Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

पढाउने भवन नभएपछि चौरमा विद्यार्थी 

विहीबार, १६ पुस २०७२

काठमाडौँ, १६ पुस । भवन अभाव हुँदा कञ्चनपुरको देखतभूली– ४ कलागौँडीमा रहेको शिव शक्ति माध्यमिक विद्यालयले खुला चौरमै कक्षा सञ्चालन गर्दै आएको छ ।  विद्यालयमा विद्यार्थीको चाप बढेपछि भवन अभावमा खुला चौरमा पढाइ गर्दै आएको हो । विद्यालयसँग जस्तापाताले छाना छाएका छकोठे दुई र पक्की दुईकोठे एक भवनमात्रै रहेका छन् । 

जसमध्ये जस्तापाताले छाएको भवनका दुईवटा कोठा र पक्कीको एककोठा जीर्ण अवस्थामा रहेको विद्यालयका प्रधानाध्यापक लोकराज पन्तले बताए ।  “जस्तापाताले छाएको भवनका जस्ता खिया लागेर ठाउँठाउँमा पानी चुहिने र पक्की भवनको एक कोठाको छत जीर्ण छ” – उनले भने ।

विद्यालयमा पढाइको गुणस्तरमा सुधार हुँदै गएकाले विद्यार्थीको सङ्ख्या गत शैक्षिकसत्रको तुलनामा एक तिहाइले वृद्धि भएको छ, शिक्षक भरतराज पन्तले भने – “विद्यालयसँग कक्षाकोठा अभाव भएपछि खुला चौरमा विद्यार्थीलाई राखेर पठनपाठन गराउँदै आएका छौँ ।”  

बढी चिसो मौसममा र वर्षा हुनु अगावै विद्यालय बन्द गर्नुपर्ने अवस्था रहेको र छुट्टै कार्यालय कक्ष नहुँदा कक्षा कोठामै कार्यालय सञ्चालन गरिँदै आएको उनले सुनाए ।  विद्यालयको दुई कोठे कार्यालय कक्ष निर्माणका लागि गाविस कार्यालयले रु चार लाख गत आवमा उपलब्ध गराए पनि सो रकमले निर्माण कार्य पूरा हुन सकेको छैन । 

जिल्ला शिक्षा कार्यालयले कम्प्युटर खरिदका लागि उपलब्ध गराएको रकम भवन अभावमा कम्प्युटर ल्याब सञ्चालन गर्न नसकेको प्रधानाध्यापक पन्तले बताए ।  विद्यालयमा ८०२ दुईजना अध्ययन गर्दै आएका छन् । जसमध्ये ७० प्रतिशत विद्यार्थी राना थारु समुदायका रहेका छन् । 

विद्यालयसँग विद्यार्थीको तुलनामा शिक्षकको सङ्ख्यासमेत न्यून रहेको छ । विद्यालयमा स्थायी दरबन्दीका तीनजना र राहत दरबन्दीका छजना शिक्षक कार्यरत रहेका छन् ।  निजी स्रोतका चार शिक्षकको तलब अभिभावकले चन्दा सङ्कलन गरी उपलब्ध गराउँदै आएको प्रधानाध्यापक पन्तले बताए ।

(रासस) 

 

प्रतिक्रिया