Edukhabar
सोमबार, ०८ बैशाख २०८२
गतिविधि

शिक्षकको सडक प्रर्दशन नटुङ्गिदै शिक्षा मन्त्रीको राजीनामा

प्रर्दशनरत शिक्षकहरुसँग सिधै प्रधानमन्त्रीले छलफल गर्न थाले पछि उनले आफूलाई 'बाईपास' भएको महशुस गर्दै आएको उनी निकट शिक्षा मन्त्रालय श्रोतले बतायो ।

सोमबार, ०८ बैशाख २०८२

काठमाडौं - शिक्षा मन्त्री विद्या भट्टराईले राजिनामा दिएकी छन् । नेपाल शिक्षक महासंघको आह्वानमा जारी सडक प्रर्दशन नटुङ्गिदै  उनको राजिनामा आएको हो । उनले राजिनामा दिएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ । 

प्रर्दशनरत शिक्षकहरुसँग सिधै प्रधानमन्त्रीले छलफल गर्न थाले पछि उनले आफूलाई 'बाईपास' भएको महशुस गर्दै आएको उनी निकट शिक्षा मन्त्रालय श्रोतले बतायो । 

'हिजो उहाँ अलिक बेचैन मुद्रमा हुनुहुन्थ्यो, मन्त्री भएर पनि भूमिका नभए पछि के बस्नु भन्ने उहाँको कुरा थियो आज राजीनामा गर्नु भएको सुनियो' उक्त श्रोतले भन्यो । 

ऐन जारी हुनु पर्ने सहित वृत्ति विकास र विभिन्न पेशागत मागहरु सहित नेपाल शिक्षक महासंघले चैत २० गते देखि काठमाडौं केन्द्रित सडक प्रर्दशन गरे पछि त्यसको भोली पल्टै शिक्षा मन्त्रालयले वार्ताको लागि बोलाए पनि शिक्षक नेताहरुले वास्ता गरेका थिएनन् । मन्त्रालयले दोश्रो पटक बोलाएको औपचारिक वार्तामा पनि शिक्षकहरुले वेवास्ता गरे पछि मन्त्री भट्टराईले सचिव मार्फत् औपचारिक पत्र पठाएर सहमतीको प्रयास गरेकी थिईन् । बिचमा भएका पटक पटकका अनौपचारिक छलफल पछि सहमतीका सात बुँदा तयार हुँदा समेत शिक्षक नेताहरुले प्रधानमन्त्रीसँगको छलफललाई प्राथमिकतामा राखे पछि उनी शिक्षक नेताहरुसँग दिक्क मानेको श्रोतले बतायो । 

शिक्षकहरुले गत शुक्रबार मध्य रात सम्म प्रधानमन्त्री ओलीसँग गरेको छलफलमा समेत उनलाई वास्ता गरिएको थिएन ।

उक्त छलफल पछि मध्यरातमा प्रकाशित खबर पढ्नुहोस् : ऐन निर्माणको प्रकृया छिटो पुरा गर्ने ओलीको कुरा सुनेर निस्के शिक्षक नेता !

शिक्षकसँग प्रधानमन्त्रीको गुनासो, ‘ठूला नेता’ बसेर सुल्झाउन शिक्षक नेताको सुझाव

शिक्षकबाट मात्रै नभई प्रधानमन्त्रीबाट समेत 'बाईपास' भए पछि मन्त्री भट्टराईले राजिनामाको मुड बनाएकी उनी निकट शिक्षा मन्त्रालय श्रोतले दावी गर्यो । 

शिक्षकले उठाउँदै आएका सेवा सुविधाका मागलाई मन्त्रीपरिषद्मा दर्ता गराएको भोली पल्ट मन्त्रीको राजिनामा आए पछि उक्त प्रस्ताव कसरी अघि बढ्छ भन्ने यकिन भएको छैन ।

पढ्नुहोस् उक्त प्रस्ताव : शिक्षकका सेवा सुविधाका माग सम्बोधन गर्ने प्रस्ताव मन्त्रीपरिषद्मा दर्ता

तत्कालिन सत्ता साझेदार दुई दल नेकपा माओवादी केन्द्र र एमाले बिचको खटपट पछि बदलिएको सत्ता समिकरण सँगै नेपाली काँग्रेस र एमाले सहितको गठबन्धनबाट बनेको नयाँ सरकारमा भट्टराईले शिक्षा मन्त्रालयको जिम्मेवारी पाएकी थिईन् । गत असार ३१ गते उनले पदभार ग्रहण गरेकी थिईन् । 

पढ्नुहोस् : नयाँ शिक्षा मन्त्रीको पदभार ग्रहण : मन्त्रालयले पेश गरेको दुई मध्ये एक फाईल मात्रै सदर !

प्रतिक्रिया