स्याङ्जा - शिक्षकहरु काठमाडौं केन्द्रित सडक प्रर्दशनमा सहभागी भएका कारण शैक्षिक गतिविधि ठप्प भए पछि हरिनास गाउँपालिकाले यस अवधिभरको तलब निकासा नगर्ने भएको छ । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षक चैत २० गते देखि काठमाडौं केन्द्रित सडक प्रर्दशनमा छन् । उनीहरुले चैत २५ गते देखि शैक्षिक हड्ताल आह्वान गर्दा देशभरका सामुदायिक विद्यालय ठप्प छन् ।
विद्यालय खोली पठनपाठन गर्न आग्रह गर्दै पालिका अध्यक्ष खिम नारायण मानन्धरले गाउँपालिका भरका विद्यालयहरुका शिक्षक कर्मचारी तथा बाल विकास शिक्षकहरुको विद्यालयमा पढाई भएको दिनदेखिको मात्रै तलब निकासा गरिने बताएका छन् ।
'नेपाल भरका शिक्षकहरुले विभिन्न माग राखि आन्दोलनमा रहेको कुरा सर्वविदितै छ, हरिनास गाउँपालिका भरका विद्यालयहरुका शिक्षक कर्मचारी तथा बाल शिक्षकहरुको विद्यालयमा पढाई भएको दिन देखिको मात्रै तलब निकासा हुने सम्पूर्णमा अनुरोध छ' पालिकाभरीका सबै सामुदायिक विद्यालयलाई सम्बोधन गर्दै अध्यक्ष मानन्धरद्वारा जारी सूचनामा भनिएको छ ।
पालिका भित्रका विद्यालयहरुमा कार्यरत शिक्षक कर्मचारीका लागि त्रैमासिक रुपमा झण्डै साढे तीन करोड रुपैंया तलब भत्तामा खर्च हुँदै आएको पालिका शिक्षा शाखा अधिकृत राजिव सुवर्णकरले जानकारी दिए । शिक्षक कर्मचारीले गत चैत सम्मको तलब बुझेका छन् ।
पालिकामा ३१ वटा सामुदायिक विद्यालय छन् । त्यस मध्ये नौ वटा माध्यमिक, तीनवटा एक आठका आधारभूत र बाँकी एक पाँचका आधारभूत छन् । ३२ जना बालविकास सहजकर्ता सहित दुई सय ९७ जना शिक्षक कर्मचारी रहेको पालिका शिक्षा शाखासँग तथ्याँक छ । यी विद्यालयहरु मध्ये आधारभूत तहको एक पाँचमा एक सय ४६, छ आठमा ३८, आठ १० मा ३७, ११, १२ मा ११ र अन्य ३३ जना छन् । यी विद्यालयहरुमा ६२ जना कर्मचारी कार्यरत छन् । पालिकाभरका सामुदायिक विद्यालयमा दुई हजार चार सय ३७ विद्यार्थी अध्ययनरत रहेको सुवर्णकरले बताए ।
पालिकामा आधारभूत तहका चारवटा निजी विद्यालय छन् । जहाँ लगभग चार सय विद्यार्थी अध्ययनरत रहेको पालिकासँग तथ्याँक छ । ती विद्यालयहरुमा नयाँ शैक्षिक सत्रको पढाई शुरु भए पनि सामुदायिक विद्यालयहरु ठप्प छन् ।
यो पनि पढ्नुहोस् : स्थानीय सरकारका अघिल्तिर आएको क्षमता देखाउने अवसर
प्रतिक्रिया