Edukhabar
सोमबार, ०८ बैशाख २०८२
गतिविधि

शिक्षक आन्दोलनका कारण विद्यार्थीको अधिकार हनन् : मानव अधिकार आयोगको ध्यानाकर्षण

कक्षा १२ को परीक्षा हुने वातावरण मिलाउन माग, शिक्षकलाई सम्मान गर्ने कुरामा राज्य नचुक्न पनि सचेत

आइतबार, ०७ बैशाख २०८२

काठमाडौं - जारी शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयका करिब ५५ लाख विद्यार्थीको पढ्न पाउने अधिकार हनन् भएको भन्दै अभिभावक संघ नेपालले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ । अभिभावक महसंघका अध्यक्ष सुप्रभात भण्डारी, संघका अध्यक्ष केशव पुरी सहितको टोलीले आईतबार आयोगमा उक्त ध्यानाकर्षण पत्र बुझाएको हो ।  

'शिक्षक आन्दोलनका कारण विद्यार्थीको पठन पाठन, परीक्षा, नतिजा प्रकाशन, विद्यालय भर्ना जस्ता कुरा प्रभावित हुँदा विद्यार्थीको पढ्न पाउने अधिकार हनन् भएको तर्फ हामी अभिभावकहरुका संस्थाको ध्यानाकर्षण भएको छ' उक्त पत्रमा भनिएको छ, 'शिक्षाका सरोकारवालाहरुको समस्या राज्यले हल गर्नु जरुरी छ । शिक्षकका जायज मागहरु तत्काल पुरा गर्नु पर्छ भन्ने कुरामा किन्तु परन्तु हुन सक्दैन ।' 

शिक्षक खुसी भए मात्रै कक्षा कोठा रमाउने भन्दै शिक्षकलाई सम्मान गर्ने कुरामा राज्य नचुक्न पनि सचेत गराईएको छ । साथै विद्यार्थीको पढ्न पाउने नैसर्गिक अधिकारको सबै क्षेत्रबाट सम्मान गरिनु पर्ने पनि उक्त पत्रमा उल्लेख छ । 

यी यावत् विषयका साथमा आसन्न कक्षा १२ को परीक्षा समेत प्रभावित हुन सक्ने तर्फ मानव अधिकार आयोगको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं पत्रमा भनिएको छ विद्यालयहरु सञ्चालन हुने, पठनपाठन हुन सक्ने र कक्षा १२ को परीक्षा शान्तिपूर्ण वातावरण मिलाउन जोडदार माग समेत गर्दछौं । 

शिक्षा ऐन जारी हुनु पर्ने सहित वृत्ति विकास र विभिन्न पेशागत मागहरु सहित नेपाल शिक्षक महासंघले चैत २० गते देखि काठमाडौं केन्द्रित सडक प्रर्दशन गर्दै आएको छ । चैत २५ गते बाट शैक्षिक हड्ताल घोषणा गरे पछि सामुदायिक विद्यालयहरुमा शैक्षिक गतिविधि ठप्प छ । 

प्रतिक्रिया