Edukhabar
शुक्रबार, १२ बैशाख २०८२
गतिविधि

शिक्षक सडक प्रर्दशनले ‘नछोएको’ भक्तपुर

यी सामुदायिक विद्यालय र शिक्षक जोे ‘नियमितको व्यस्तता’ मा छन्, कक्षामा छन्, विद्यार्थीसँगै छन्

शुक्रबार, १२ बैशाख २०८२

भक्तपुर - काठमाडौंको सडकमा देशभरबाट आएका शिक्षकहरु वैशाखको टण्टलापुर घाममा मुठ्ठी कसेर नारा लगाइरहेका छन् ! 

काठमाडौंबाट करिब १४ किलोमिटर पूर्व रहेको भक्तपुरका शिक्षकहरु भने कक्षाकोठामा अध्यापनरत छन् । उनीहरु विद्यार्थी भर्ना अभियानको घरदैलोमा व्यस्त छन् । 

कोही शिक्षकहरु विद्यालय आएका अभिभावकसँग परामर्श गर्न, विद्यार्थीलाई सम्झाउन र उनीहरुको नाम दर्ता गर्न व्यस्त छन् भने कोही शिक्षकहरु अन्य समयमा जस्तै कक्षाकोठामा जान व्यस्त छन् । भक्तपुरका शिक्षकहरुको यो ‘नियमितको व्यस्तता’ हेर्दा लाग्छ, उनीहरुलाई २४ दिन देखि काठमाडौंको सडकमा जारी प्रर्दशनको तातोले स्पर्श समेत गरेको छैन !

‘हाम्रा केही सहकर्मीहरु आन्दोलनमा छन्, तर हामी त्यहाँ गएका छैनौं’, भक्तपुरको भार्वाचोस्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशराम थुसाले भने ।

नेपाल मजदुर किसान पार्टीनिकट नेपाल क्रान्तिकारी शिक्षक संघमा आवद्ध उनी नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौं केन्द्रीत सडक प्रर्दशनको विपक्षमा नरहे पनि त्यसमा सहभागी नभएको सुनाउँछन् ।

‘पेशागत हकहितका विषयमा व्यक्तिगत र संगठनको हिसाबले ऐक्यवद्धता भए पनि महासंघले संघीयता र संविधान विरुद्ध बोकेका मुद्धाहरुमा सहमत हुन सकिने अवस्था छैन’ उनले भने, ‘फेरि नयाँ शैक्षिक सत्रको सुरुवातमा विद्यालय नै बन्द गरी गरिएको आन्दोलनको तरिका ठीक छैन ।’

उनकै लाइनमा छन्, भक्तपुर नगरपालिकामा रहेका सबै विद्यालयहरु । हाल सो नगरपालिकामा ३६ वटा सामुदायिक विद्यालय रहेका छन् । ती विद्यालयहरुमध्ये नेपाल क्रान्तिकारी शिक्षक समर्थित शिक्षकको नेतृत्व र बाहुल्यता भएका विद्यालयहरु एक दिन पनि बन्द छैनन् । पालिकामा रहेका एकाध विद्यालयका शिक्षकहरु बिदा मिलाएर सडक प्रर्दशनमा सहभागी भए पनि विद्यालय बन्द नगरेको विद्यालयका प्रधानाध्यापकहरुको भनाइ छ ।

भेलुखेलको आदर्श आजाद माध्यमिक विद्यालयका प्रधानाध्यापक चक्रबहादुर चाकतुले शिक्षकले आफ्नो अधिकार मागिरहँदा विद्यार्थीको हकलाई पनि ख्याल गर्नुपर्ने भन्दै महासंघले विद्यालय बन्द गर्ने उर्दी जारी गरी विद्यार्थीको पढ्न पाउने हक बञ्चित गर्न खोजेको बताए । उनले महासंघको उक्त उर्दीले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको हक खोसिएको कारण आफूहरु आन्दोलनमा सहभागी नभएर विद्यार्थी भर्ना अभियानमा लागेको बताए ।

‘सामुदायिक विद्यालय बन्द हुने तर संस्थागत (निजी) विद्यालय बन्द नहुने गरी आन्दोलन गर्दा त्यसको घाटा निजीलाई नभई सामुदायिकलाई नै हुन्छ’, उनले भने, ‘अहिलेको आन्दोलनले सामुदायिक विद्यालयको विकास हैन, विनास भए, आन्दोलनकै कारण विद्यार्थी घटे भने त्यसको दूरगामी असर पर्छ’, विद्यालय बन्द नगर्नुको कारण उनले खुलाए ।

उनले विद्यालय बन्द गरी गरिने सडक प्रर्दशनले सामुदायिक विद्यालयको छवि नकारात्मक बन्ने उल्लेख गर्दै भने, ‘हामीले विद्यालय बन्द गरेका छैनौं, हाम्रो छिमेकी जिल्ला काभ्रेका विद्यालय बन्द छन्, त्यही भएर त्यहाँको एक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष नै आएर आफ्ना सन्तानलाई यहाँ भर्ना गरेर जानुभयो ।’

उनले विव्यस अध्यक्षकै सन्तानलाई आफ्नो विद्यालयमा भर्ना गर्नुको कारण खोज्दा आफूलाई उनले आफू अध्यक्ष भएको विद्यालयका शिक्षकहरु विद्यालय बन्द गरी सडक प्रर्दशनमा जान तयार तर पढाउन तयार नभएपछि विद्यालय फेरेको सुनाएको बताए । उनले उक्त विद्यालय र विव्यस अध्यक्षको नाम भने खुलाएनन् ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पनि नयाँ विद्यार्थी भर्ना, कक्षा सञ्चालन, एसईईको परीक्षा कापी परीक्षण, कक्षा १२ को परीक्षा प्रभावित हुने गरी अनिश्चितकालीन विद्यालय हड्तालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर बनाउने बताउँदै शिक्षक महासंघको नतृत्वमा जारी सडक प्रर्दशनमा सरिक नहुन सार्वजनिक रुपमै निर्देशन दिइसकेका छन् ।

‘१० वर्षे सशस्त्र सङ्घर्षको बेला पनि भक्तपुरका विद्यालयहरू बन्द भएनन्, विद्यालय बन्दले निजी विद्यालयहरूलाई फाइदा गर्छ । यसबाट सचेत हुनुपर्छ’ उनले भने, ‘आफ्नो पेसागत हितको निम्ति आन्दोलन गर्नु नराम्रो होइन तर त्यसले लाखौँ विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने छुट कसैलाई छैन ।’

नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले शिक्षक महासङ्घको आयोजनामा काठमाडौँ केन्द्रित सडक प्रर्दशनप्रति केही विषयमा विमति जनाउँदै आएको बताए ।

‘शिक्षा ऐन मागेर स्थानीय पालिका अन्तर्गत शिक्षकहरू नबस्ने भन्नु संविधानको भावनाविपरीत रहेको र जिल्ला शिक्षा कार्यालय ब्युँताउन चाहनु सङ्घीय भावना विपरीत हो,’ उनले भने, ‘शिक्षामा व्यापारीकरण विकृति हो, त्यसलाई हटाउन शिक्षामा कम्पनी ऐनको प्रावधान खारेज गर्नैैपर्छ ।’

भक्तपुर नगरपालिकाभित्रका विद्यालयको अवस्था यो हुँदा जिल्लाका चाँगुनारायण नगरपालिका, सूर्यविनायक र मध्यपुर थिमि नगरपालिकाका विद्यालय भने आंशिक प्रभाव परेको छ ।

समाचार चैं नलेख्नुस् है !

विहान ९ः ४५ बजेको समय । भक्तपुरको एक विद्यालयमा पुग्दा, विद्यालयका प्रधानाध्यापक आफ्नो कार्यकक्षमा रहेर फाइलहरु मिलाउँदै थिए । उनीसँग भलाकुसारी गर्दा उक्त फाइल भूकम्पपछिको पूननिर्माण भएको विद्यालयको फाइल भन्ने थाहा लाग्यो ।

उनको कार्यकक्षबाटै विद्यार्थीको उपस्थिति गुड मर्निङ् सर÷सिम) को आवाज सुनियो । शिक्षकहरुको पनि आवाज (नमस्ते मिस/सर) सुनियो ।

सोही कार्यकक्षमा फाइल मिलाउँदै गरेका शिक्षकलाई सोधेँ, ‘सर, आन्दोलनले छोएन ?’ 

प्रश्नसँगै झस्किएका उनले पहिला कार्यकक्ष छिर्ने ढोकातिर नजर लगाए अनि भने, ‘छोएको छ भन्ने कि नभन्ने ? छोयो भनौं, आन्दोलनमा गएको छैन, छोएको छैन भनौं, तपाईंले देखिहाल्नु भयो ।’

त्यसैमा उनले थपे, ‘तर तपाईंले फोटो, भिडियो नखिच्नु होला, केही कुरा रेकर्ड नगर्नु होला, हामीलाई गाह्रो छ ।’

उनलाई गाह्रो हुनुको कारण पनि उनले खुलाए, ‘स्कुल खोलेका छौं भनौं, महासंघको, संघसंगठनका नेताहरुको फोन आउँछ, नखोलौं एकातिर बच्चा घट्ला भन्ने पीर, अभिभावकले किन स्कुल नखोलेको भनेर गाली ।’

नाम, स्कूल, फोटो र भिडियो सार्वजनिक नगर्ने सर्त सहित माथिको बाध्यता सुनाएका एक प्रधानाध्यापकको जस्तै मानसिकतामा अहिले भक्तपुर नगरपालिका बाहेकका चाँगुनारायण, सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकाका विद्यालयका प्रधानाध्यापकहरुको छ ।

कुनै, कुनै विद्यालयका प्रधानाध्यापकहरुले रुटिन मिलाएर कक्षा सञ्चालन गरिरहेका छन् । एक विद्यालयका प्रधानाध्यापकले भने, ‘अहिले त हामी दोहोरो दौडाहामा छौं, यता प्यारेण्टस्लाई नि अनुहार देखाउनुपर्यो, उता पनि...।’

उनीहरुले विद्यालय नखोल्दा नैतिक प्रश्न उठेको महशुस गरेको बताए । ‘आन्दोलनअघि घरदैलो गरी अभिभावकसामु गरेका प्रतिवद्धता पूरा गर्ने समयमा विद्यालय बन्द गर्नुपर्दा हामीप्रतिको विश्वास घट्छ, यसैले हामीले महासंघसँग लुकीलुकी भए पनि स्कुल खोलिरहेका छौँ ।’

त्यसरी डरमर्दो अवस्थामा विद्यालय सञ्चालन गरिरहेका प्रधानाध्यापकहरुले विद्यालय खुलेका गतिविधिहरु सामाजिक सञ्जालमा सार्वजनिक नगर्न समकक्षीहरुलाई निर्देशन दिएका र अभिभावकलाई अनुरोध गरेको पनि जानकारी दिए ।

केही विद्यालय भने अहिले पनि पूर्ण रुपमा खुलेका छैनन् । त्यसरी नखुलेका विद्यालयका प्रधानाध्यापकहरुले अहिले बन्द भएको पठनपाठनलाई गर्मी बिदा र हिँउँदे बिदामा मिलाउने जनाएका छन् ।

भक्तपुरको चाँगुनारायणमा ३९ वटा, सूर्यविनायकमा ३४ र मध्यपुरथिमि नगरपालिकामा १८ सामुदायिक विद्यालय छन् ।

चैत २० गते देखि शिक्षकहरुको काठमाडौं केन्द्रित सडक प्रर्दशन र २५ गतेबाट शुरु शैक्षिक हड्तालका कारण नयाँ शैक्षिक सत्रसँगै शुरु हने भर्ना अभियान लगायतका शैक्षिक गतिविधि ठप्प छन् । देशभरका सामुदायिक विद्यालय बन्द छन्, कक्षा १२ को परीक्षा नै स्थगित गर्नु परेको छ । दुई साता अघि नै शुरु हुनु पर्ने कक्षा १० को अन्तिम परीक्षाको कापी परीक्षणको काम अहिले सम्म शुरु हुन सकेको छैन । लामो समय विद्यालय बन्द हुँदा विभिन्न् पालिका र विद्यालय व्यवस्थापन समितिहरुले विद्यालय खोल्न तथा शैक्षिक गतिविधि निरन्तर राख्न् दबाब दिदैं आएका छन् । 

यो पनि पढ्नुहोस् : 

शिक्षक विनै तीन दिने भर्ना अभियान शुरु

शिक्षक आन्दोलनमा, पठनपाठन नियमित गर्न विद्यार्थीको हारगुहार

सडक प्रर्दशनमा सहभागी शिक्षक कर्मचारीले तलब नपाउने !

स्थानीय सरकारका अघिल्तिर आएको क्षमता देखाउने अवसर

प्रतिक्रिया