काठमाडौं - नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तले वार्ता प्रति वेवास्ता गर्दै २३ दिन देखि सडक प्रर्दशनरत शिक्षकको समस्या वार्ताबाटै समाधान गर्ने बताएका छन् । विहीबार पदभार ग्रहण गरे पछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिकृया दिदैं उनले वार्ताबाटै समस्या समाधान गर्ने बताएका हुन् ।
'वार्ताबाट समाधान गर्न प्रयत्न गर्छु सम्पूर्ण ध्यान त्यसमा केन्द्रित हुने छ' उनले भने 'अहिले भन्ने कुरा यत्ति नै हो धन्यवाद'
यस अघि प्रर्दशनको भोलि पल्टै शिक्षा मन्त्रालयले शिक्षकहरुलाई सम्वादका लागि आह्वान गरेको थियो । तर, शिक्षकहरुले वार्ता अस्विकार गरे । त्यस पछि पनि एक पटक मन्त्रालयले सार्वजनिक रुपमा र अर्को पटक शिक्षा सचिव डा. दिपक काफ्लेले औपचारिक पत्र पठाएर वार्ताको आह्वान गर्दा पनि शिक्षक नेताहरुले टेरेका थिएनन् । बरु उनीहरु प्रधानमन्त्रीसँग सिधै वार्तामा बसे पछि अवस्था बदलिएका थियो । आफूले बोलाएको वार्तामा नआएर 'बाईपास' गरेको भन्दै तत्कालिन मन्त्री विद्या भट्टराईले गुनासो गरेकी थिईन् ।
भट्टराईलाई वार्ताका लागि नटेरेका शिक्षक नेताहरुसँग वार्ता गरेरै समस्या समाधान गर्ने नयाँ मन्त्रीले रोडम्याप अघि सारेका हुन् ।
समस्याको समाधानका लागि वार्तामा बस्नु पर्ने आम शिक्षकको मत छ ।
पढ्नुहोस् : सडकमा शिक्षक : वार्तामा बस्नु पर्ने मत बलियो
तर, शिक्षक नेतृत्वले शिक्षा मन्त्रालयलाई वाईपास गर्दै सिधै प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।
पढ्नुहोस् : ऐन निर्माणको प्रकृया छिटो पुरा गर्ने ओलीको कुरा सुनेर निस्के शिक्षक नेता !
त्यस पछि पछि विषय पेचिलो भएको छ ।
मन्त्रालयमा बुझ्नु पर्ने धेरै कुरा बाँकी रहेको बताउँदै पन्तले अहिले बोल्ने भन्दा काम गर्ने समय भएको भन्दै सञ्चारकर्मीका धेरै प्रश्नको उत्तर नदिई कुर्चिबाट उठेका थिए ।
'भर्खर त मन्त्रालयमा प्रवेश गरेको छु यो समस्याका बारेमा जानकार त छु तर सबै विषयमा राम्ररी जानकारी लिएको छैन, त्यस बारेमा राम्ररी जानकारी लिनु अघि मैले बोल्नु त्यति उपयुत्त हुँदैन' उनले भने, 'यो विषयमा जानकारी लिउँ, भईरहेका प्रयत्नका बारेमा सबै बुझौं त्यसपछि आफ्नो विचार विस्तारै व्यक्त गरौंला अहिले बोल्ने भन्दा काम गर्ने समय हो ।'
यत्ति बोलेर उठेका पन्तलाई सञ्चारकर्मीले फोटो खिच्न आग्रह गरे पछि उनी केही बेर कुर्चिमा बसेर मन्त्रालयको बैठक कक्षमा रहेका कर्मचारीलाई सम्बोधन गर्न गएका थिए ।
नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौंमा जारी सडक प्रर्दशनको २३ एवं तत्कालिन शिक्षा मन्त्री विद्या भट्टराईले राजिनामा दिएको चौथो दिनमा पन्त शिक्षा मन्त्रालय भित्रिएका छन् ।
कार्यालय समय सकिन लाग्दा मन्त्रालयमा प्रवेश गरेका उनले सचिव काफ्लेले पेश गरेको मन्त्रालयको आन्तरिक नियन्त्रण व्यवस्थापन प्रणालीलाई व्यवस्थित गर्न आवश्यक कार्यविधि निर्माण गर्ने टिम गठनको फाईल सदर गरेर कार्यभार सम्हालेका थिए ।
मन्त्रालयका सिनियर सहसचिवको नेतृत्वमा मन्त्रालयकै विभिन्न विषयसँग सम्बन्धित पदाधिकारी सदस्य रहेको कार्य समिति गठन गर्ने सचिवले ब्रिफिङ् गर्दै गर्दा पन्तले ति सदस्यहरु खोजेका थिए । तर सबै जना बैठक कक्षमा रहेको भन्दै काफ्लेले मन्त्रीलाई उतै जान आग्रह गरे । त्यो समितिले १५ दिन भित्र मन्त्रीलाई प्रतिवेदन पेश गर्ने अवधि तोकिएको छ ।
एमाले सांसद पन्तलाई प्रधानमन्त्री केपी ओलीको सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री नियुक्त गरेका थिए । यस अघि बिहीबारै दिउँसो राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले उनलाई सपथ खुवाएका थिए ।
सपथ लगत्तै उनी सिंहदरबार आएर पदभार ग्रहण गरेका हुन् ।
पत्रकारिता पृष्ठभूमिका पन्त एमालेका समानुपातिक सांसद हुन् । प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनलाई एमालेले खस आर्य समुदायबाट समानुपातिक सूचीमा राखेको थियो । शिक्षाका विषयवस्तु एवं यस क्षेत्रमा खासै नदेखिएका पन्तसँग, यस अघि श्रममन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव भने छ । उनी २०६१ सालमा शेरबहादुर देउवाको मन्त्रीमण्डलमा श्रममन्त्री भिए ।
तत्कालिन नेकपामा ध्रुविकरण हुँदा उनी माधवकुमार नेपालको पक्षमा थिए । दल भित्रको चरम विवादमा माधव नेपालले नयाँ दल बनाउँदा उनी अन्तिम समयमा नेपाललाई 'धोका' दिएर एमालेकै बसेका थिए ।
चैत २० गते देखि सडक प्रर्दशनमा उत्रिएका शिक्षकहरुको माग पुरा गर्न तयार पारेको आफ्नो प्रस्तावमा प्रधानमन्त्री ओली र अर्थ मन्त्री विष्णु पौडेलले सहमती नजनाए पछि भट्टराईले राजिनामा गरेकी थिईन् । अब पन्तले भट्टराईकै योजनालाई अघि बढाउँछन् कि नयाँ शैलीमा अहिलेको शैक्षिक गतिरोध अन्त्य गर्छन् त्यो भने समयसँगै प्रष्ट हुने छ ।
चैत २० गते देखि शिक्षकहरुको काठमाडौं केन्द्रित सडक प्रर्दशन र २५ गतेबाट शुरु शैक्षिक हड्तालका कारण नयाँ शैक्षिक सत्रसँगै शुरु हने भर्ना अभियान लगायतका शैक्षिक गतिविधि ठप्प छन् । देशभरका सामुदायिक विद्यालय बन्द छन्, कक्षा १२ को परीक्षा नै स्थगित गर्नु परेको छ । दुई साता अघि नै शुरु हुनु पर्ने कक्षा १० को अन्तिम परीक्षाको कापी परीक्षणको काम अहिले सम्म शुरु हुन सकेको छैन ।
प्रतिक्रिया