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितिमा पठाउने छ । समितिले आफू अन्र्तगत रहेको शिक्षा उपसमितिमा छलफल गरेपछि फेरी संसदमा पठाउने छ । अनी मात्रै ऐन पारित हुने छ ।

विद्यालय क्षेत्र सुुधार कार्यक्रम एसएसआरपीले तय  गरेको व्यवस्था अनुसार सन् २००९ मा ऐन लागू भइसक्नु पर्ने थियो । एसएसआरपीको अवधि सकिन लागेकोले उक्त ऐन छिटो पारित गर्नु पर्ने सरकारलाई दवाव छ । त्यसैले उक्त संशोधन समितिमा नपठाई संसदमै छलफल गरेर पारित गर्न सक्ने सम्भावना पनि छ । 

दर्ता भएको साढे दुई महिना पछि सोमबार ब्यवस्थापिका संसदमा ऐन संशोधनको प्रकृया शुरु भएको थियो ।

शिक्षा ऐन संशोधन प्रकृया शुरु, संसदमा छलफल

ऐनमा गर्नु पर्ने संशोधनका बारेमा शिक्षक महासँघले मंगलबार विभिन्न राजनीतिक दललाई जानकारी गराएको थियो । अधिकाँश साँसदले उक्त अवधारणालाई नै आधार मानेर संशोधन दर्ता गराएका छन् । शिक्षक महासंघले विभिन्न नौ बुँदामा शिक्षा ऐन संशोधन आवश्यक भएको भन्दै आफ्नो अवधारणा दलका नेताहरुलाई बुझाएको थियो ।

शिक्षा ऐन संशोधनमा शिक्षक महासंघका नौ बुँदा

यो पनि पढ्नुहोस्

शिक्षा ऐनमा संशोधन प्रस्ताव, महासंघ भन्छ शिक्षक दलको कार्यकर्ता हुनै पर्छ !

प्रकाशित मिति २०७२ पुस १६ गते

प्रतिक्रिया