Edukhabar
विहीबार, ११ बैशाख २०८२
गतिविधि

नयाँ शिक्षा मन्त्री पन्तले लिए सपथ

विहीबार, ११ बैशाख २०८२
फोटो : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं - नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सपथ खुवाएका हुन् । 

तत्कालिन शिक्षा मन्त्री विद्या भट्टराईले राजिनामा दिएको तेश्रो दिनमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा एमालेका सांसद पन्तलाई बुधबार राष्ट्रपतिले शिक्षा मन्त्री नियुक्त गरेका थिए । 

वृत्ति विकास र विभिन्न पेशागत माग सहित शिक्षकहरुको काठमाडौं केन्द्रित सडक प्रर्दशनकै बिचमा शिक्षा मन्त्रालयमा पन्तको 'ईण्ट्रि' भएको छ ।  उनका अघिल्तिर शिक्षक आन्दोलनको निकाश सहित शैक्षिक सत्र नियमित गर्नु पर्ने चुनौती छ । 

चैत २० गते देखि सडक प्रर्दशनमा उत्रिएका शिक्षकहरुको माग पुरा गर्न तयार पारेको आफ्नो प्रस्तावमा प्रधानमन्त्री ओली र अर्थ मन्त्री विष्णु पौडेलले सहमती नजनाए पछि भट्टराईले राजिनामा गरेकी थिईन् । अब पन्तले भट्टराईकै योजनालाई अघि बढाउँछन् कि नयाँ शैलीमा अहिलेको शैक्षिक गतिरोध अन्त्य गर्छन् त्यो भने समयसँगै प्रष्ट हुने छ । 

पत्रकारिता पृष्ठभूमिका पन्त एमालेका समानुपातिक सांसद हुन् ।  प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनलाई एमालेले खस आर्य समुदायबाट समानुपातिक सूचीमा राखेको थियो । शिक्षाका विषयवस्तु एवं यस क्षेत्रमा खासै नदेखिएका पन्तसँग, यस अघि श्रममन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव भने छ । उनी २०६१ सालमा शेरबहादुर देउवाको मन्त्रीमण्डलमा श्रममन्त्री भिए । 

 

प्रतिक्रिया