काठमाडौं - पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । मधेस प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारीमा रहँदा भएको खरीद प्रकृयामा अनियमतिता भएको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो ।
मधेश प्रदेशका ६४ वटा स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला (निदान केन्द्र) स्थापनाका लागि आर्थिक बर्ष २०७८/७९ मा भएको ठेक्कामा भ्रष्टाचार भएको अख्तियारको ठहर छ । तत्कालीन सचिव इमनारायण श्रेष्ठ सहित १४ जना र हस्पिटेक इण्टरप्राइजेज प्रालि उपर विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताएका छन् । श्रेष्ठ विरुद्ध विभिन्न चार थरी मुद्दा दायर गरिएको छ । जसमा १९ करोड ४६ लाख १३ हजार एक सय २० रूपैयाँ बराबरको बिगो दाबी गरिएको छ । सरकारी कर्मचारी विरुद्ध अख्तियारले मुद्दा दायर गर्ने वित्तिकै पद स्वतः निलम्बनमा पर्ने कानूनी व्यवस्था छ । सोही अनुसार श्रेष्ठ पनि स्वतः निलम्वनमा परेका छन् ।
गत बर्ष जेठबाट केन्द्रको महानिर्देशकका रुपमा कार्यरत श्रेष्ठ प्रदेशबाट सरुवा भएर आए पछि केही महिना खेलकुद मन्त्रालयमा थिए । खेलकुदबाट सरुवा भएर शिक्षा मन्त्रालयमा आएका श्रेष्ठ २०८१ बैशाख सम्म मन्त्रालयको योजना महाशाखा प्रमुख थिए ।
श्रेष्ठ २०७२ को भुकम्प पछि विद्यालयहरु पुर्ननिर्माण गर्न सरकारले शिक्षा मन्त्रालय अन्र्तगत बनाएको संरचना केन्द्रीय आयोजना कार्यान्वयन इकाइको प्रमुखका रुपमा लामो समय संलग्न थिए । उक्त इकाइले विभिन्न दातृ निकायहरुले विद्यालय पुर्ननिर्माण गर्न दिएको अनुदान रकम परिचालन गथ्र्यो ।
विशेष अदालतमा मुद्दा दायर गरे पछि अख्तियारले गरेको विज्ञप्ति
प्रेस विज्ञप्ति:- मिति २०८२।०१।१४ गते।
------------------------------------------
मधेस प्रदेश, धनुषा जिल्ला प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामबाट आ.व.२०७८/०७९ मा आह्वान गरिएको ठेक्का नं. PPHL२/G/NCB/0४/२0७८-७९ को Procurement of Supply, Delivery and Installation of Equipments and Reagents for Establishment of Pathology lab in Municipality अन्तर्गतको खरिद कार्यमा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आर्थिक वर्ष २०७८।०७९ मा मधेस प्रदेश, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामबाट मधेस प्रदेश स्थित ६४ वटा स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला (निदान केन्द्र) स्थापनाको लागि भएका खरिद सम्झौताहरु मध्ये Contract No: PPHL२/G/NCB/0४/२०७८-७९ को ठेक्कामा सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४, तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को बमोजिम खरिद कार्य गर्नु पुर्व तयारीको कार्य नगराई उक्त खरिद विधिको अध्ययन बिश्लेषण नगरी खरिद प्रयोजनार्थ बजेट माग गरी ६४ वटा पालिकाहरुमा बोलपत्र दाता हस्पिटेक इन्टरप्राइजेज प्रा.लि.का संचालक बिशाल पण्डितको मिलेमतोमा खरिद कार्य गरेको।
मधेश प्रदेश सरकारबाट प्रदेश निदान केन्द्र सञ्चालन गर्न रु.२५,३८,५३,१२०।- रकम स्वीकृत भएकोमा स्पष्ट आधार, कारण र औचित्यता विना एउटा कार्यक्रमलाई दुई वटा ठेक्कामा टुक्र्याई चार वटा मात्रै स्वास्थ्य परीक्षण सम्बन्धी उपकरणहरू Fully Automated Hematolgy Analyzer, Fully Automated Biochemistry Analyzer, Microscope र Reagents ठेक्का नं. PPHL२/G/NCB/0४/२०७८-७९ बाट भएको खरिद कार्यमा प्रयोगशालाको कर्मचारीको सिफारिसमा सामाजिक बिकास मन्त्रालयबाट बोलपत्र स्वीकृत भएको देखिएको। उक्त खरिद कार्यमा लागत अनुमान रू.१९,५९,८७,२००।- तयार गरेको। उक्त प्राविधिक स्पेशिफिकेशन तयार गर्दा बोलपत्रदाता हस्पिटेक इन्टरप्राइजेज प्रा.लि., तिनकुने, काठमाडौ, Mindray कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक (Sole Distributor) रहेको, उक्त ठेक्कामा हस्पिटेक इन्टरप्राइजेज प्रा.लि. तीनकुने, काठमाडौंले मात्र बोलपत्र सम्बन्धी कागजातसँग प्रयोगशालाले तयार गरेको Fully Automated Hematolgy Analyzer र Fully Automated Biochemistry Analyzer को प्राविधिक स्पेशिफिकेशन Mindray कम्पनीको Fully Automatic Biochemistry Analyzer, Model: Mindray BS-२३0, Fully Automatic ५ Part Hematology Analyzer Model: Mindray BC-५१५0 को प्राविधिक स्पेशिफिकेशनसँग हुबहु मिलेको देखिएको। हस्पिटेक इन्टरप्राइजेज प्रा.लि. कै प्राविधिक स्पेशिफिकेशन प्रयोग गरेर नै प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आपसी मिलेमतोमा स्पेशिफिकेशन तयार गरी प्रतिस्पर्धा सिमित गरेको देखिएको।
यसै गरी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले ठेक्का सम्झौता गर्ने हस्पिटेक इन्टरप्राइजेज प्रा.लि.का सञ्चालक विशाल पण्डितकी पत्नी सञ्चालक रहेको कस्तुरी ट्रेड लिंक प्रा.लि., काठमाडौं, ससुरा संस्थापक रहेको मेडी सोलुसन इन्टरनेशनल प्रा.लि., काठमाण्डौ र दाजुले बिक्री गरेको लाइफलाइन ट्रेड इन्टरनेशनल प्रा.लि., ललितपुरसँग दररेट लिई केही रकम मात्र फरक पारी, लागत अनुमान तयार गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामले बोलपत्रदाता हस्पिटेक इन्टरप्राइजेज प्रा.लि.का सञ्चालक विशाल पण्डितसँगको मिलेमतोमा गैरकानूनी लाभ उठाउने बदनियतले पूर्व नियोजित योजना बमोजिम नै एउटै परिवार वा नातेदारहरु कै फर्मबाट दररेट लिएको देखिंदा Conflict of Interest भएको।
बोलपत्रदाता हस्पिटेक इन्टरप्राइजेज प्रा.लि.ले बोलपत्रको सूचना आह्वान गर्नु भन्दा पहिले नै १२ May, २0२२ अर्थात् वि.सं. २०७९।१।२९ गते नै Global (HK) Limited सँग ६४ थान Auto Chemistry Analyzer र Auto Hematology Analyzer खरिदको लागि अर्डर गरेर मिति २0७९।३।२0 मा नेपालमा पैठारी भइसकेको पाइएको। प्रयोगशालाले बोलपत्र आह्वान गरेको सङ्ख्या बराबरको परिमाणको उपकरण पैठारी भएको गरेको देखिएबाट बोलपत्रदातालाई बोलपत्रको सूचना प्रकाशन हुनु पूर्वदेखि नै के-कुन पारिमाणमा के-कुन उपकरण खरिद गर्नुपर्ने भइरहेको भन्नेसमेत जानकारी खरिद तथा आपूर्तिमा सम्लग्न व्यक्तिहरु बीच पहिलेनै सूचना आदान प्रदान भएको र प्रयोगशालाले खरिद कार्यको सुरुवातबाट नै बोलपत्रदातासँग मिलेमतो गरी नियोजित तवरले सूचना प्रकाशन गरेको तथ्यबाट पुष्टि भएको।
तत्कालीन समयमा कुनै विशेष परिस्थिति नहुँदा नहुँदै गैरकानूनी लाभ लिन सार्वजनिक खरिद ऐन र नियमावलीको विशेष परिस्थिति सम्बन्धी कानूनी प्रावधानको चरम दुरुपयोग गरी खरिद कार्यमा बदनियत राखी गलत आधार देखाई ३० दिने म्यादलाई १५ दिनको म्याद राखी बोलपत्रको सूचना प्रकाशन गरेको, बोलपत्रदाताले मिति २०७९/०१/२९ गते नै प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट माग गरे बमोजिमको सङ्ख्या (६४/६४) मा नै खरिद गर्न अर्डर दिई आपूर्ति गर्न तयारी अवस्थामा बसेको पाइएको, यसरी बोलपत्र सम्बन्धी कागजातमा ५ दिन भित्र सामान उपलब्ध गराउनु पर्ने प्रावधान राखेको देखिएकोले खरिद प्रक्रियामा अन्य फर्महरुलाई सहभागी हुन नदिने र बोलपत्रमा उल्लिखित बमोजिमको उपकरणहरू पैठारीको लागि तयार भइसकेको हस्पिटेक इन्टरप्राइजेज प्रा.लि.लाई नै अनुकुल हुने गरी मिति २०७९/०२/२३ बोलपत्र पेस गर्न बदनियतपूर्ण सूचना आह्वान गरेको।
कोभिड-१९ र मंकिपक्सको कारण देखाई विशेष परिस्थितिको खरिद गर्नुपर्ने भनी सूचनाको म्याद छोट्याई बोलपत्र सम्बन्धी कागजातमा Delivery And Completion Schedule मा Delivery Date: Within ५ days of Agreement उल्लेख भएको। यसरी अत्यन्तै छोटो समय अर्थात् ५ दिन भित्रमा किटानी तवरमा कुन पालिकामा जडान र सञ्चालन गर्ने भनी पालिकाहरूको नाम नै सुनुश्चित नभएको, ६४ वटा पालिका स्थित प्रदेश निदान केन्द्रमा Supply, Delivery and Installation गर्न सक्ने सप्लायरले मात्र ठेक्का प्राप्त गर्ने अवस्था सृजना हुने मनसायले छोटो समयमा मालसामान आपूर्ति गर्नसक्ने फर्मले मात्र सहभागि हुन सक्ने गरी न्यून रकम मात्र फरक पारी बोलपत्र कागजात तयार गरी गराई खरिद प्रक्रियाको प्रतिस्पर्धामा संकुचन गरेको तर उक्त ठेक्कामा ३ (तीन) दिनभित्रमा कार्य सम्पन्न गर्ने गरी प्रयोगशाला र बोलपत्रदाता हस्पिटेक इन्टरप्राइजेज प्रा.लि. बीच सम्झौता भएको। उक्त सम्झौतामा प्राविधिक स्पेसिफिकेशनमा Supplier Must Accomplish Proper Installation And Commission Of The Equipment On The Site भनी स्पष्ट उल्लेख भएपनि प्रयोगशालाले Supply, Delivery, Installation and Commissioning भएको भनी भुक्तानी सिफारिस गरिएको।तर, प्रदेश निदान केन्द्र स्थापना भएका स्थानीय तहको दाखिला प्रतिवेदन हेर्दा मिति २0७९/0८/१८ गते पूर्व कुनै पनि स्थानीय तहमा उक्त उपकरणहरू दाखिला भएको नपाइएको भनी महालेखापरिक्षकको प्रतिवेदन उल्लेख भएको। तीन दिन भित्र Installation भएको होइन भन्ने बिषयमा अनुसन्धानबाट Random Sampling को विधिबाट भुक्तानी गरेको तर Installation बाँकी रहेको बिषयमा उक्त ठेक्काको सम्झौता बमोजिम User Training र Installation & Commissioning को जिम्मेवारी समेत रहेको प्रयोगशालाका निर्देशक र वरिष्ठ ल्याव अधिकृतले Post Delivery Inspection प्रतिवेदन पेस गरेको पाइएको र सोही प्रतिवेदनका आधारमा बोलपत्र मूल्याङ्कन समितिले अगाडि प्रक्रियाका लागि सिफारिस गरी कार्य सम्पन्न नहुँदै मिति २०७९।०३।२४ को रु.१९,४६,१३,१२०।- तीन दिनमा भुक्तानी गरेको।
आयोगको स्थलगत अनुगमन तथा निरीक्षणको क्रममा प्राय: सम्पूर्ण प्रयोगशालाहरूमा औसतमा दैनिक ४-५ जना बिरामी मात्र परीक्षणका लागि आउने गरेको, आउने बिरामी समेतले CBC, Glucose test जस्ता अत्यन्त सामान्य परीक्षण मात्र गराउने गरेको देखिएको र जडान भएका उपकरणहरू हप्तामा १ पटक मात्र सञ्चालन गर्ने गरेको, प्राय सम्पूर्ण प्रयोगशालाहरूमा रिएजेन्टहरू म्याद गुज्रिसकेको अवस्थामा रहेको तर जनस्वास्थ्य प्रयोगशालाबाट मौखिक आदेश बमोजिम तीनै म्याद गुज्रिसकेका रिएजेन्टहरूको प्रयोग गरी नमूना परीक्षण गरी नतिजा दिइरहेको पाइएको। अधिकांश प्रयोगशालामा उपलब्ध गराइएका उपकरण पूर्णरूपमा प्रयोगमा नआई भण्डारण मात्र भएको देखिन आएकोले आवश्यकता पहिचान नगरी खरिद प्रक्रिया सम्पन्न गरिएको देखिएको। खरिद गरिएका Fully Automatic Biochemistry Analyzer, Mindray BS-२३० को नमुना परीक्षण क्षमता Up to २00 tests/hour, up to ४00 tests/hour with ISE र Fully Automatic ५ Part Hematology Analyzer, Mindray, BC-५१५० को नमुना परीक्षण क्षमता ६० samples per hour रहेकोमा कुनै पनि प्रयोगशालामा दैनिक बढीमा १० जना भन्दा बढी बिरामी नहुने हुँदा हाल खरिद गरिएको भन्दा कम क्षमताको उपकरणहरु खरिद गर्दा उपयुक्त हुने भएपनि त्यसको विपरीत आवश्यकता र कारण पुष्टि नहुने गरी अस्वभाविक रुपमा अधिक सङ्ख्यामा उपकरणहरु खरिद भएको साथै खरिद गरिएको भन्दा कम क्षमताका उपकरणहरु खरिद गरी वितरण गरिएको भए हाल खरिद गरेको उपकरणले गर्ने बमोजिमकै काम गर्नुपर्नेमा बढी खर्च गरी गराइ प्रतिवादीहरुले आफूहरुलाई गैरकानूनी लाभ तथा नेपाल सरकार/प्रदेश सरकार/सार्वजनिक संस्थालाई गैरकानूनी हानी पुर्याउने वदनियत राखी गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ८ को उपदफा (१) को देहाय (क), (च) र (ञ), दफा १९ को उपदफा (२) र सोही ऐनको दफा २४ बमोजिम थप सजाय हुने समेतको कसूर भएको हुँदा निज प्रतिवादीहरुलाई विगो रु.१९,४६,१३,१२०।- कायम गरी देहाय बमोजिमको सजायको मागदावी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ। क्रमश...
प्रवक्ता
राजेन्द्र कुमार पौडेल
प्रतिक्रिया