Edukhabar
सोमबार, ०८ बैशाख २०८२
खबर/फिचर

सामुदायिकका शिक्षकले गरे निजी विद्यालय बन्दको आह्वान

कक्षा १२ को परीक्षा हुने नहुने अन्योलका बिच राष्ट्रिय परीक्षा बोर्डलाई दबाब बढाउन महासंघको यस्तो निर्णय

आइतबार, ०७ बैशाख २०८२

काठमाडौं - आन्दोलनरत नेपाल शिक्षक महासंघले निजी विद्यालयहरु समेत बन्द गर्न आह्वान गरेको छ । सडक प्रर्दशनको १९ औं दिनमा महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र तुला बहादुर थापाले विज्ञप्ति जारी गर्दै आफूरुले घोषणा गरेको शैक्षिक आम हड्तालको अभियानलाई सफल बनाउन साथ दिन भनिएको छ । 

आउँदै गरेको कक्षा १२ को परीक्षा रोक्न महासंघले निजी विद्यालय बन्दको आह्वान गरेको महासंघ श्रोतले जनाएको छ । कक्षा १२ को परीक्षा ११ गते देखि शुरु हुँदै छ । शैक्षिक हड्तालका कारण परीक्षा हुने नहुने अन्योलका बिच राष्ट्रिय परीक्षा बोर्डलाई दबाब बढाउन महासंघले यो निर्णय गरेको हो । 

'निजी विद्यालयका शिक्षकलाई सहभागी गराएर कक्षा १२ को परीक्षा चलाउने योजना बनाएको थाहा पाए पछि महासंघले उक्त निर्णय गरेको हो' महासंघका एक नेताले भने । 

महासंघले तत्कालै विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सडक प्रर्दशन शुरु गरेको हो । तर विधेयक माथि संसदीय समितिमा छलफल भईरहेको र ऐन निर्माणको प्रकृया छिटो पुरा गर्ने प्रधानमन्त्री केपी ओलीले बताउँदा समेत शिक्षक महासंघले सडक प्रर्दशनलाई निरन्तर राखेको छ । 

विद्यालय शिक्षामा जारी निजी लगानीको विषय र सामुदायिक विद्यालयका शिक्षक व्यवस्थापनको विषय विधेयकका जटिल विषय हुन् । संविधानले शिक्षालाई मौलिक हकका रुपमा व्यवस्था गर्दै आधारभूत तहसम्म अनिवार्य र निशुल्क तथा माध्यमिक तह सम्मको शिक्षा निशुल्क हुने व्यवस्था गरेको छ । संविधानको उक्त व्यवस्था कार्यान्वयन गर्नु अघि विद्यालय शिक्षामा जारी निजी लगानीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय टुङ्ग्याउनु जरुरी छ । यस्तै संविधानले विद्यालय तह सम्मको शिक्षाका अधिकार स्थानीय सरकार मातहत गरेको व्यवस्थालाई शिक्षक नेताहरु उल्ट्याउन प्रयासरत छन् । यी दुई विषयका कारण शिक्षा ऐन निर्माण धकेलिदैं आएको अवस्थामा शिक्षक महासंघले आफ्नो आन्दोलनमा निजी विद्यालयको समेत साथ खोजेको छ । 

'विद्यालय शिक्षा ऐन जारी गराउने सवाल विद्यालयका शिक्षक कर्मचारीको मात्रै चासोको विषय हैन' विज्ञप्तिमा भनिएको छ 'यो विषय विद्यालय शिक्षाको विकास एवं विद्यार्थीका लागि गुणस्तरीय शिक्षाको प्रवन्धसँग जोडिएको छ ।' 

देशभरका सबै विद्यालय बन्द गरेर शिक्षकलाई काठमाडौं  आउन विज्ञप्तिमा भनिएको छ । आन्दोलनको अवधिमा विद्यालय खोल्ने प्रवेश परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने उत्तरपुस्तिका परीक्षण गर्ने गोष्ठि सेमिनार शैक्षिक भ्रमण लगनयतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन महासंघले फेरी आग्रह गरेको छ । चैत २० गते देखि काठमाडौं केन्द्रित सडक प्रर्दशन गरेको महासंघले २५ गते देखि शैक्षिक हड्ताल आह्वान गरेको छ । 

प्रतिक्रिया