Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

आन्दोलनले आजित भएपछिको निष्कर्ष – वीरगंजमा त नपढाउने

आइतबार, १२ पुस २०७२

- मायामितु न्यौपाने / तराई आन्दोलनले हैरान बनाए पनि येनकेन जीवन धान्दै आएकी वीरगंज ४ विर्ताकी कोपिला पोखरेललाई त्यतिखेर धेरै चिन्ता लाग्यो, जतिखेर पढ्न नपाएर रुमल्लिरहेको आफ्नो सन्तानको भविष्य सम्झिईन् । आफूँले त यसै उसै जीवन चलाउँला तर, पुरै जीवन बाँकी रहेको सन्तानको भविष्य के हुँदैछ ? यो प्रश्नको उत्तर उनले शैक्षिक सत्रको विचमै सन्तानलाई बाहिर जिल्लाको विद्यालयमा भर्ना नगरे सम्म पाउन सकिनन् । अन्ततः उनले कक्षा २ मा पढ्ने सन्तानलाई काठमाण्डुको विद्यालयमा सारिन् ।

वीरगंज १४ कि सिता पराजुली कक्षा ६ मा अध्ययनरत छोरालाई यो शैक्षिक सत्र लगत्तै नवलरिासीमा पढाउने योजनामा छिन् । 'जति बेला पनि आन्दोलन भइरहने हो भने बच्चाको भविष्य बिग्रने भै हाल्यो नी' उनले भनिन्. 'यो शैक्षिक सत्रसम्म मात्र विरगंजमा पढाउने हो, त्यसपछि वीरगंजमा त नपढाउने ।'

तराई आन्दोलनले निम्त्याएको फरक र दिर्घकालिन प्रभाव भोग्ने यी दुई प्रतिनिधि पात्र हुन् । तराई मधेसमा भएको आन्दोलन, बन्द, हड्तालले विद्यार्थीको स्थानान्तरण हुने दर बढ्न थालेको छ । पठन पाठनमा भएको अवरोधका कारण चिन्तित तराईका अभिभावकले शैक्षिक सत्र नसकिँदै आफ्ना सन्तानलाई अन्यत्रै लैजान थालेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन पर्साका अनुसार जिल्लाका १० प्रतिशत विद्यार्थी अन्यत्र गईसकेका छन् । आफ्नै विद्यालयबाट अहिले सम्म ८ जना विद्यार्थी स्थानान्तरण भएको अध्यक्ष लालबाबु पटेलले बताए ।

चार महिना भन्दा लामो आन्दोलन र तीन महिना बढीको नाकाबन्दीका कारण प्रभावित भएको शैक्षिक क्षेत्र अझै सहज हुन सकेको छैन । आन्दोलनरत मोर्चाले आन्दोलनको तीन महिना पछि बिहान शैक्षिक संस्था खोल्न दिने निर्णय गरे पनि लगत्तै शुरु जाडोका कारण विद्यार्थी झन् समस्यामा पर्ने भन्दै चौतर्फी दबाब पछि मोर्चाले समय अनुकुल विद्यालय संचालन गर्न दिएको छ ।

विद्यालय खुलेपछि विद्यार्थीको पढाईलाई सुधार गर्न शुक्रबार र शनिबार पूरा दिन तथा सरकारी विदामा पनि पढाउने गरेको पटेलले बताए । तर, विद्यार्थीको मनमा गढेको त्रासका कारण विद्यालयहरु खुलेपनि विद्यार्थी सहज रुपमा विद्यालय आउन नसकेको शिक्षकहरु बताउँछन् । यति मात्रै हैन आएका विद्यार्थीले पनि पहिले पढाईएका कुराहरु बिर्सिसकेकाले पुनः त्यहि पाठ दोहो¥याउनु परिरहेको उनीहरु बताउँछन् ।

'एक त आन्दोलनको त्रास अर्को लामो समय पठन पाठन बन्द हुँदा साना साना बालबालिकाहरुले पढेका कुराहरु विर्सेका छन्' एक जना शिक्षकले भने । 

पाठ्यक्रम पुरा गराउन अहिले शनिबार र विदाका दिनमा पनि निजी विद्यालयहरुले कक्षा सञ्चालन गरिरहेका छन् । जिल्ला शिक्षा अधिकारी राम विनय सिंह सामुदायिक विद्यालयहरुलाई पनि सार्वजनिक विदाको दिनमा संचालन गर्न निर्देशन गरेको बताउँछन् ।

कक्षा चल्नु र चलाउन निर्देशन दिनु एउटा प्रकृया होला तर जारी आन्दोलन र विद्यार्थी अभिभावकको विथोलिएको मनस्थितीका कारण चुनौति जस्ताको त्यस्तै छ । ‘विद्यालय बन्द हुँदा धेरै समस्या भयो, अझै पनि बन्द गरिए विद्यार्थीको पढाईमा असर पर्ने र विद्यालयहरु पनि संचालन गर्न सक्ने अवस्था रहदैन ।’ पत्रकार अनन्त कुमारलाल दास भन्छन् ।

बैशाखको भूकम्पका कारण एक महिना विद्यालय बन्द भए, फेरी मधेस आन्दोलनले तीन महिना विद्यालयहरु बन्द भयो । यी सबैको समुच्च प्रभाव आफ्ना सन्तानलाई अन्यत्र लैजाने अभिभावकको निर्णयमै देखिन्छ ।

आर्थिक रुपमा पनि धरासायी

लामो समय बन्द हुँदा विद्यार्थीको पढाईमा मात्रै हैन शिक्षा क्षेत्रमा भएको लगानीमा पनि प्रभाव परेको छ । 'आर्थिक गतिविध बढी भएको क्षेत्र वीरगन्जलाई शैक्षिक हब बनाउन सकिने भन्दै हामी चर्चामा भएको अवस्थामा गरिएकै लगानीमा ठूलो चुनौति भोगिरहेका छौं' गौतम माविका संचालक सोनाम लामा भन्छन्, ‘शैक्षिक संस्थाहरु बन्द हुँदा बालबालिकाको भविष्य मात्र बिग्रिएको नभई समाज पनि पछाडि परेको छ ।'

सबै राजनीतिक दलहरुलाई शैक्षिक क्षेत्रमा हस्तक्षेप नगर्न उनको आग्रह छ । ।

परीक्षा समेत दिन पाएनन्

आन्दोलनकै कारण ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जमा अध्ययनरत विद्यार्थी समेत मारमा परे । स्नातकोत्तर तह प्रथमका १ सय पचास जना विद्यार्थी परिक्षा दिनबाट बञ्चित भएका क्याम्पसले जनाएको छ । निर्दोष विद्यार्थीको भविष्य अन्यौलमा परेको विद्यार्थी नेता दिलीपराज कार्की बताउँछन् । आन्दोलनका कारण क्याम्पसमा विद्यार्थीको समेत अभाव भएको छ ।

प्रकाशित मिति २०७२ पुस १२ गते

प्रतिक्रिया