८३ वर्षसम्म अंक ग्रेडिङ्मा चल्दै आएको कक्षा १० मा लिइने एसएलसी परीक्षाको नतिजा यस वर्षदेखि अक्षर ग्रेडिङ्मा बदलिएको छ । यसपाली एसएलसी दिने विद्यार्थीले आफ्नो लब्धांक पत्रमा अंकको साटो अक्षरमा आफ्नो मूल्यांकन पाउने छन् । वर्षौ अघि गर्नु पर्ने यो काम ढिलै भए पनि सुरुवात भएको छ र यो किन स्वागत योग्य कदम हो भने यसले कम्तीमा एसएलसीका कारण विद्यार्थीमा छाउने निरासपन, अपमानित मनोविज्ञान र आत्महत्याको सोचबाट जोगाउन प्रेरित गर्नेछ ।
अहिले सम्म विद्यालयको कुनै तहमा पनि यसको अभ्यास नगरी एकै पल्ट राष्ट्रिय परीक्षा मार्फत लागू गर्ने सरकारी निर्णयले भने शिक्षक, विद्यार्थी, अभिावक लगायत सरोकारवाला अन्यौलमा परेका छन् । अक्षर ग्रेडिङ्ले दुई खालको अन्यौल सिर्जना गरेको छ, एउटा नपढे पनि पास भइन्छ भन्ने र अर्को यसले सही मूल्यांकन गर्दैन भन्ने ।
दुवै अन्यौललाई चिर्न शिक्षा मन्त्रालयले माताहतका निकाय र सरोकारवालासित छलफल तत्काल थाल्नु पर्ने जरुरी देखिएको छ । प्रष्ट्याउने काम जति सक्दो छिटो भयो त्यसले लागू गर्न लागिएको नयाँ पद्दतीलाई थप मजबुद बनाउन सघाउने छ ।
तथ्यांक अनुसार संवत १९९० पछि अहिले सम्म नियमित तर्फ सहभागी ६२ लाख ४१ हजार २ सय ९० विद्यार्थी मध्ये २८ लाख ९ हजार ६ सय ४८ विद्यार्थी सित मात्रै पास भएको प्रमाणपत्र छ । आंशिक, पुरक र मौका परीक्षामा सहभागी समेतको तथ्यांक जोड्ने हो भने देशमा एसएलसी पासको संख्या करिब ३४ लाख देखिन्छ । यसरी हेर्दा नियमित तर्फ सहभागी भएका ३४ लाख ३१ हजार ६ सय ४२ विद्याथी एसएलसीमा असफलताको टीको लगाएर बसेका छन् । कुनै एक विषयमा अनुतीर्ण भएकाहरुले एसएलसी पास नभएकै कारण पाउनु पर्ने अवसरहरु गुमाएका छन् । अक्षर ग्रेडिंगले कम्तीमा यो बाधालाई फुकाएर विषय सक्षमहरुलाइ अवसर दिनेछ ।
विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी) मा उल्लेख भए अनुसार विद्यालयको तहगत ढाँचाको परिवर्तन घोषणासँगै कक्षा १० मा एसएलसी नरहने पक्का पक्की थियो र शिक्षा मन्त्रालयले कक्षा १० को एसएलसीलाई अक्षर ग्रेडिंगमा लाने कुरा सन् २००९ मै घोषणा गरेको हो । त्यसअघि माध्यमिक शिक्षा परियोजनाले पनि अक्षर ग्रेडिङ्का लागि मन्त्रालयलाई सिफारिस गरेको थियो । तर त्यसको आन्तरिक तयारी भने शून्यमा सीमित भयो । प्राथमिक तहदेखिनै गर्नु पर्ने निरन्तर मूल्यांकन गर्न शिक्षा मन्त्रालय चुक्यो । मन्त्रालयले यसबारे सरोकारवाला सित कहीँ कतै कहिल्यै चर्चा समेत गरेन । परिणाम अहिलेको अन्यौल सिर्जना भयो ।
विद्यालयको तल्लो तह देखिनै विद्यार्थीको निरन्तर मूल्यांकनको अभ्यास सुरु गर्नु पर्ने थियो, भएन । लागू गरिएको निरन्तर मूल्यांकन पद्दती (क्यास) लाई बुझाउन नसक्दा त्यो ‘भर्ना भए पास’ पारामा चलिरहेको छ । अक्षर ग्रेडिङ् यस्तै निरन्तर मूल्यांकनहरुको अन्तिम रुप हो भन्ने शिक्षा मन्त्रालय र यससित सम्बन्धित निकायले कहिल्यै बुझेनन् । त्यसैले यसवर्षको उत्तरपुस्तिका परीक्षणमा अक्षर ग्रेडिङ्का विशेषता कार्यान्वयन हुने छैनन् । उही पुरानै अंग ग्रेडिङ् शैलीमा उत्तर पुस्तिकाको परीक्षण हुनेछ र त्यही अंकलाई अक्षरमा बदलेर विद्यार्थीको ग्रेडिङ् गरिनेछ । किन भने अक्षर ग्रेडिङ्मा कम्तीमा ६० प्रतिशत मूल्यांकन विद्यालयले आन्तरिक रुपमा निरन्तर मूल्यांकनका आधारमा गरेको हुनु पर्छ । तीन घण्टाको परीक्षालाई आधार मानेर अक्षर ग्रेडिङ् गर्ने हो भने यो सरासर गलत काम हो । अक्षर ग्रेडिङ् लागू भएकाले तत्काल तल्ला तहहरुमा निरन्तर मूल्यांकन र अक्षर ग्रेडिङ्को सुरुवात अबको आवश्यकता हो । यसमा जति चुकिन्छ, कक्षा १० को एसएलसीको अक्षर ग्रेडिङ् अंकलाई अक्षरमा फेर्ने काम मात्रै हुन्छ । त्यसको कुनै अर्थ रहँदैन ।
शिक्षक, विद्यलाय सञ्चालक, अभिभावक र विद्यार्थीले बुझ्नै पर्ने कुरा के हो भने अक्षर ग्रेडिङ् फेल नहुने मूल्यांकन पद्दती होइन । त्यही तहमा पढ्नु नपर्ने तर न्यूनतम ग्रेड कायम हुँदा त्यस पछिको अध्ययनलाई निरन्तरता दिन त्यति सजिलो छैन । यो पद्दती विद्यार्थीको सिकाइ र क्षमतालाई मूल्यांकन गर्ने पद्दती हो । त्यसैले कमजोर नतिजाका विद्यार्थी कमजोर नै हुन्छन् । अब्बलले जस्तो अवसर पक्कै पनि उनीहरुले पाउँदैनन् । तल्लो तहमा ग्रेड गरिएका विद्यार्थीका लागि कस्तो साधारण शिक्षाको अवसर प्रदान गर्न सकिन्छ राज्यले सोचेकै छैन । अहिलेको अक्षर ग्रेडिङ्को निर्णय हतार र अलमल अलमल बीच आएको छ । अलमल नचिरे सम्म यसले विद्यार्थीको सही मूल्यांकन गर्न सक्दैन ।
अबको चुनौति भनेको निरन्तर मूल्यांकनकै हो । शिक्षकलाई निरन्तर मूल्यांकनमा प्रोत्साहित नगरेसम्म त्यो सम्भव छैन । निरन्तर मूल्यांकन गर्दा शिक्षकको सक्रियता बढी जरुरी हुन्छ जुन हाम्रा विद्यालय र शिक्षकमा देखिँदैन ।
लागू त भइनै सक्यो, अब यसलाई कसरी प्रभावकारी बनाउने तिर शिक्षा मन्त्रालय लाग्नु जरुरी छ । विद्यार्थीको सिकाइ र क्षमता मूल्यांकन गरी अक्षर ग्रेडिंगको मर्म कायम राख्नु अवको चुनौति हो । ग्रेडिङ् भने पनि हामी अझै अंकमै सोचिरहेका छौं । अंकमा सोचुञ्जेल अक्षर ग्रेडिङ्को कुनै अर्थ रहँदैन । बरु अलमल कायम रहन्छ ।
मन्त्रालयले अक्षर ग्रेडका लागि आवश्कय पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण र मूल्यांकन शैली सुधार गर्दै लानु जरुरी छ । त्यही अनुसार सारोकारवालाहरुलाई अभिमुखीकरण गर्नुलाई मन्त्रालयले आफ्ना दायित्व सम्झिनु पर्छ । मात्रै अंकको नतिजा अक्षरमा बदलेर त्यो अक्षर ग्रेडिङ् हुन सक्दैन ।
अक्षर ग्रेडिङ्ले जन्माएका हरेक प्रश्नको जवाफ मन्त्रालयले दिनु पर्छ । जसले गर्दा अक्षर ग्रेडिङ्को निर्णय प्रत्युत्पादक नहोस् भन्नेमा मन्त्रालय समयमै सचेत रहेर अहिलेका सबै भ्रम र अलमल चिर्नु जरुरी छ ।
तस्विर ईन्टरनेट
प्रकाशित मिति २०७२ पुस ८ गते
प्रतिक्रिया