Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

त्रिभुवन विश्वविद्यालयमा मनपरी सरुवा 

शुक्रबार, ०३ पुस २०७२

काठमाडौँ, ३ पुस । त्रिभुवन विश्वविद्यालयका रजिष्टार प्रा.डा.चन्द्रमणी पौडेलले आफ्नो कार्यकाल सकिएर विदा हुनै लाग्दा करिब एक दर्जन उच्च तहका कर्मचारीको मनपरी सरुवा गरेका छन् । उपकूलपति प्राडा तीर्थराज खनिया र रेक्टर प्रा गुणनीधि न्यौपानेको मिलेमतोमा कर्मचारीहरुको सरुवा गरिएको हो । 

कार्यकाल सकिन तीन दिन बाँकी रहदा रजिष्टार प्राडा पौडेलले सरुवाको सिफारिस गरेका हुन् । त्यसलगत्तै सरुवाको उपकूलपति  प्राडा खनियाले सरुवालाई सहमति दिएका थिए । रजिष्टार पौडेल र रेक्टर न्यौपानेको ४ बर्षे कार्यकाल गएको मंसिर २६ गते सकिएको थियो । कर्मचारी प्रशासनको प्रमुख रजिष्टार पौडेलले मनपरी सरुवा गरिएकोमा कर्मचारी रुष्ट भएका छन् ।

अधिकांश कर्मचारीले पदाधिकारीको कामप्रति असन्तुष्टि जनाएका छन् । त्रिवि पदाधिकारीले कर्मचारी प्रशासन महाशाखाका प्रमुख भोलाप्रसाद ढकाललाई सरुवा गरी सो महाशाखा प्रमुखमा बासुराज गिरीलाई ल्याएका छन् । 

गिरी रजिष्टार कार्यालयमा कार्यरत रहेका थिए । ढकाललाई कार्यकारी परिषदको सचिवमा सरुवा गरिएको छ ।  राजेन्द्रबहादुर श्रेष्ठलाई आर्थिक प्रशासन महाशाखाबाट निरिक्षण महाशाखामा, रामचन्द्र आचार्यलाई बजेट शाखाबाट आर्थिकमा, निर्मल मिश्रलाई कर्मचारी प्रशासन महाशाखाबाट चिकित्साशास्त्र अध्ययन संस्थामा सरुवा गरिएको छ। 

विष्णुप्रसाद अर्याललाई कर्मचारी कम्प्युटर युनिट, गोविन्द प्रधानलाई प्राज्ञिक परिषदको प्रमुखमा, केशव शर्मालाई चिकित्साशास्त्र अध्ययन संस्थानमा सरुवा गरिएको छ। 

(आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित समाचार)

 

प्रतिक्रिया