Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

भूकम्पपीडित विद्यार्थीका कपडा गोदाममै

बुधबार, १५ पुस २०७२

काठमाडौं १५ पुस / भूकम्पपीडित विद्यार्थीका लागि ६ महिनाअघि चीनबाट आएका एक करोड रुपैयाँभन्दा बढीका न्याना कपडा, झोलालगायत सामान अझै  शिक्षा विभागमै थन्क्याइएको छ ।

तत्कालीन शिक्षामन्त्री चित्रलेखा यादव जेठ दोस्रो साता चीन भ्रमणमा जाँदा गरेको आग्रहअनुसार चिनियाँ रेडक्रसले असार ३० मा २/२ हजार सेट ट्रयाकसुट, झोला, पानीका बोतल र सिसाकलम बक्स पठाएको थियो । ती सामान विभागले भन्सारको गोदामबाट मंसिर १० मा मात्र बुझेको थियो ।

भूकम्पपीडित विद्यार्थी चिसोमा कठयांग्रिए पनि विभागले न्यानो कपडा बाँडेको छैन ।

पाँच महिना गोदाम प्रयोग गरेबापत नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको विमानस्थलस्थित कार्यालयले विभागसँग विलम्ब शुल्क भन्दै चार लाख ७१ हजार आठ सय ६ रुपैयाँ असुलेको छ । गोदाममा आएको एक साताभित्र सामान बुझेको भए ‘हयान्डलिङ’ बापत १५ हजार ६ सय ७७ रुपैयाँ मात्र तिरे पुग्थ्यो ।

अर्थ मन्त्रालयले असार मसान्तसम्म भन्सार छुट गरे पनि विभागले तोकिएको समयमा सामान लिन नगएपछि एक प्रतिशत भन्सारबापत एक लाख १७ हजार सात सय ७४ रुपैयाँ तिरेको छ । त्यसलाई आधार मान्दा उक्त सामानको मूल्यांकन एक करोड १७ लाख रुपैयाँ हुन्छ । अन्य शुल्क भने अर्थ मन्त्रालयबाट छुट गराएको थियो ।

विभागमा ती सामान राख्ने ठाउँको अभाव भएपछि प्रशासन महाशाखाका निर्देशकको कार्यकक्षमा थुपारिएको छ । महाशाखाका निर्देशकको पद रिक्त रहेकाले खाली भएको कोठालाई गोदाम बनाइएको हो ।
ठाउँ अभावले निर्देशकको कोठामा राखिएको भण्डारण प्रमुख उत्तम पुडासैनीले बताए । ‘भन्सार शुल्क मिनाह गराउनै समय लाग्यो,’ उनले भने, ‘त्यसपछि विलम्ब शुल्क कुन शीर्षकबाट खर्च गर्ने भन्ने भयो । यस्तै समस्याले गर्दा सामान बुझन ढिलाइ भयो ।’ विभागमा सामान ल्याएपछि महानिर्देशक परिवर्तन भएकाले वितरण सुरु हुन नसकेको उनले दाबी गरे ।

विभागका महानिर्देशक खगराज बरालले दाताले पठाएको सामान कहाँ वितरण गर्ने भन्ने मन्त्रालयसँग चाँडै छलफल गरेर टुंग्याइने बताए । ‘सामान विभागमै छ । कहाँ वितरण गर्ने निर्णय भएको छैन,’ उनले भने । 

कान्तिपुरमा मकर श्रेष्ठले लेखेका छन् ।

प्रतिक्रिया