काठमाडौं - कक्षा १२ को परीक्षा केन्द्राध्यक्षका लागि आयोजित अभिमुखिकरण ओरेण्टेशन कार्यक्रमको सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले अवज्ञा गरेका छन् । जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाइ ललितपुरले केन्द्राध्यक्षको (ओरेण्टेशन) मंगलबार आयोजना गरेको थियो । उक्त ओरेण्टेशनमा सबै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई बोलाएको भए पनि निजी विद्यालयका प्रधानाध्यापक मात्रै उपस्थित भएको इकाइ प्रमुख प्रकाश सापकोटाले बताए । ललितपुरमा निर्धारण गरिएको ४४ वटा परीक्षा केन्द्र मध्ये ११ वटा निजी विद्यालयमा छन् । अरु सबै सामुदायिक विद्यालयमा छन् ।
'सामुदायिक विद्यालयका कोही पनि उपस्थित हुनु भएन, निजी विद्यालयका मात्रै हुनुहुन्थ्यो' उनले भने ।
सामुदायिकका केन्द्राध्यक्ष उपस्थित नभए पछि उनीहरुको नियुक्ति पत्र इमेल बाट पठाइएको उनले बताए ।
त्यस्तै काठमाडौंले मंगलबार ओरेण्टेशन राखेको थियो । त्यहाँ पनि सामुदायिकका शिक्षकले बहिष्कार गरेको इकाइ प्रमख सेमन्तमणि आचार्यले बताए । उनका अनुसार सहभागि सबैजसो निजी विद्यालयका मात्रै थिए ।
'सामुदायिकका केहीले बहिष्कार गर्ने भन्दै निस्किएर गए, थोरै मात्रै बसेका थिए' उनले भने ।
त्यस्तै काभ्रेमा भने २४ वटा परीक्षा केन्द्र मध्ये २२ वटाका केन्द्राध्यक्षले ओरेण्टेशनमा सहभागी भएर नियुक्ति पत्र बुझेका छन् । भक्तपुरले बैशाख ३ गते केन्द्राध्यक्षलाई ओरेण्टेशनमा गरेको थियो । त्यहाँ पनि सामुदायिक विद्यालयका केन्द्राध्यक्षहरु सहभागि नै भएनन् ।
अभिमुखिकरणका लागि यकिन दिन नतोकिए पनि जिल्लाको अनुकुलतामा जिल्ला स्थित प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हुने जिल्ला परीक्षा समन्वय समितिले, इकाइ र प्रदेश स्थित बोर्डका कार्यालयहरुले अभिमुखिकरण गर्छन् । तर, यस पटक कतिपय जिल्लामा अभिमुखिकरणमै अलमल भएको छ । कक्षा १२ को परीक्षाको तयारीमा झण्डै पाँच लाख विद्यार्थी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
विभिन्न पेशागत र वृत्ति विकासका माग सहित नेपाल शिक्षक महासंघको आाह्वानमा चैत २० गते देखि प्रर्दशनमा उत्रिएका शिक्षकहरुले कक्षा १२ को परीक्षा सञ्चालन एवं कक्षा १० को अन्तिम परीक्षाको कापी परीक्षणमा असहयोग गर्ने घोषणा गरेका छन् ।
परीक्षा हुने नहुने अन्योलका बिच बोर्डले पूर्व निर्धारित तालिका बैशाख ११ गतेबाट नै परीक्षा गर्ने निर्णय गरेको छ । शिक्षकले बहिष्कार गरे पनि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हुने जिल्ला परीक्षा समन्वय समितिले आवश्यकता अनुसार कर्मचारी परिचालन गरेर परीक्षा सञ्चालन गर्ने बोर्डले निर्णय गरेको छ ।
कर्मचारी परिचालन गरेर भए पनि कक्षा १२ को परीक्षा गर्ने निर्णय
प्रतिक्रिया