Edukhabar
सोमबार, ०८ बैशाख २०८२
खबर/फिचर

बैशाख ११ गतेबाट सबै विद्यालय खोल्न सूचित

नयाँ शैक्षिक सत्र शुरुवातको मिति तोकेर सबै विद्यालयहरुलाई परिपत्र

आइतबार, ०७ बैशाख २०८२

पोखरा - पोखरा महानगरपालिकाले बैशाख ११ गते बाट विद्यालय खोल्न सबै विद्यालयहरुलाई सूचित गरेको छ । चैत २० गतेबाट सडक प्रर्दशनमा संलग्न नेपाल शिक्षक महासंघले चैत २५ गतेबाट शैक्षिक हड्ताल आह्वान गरे पछि देशभरको शैक्षिक गतिविधि ठप्प छ । यस्तो बेला महानगरले नयाँ शैक्षिक सत्र शुरुवातको मिति तोकेर सबै विद्यालयहरुलाई परिपत्र गरेको हो ।  

'शैक्षिक सत्र २०८२ को पठन पाठन कार्य बैशाख ८ गतेबाट सञ्चालन गर्ने भनी शैक्षिक क्यालेण्डरमा उल्लेख भएकोमा विद्यालयहरुको भर्ना लगायत अन्य पूर्वाधार समेतको व्यवस्थापन गर्न समय अभावका कारण बैशाख ११ गते बिहीबारबाट नियमित पठनपाठन शुरु गर्नु गराउनुहुन सूचना प्रकाशित गरिएको छ' महानगर शिक्षा महाशाखाद्वारा विद्यालयहरुलाई पठाईएको सूचनामा भनिएको छ ।

पालिका भित्र एक सय ९६ सामुदायिक र दुई सय ४७  निजी विद्यालय छन् । 

शिक्षकको सडक प्रर्दशनका कारण देशभरी नयाँ शैक्षिक सत्रका गतिविधि ठप्प छन् । कक्षा १० को अन्तिम परीक्षाको कापी परीक्षणको काम पनि शुरु हुन सकेको छैन । आउँदो बिहिबारबाटै शुरु हुने कक्षा १२ को परीक्षा पनि अन्योलमा छ । बालबालिकाको पढ्न पाउने अधिकार संरक्षण, शैक्षिक गतिविधि र परीक्षा सञ्चालन, नतिजा प्रकाशन जस्ता संवेदनशील कुरामा गम्भिर हुन भन्दै शिक्षक माथि आन्दोलन टुङ्ग्याउन दबाब बढिरहेको छ । 

यो पनि पढ्नुहोस् : स्थानीय सरकारका अघिल्तिर आएको क्षमता देखाउने अवसर

प्रतिक्रिया