Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

त्रिविको पुस्तकालयमा विद्यार्थी खचाखच !

बुधबार, १५ पुस २०७२

काठमाडौँ, १६ पुस । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको केन्द्रीय पुस्तकालय नेपालकै अतिव्यस्त पुस्तकालयका रुपमा विकास भइरहेको छ । 

तत्कालिन श्री ५ मुमा बडामहारानी इश्वरी राज्यलक्ष्मीदेवी शाह र कान्ति राज्यलक्ष्मीदेवी शाहको सम्पत्तिको योगदानबाट २०१६ सालमा त्रिभुवन विश्वविद्यालयको स्थापनासँगै त्रिवि पुस्तकालयका रुपमा स्थापना भएको सो पुस्तकालयमा नेपाल कलेक्सन, फरेन सेक्सन, आर्काइभ (दुर्लभ बौद्धग्रन्थ, परम्परागत औषधि, प्राचीन ग्रन्थ) सहित त्रिविअन्तर्गतका ३८ वटा केन्द्रीय विभागका लागि आवश्यक पुस्तक, एमफिल (मास्टर अफ फिलोसफी) र पिएचडीका सन्दर्भ सामग्री र स्थायी महत्वका चार लाखभन्दा बढी पुस्तक रहेका छन् । 

काठमाडौँको केन्द्रमा रहेको लालदरबारमा रहेको पुस्तकालय पनि त्रिवि पुस्तकालयमा गाभिएपछि विसं २०३२ पुस ४ गते त्रिवि पुस्तकालयको नाम परिवर्तन भई केन्द्रीय पुस्तकालयको रुपमा परिचित भएको हो । विद्यार्थी, पाठक, शोधकर्ता तथा अनुसन्धानकर्तासहित ज्ञान आर्जन गर्नेहरु गरी वार्षिक झन्डै २० लाख पाठकहरुको जमघट हुने भएकाले यो पुस्तकालय नेपालकै अतिव्यस्त पुस्तकालय भएको धारणा केन्द्रीय पुस्तकालयका पुस्तकालयाध्यक्ष जनार्दन ढुङ्गानाले बताए ।  

जनवादी गणतन्त्र चीनले पुस्तकालयको अत्याधुनिक विकासका लागि रु चार अर्बको प्रतिबद्धता नेपालका लागि चिनियाँ राजदूतबाट प्राप्त भइसकेको र विश्व बैंकबाट रु तीन करोडको प्रतिबद्धता प्राप्त भएको जानकारी उनले दिए । चिनियाँ पक्षबाट निर्माण हुने भवनको भुइँतलामा सुपर मार्केट, माथिल्लो तलामा विद्वानहरु बस्ने तथा ठूलो पार्किङको व्यवस्थासमेत हुनेछ । 

त्यस प्रक्रियालाई अघि बढाउन आफूले अर्थ, भौतिक योजना तथा शिक्षा मन्त्रालयमा स्वीकृतिका लागि पत्राचार गरिसकेको र स्वीकृति प्राप्त भएपछि चीनसँगको सहकार्य अगाडि बढाइने उनले स्पष्ट पारे ।   आगलागी, प्राकृतिक प्रकोपजस्ता दैवी विपत्तिको सामना गर्न डिजास्टर कर्नर, आइटी शाखालगायत २४ वटा महत्वपूर्ण विधागत शाखा रहेको सो पुस्तकालयमा १२ किलोवाटको सोलार ब्याकअपको विद्युत् आपूर्तिको व्यवस्था गरेपछि त्यहाँ आउने पाठक थप लाभान्वित भएका छन् । 

सो पुस्तकालयको वेवसाइटमा संसारभरका पाँच लाख प्रयोगकर्ता रहेको उनको दाबी थियो । अर्को एक प्रश्नमा ढुङ्गानाले नेपालमा शिक्षाको विकास अरु देशको तुलनामा चाँडो भएको बताउँदै यहाँको पढाइको स्तर तथा नेपाली विद्यार्थीबाट पाठ्यसामग्री खोजीकार्य पनि सन्तोषजनक रहेको बताए । 

गएको वैशाख १२ को भूकम्पपछि क्षतिग्रस्त भारतनिर्मित भवनको पुनःनिर्माण गर्ने इच्छा भारतीय राजदूतले व्यक्त गर्नुभएको पनि उनले जानकारी दिए ।  भूकम्पबाट क्षतिग्रस्त भएपछि अस्तव्यस्त अवस्थामा रहेका छ हजार बोरा पुस्तकको प्रबन्ध मिलाइसकिएको र भवनको केही कोठा बस्नयोग्य नभएपनि पुस्तकालयमा अध्ययनका लागि आउने पाठकलाई सेवा दिनबाट अहिलेसम्म रोक्नुपर्ने अवस्था नआएको ढुङ्गानाको भनाइ थियो । 

उनले थपे – “दश रोपनी जग्गामा फैलिएको पुस्तकालयमा ५३ कर्मचारीबाट पुस्तकालयलाई ‘सेन्टर अफ एक्सेलेन्स’ बनाउने तथा इ–रिसोर्सेजमा जोडदिने मेरो प्रयास रहनेछ । साथै, निकट भविष्यमा छोटो अवधि र लामो अवधिको पुस्तकालयसम्बन्धी विशिष्ट तालिम पनि दिइने कार्यक्रम छ ।” 

(रासस) 

 

प्रतिक्रिया