काठमाडौं - शुक्रबार दिनभरी सडकमा भाषण, नारा जलुस, नाच गान सकेर वासस्थान फर्केका शिक्षकहरु आफ्ना नेताहरु र प्रधानमन्त्री बिचको छलफलको 'अपडेट' लिन आतुर थिए । सडक प्रर्दशनको १७ औं दिन सम्म सरकारसँग एक प्रकारको सम्वादहिनतामा रहेको नेपाल शिक्षक महासंघको नेतृत्वलाई शुक्रबार साँझ सात बजे प्रधानमन्त्री निवास बालुवाटारमा आउन निम्तो आएको थियो । यो खबर प्रर्दशनरत शिक्षकहरुले दिउँसै थाहा पाएका थिए । त्यसैले पनि उनीहरु त्यो छलफलको 'अपडेट'को चासोमा थिए ।
रात छिप्पिदैँ थियो, शिक्षकहरुको बेचैनी बढ्दो थियो । दिनभरी चितवन र नवलपुर तिरका विभिन्न कार्यक्रममा व्यस्त प्रधानमन्त्री केपी ओली साँझ अबेर काठमाडौं फर्केका कारण शिक्षकहरुसँगको भेटघाट धकेलिएको थियो । यत्तिकैमा राती नौ बजेर ३९ मिनेटमा 'प्रधानमन्त्रीसँग शिक्षक महासङ्घका पदाधिकारीको छलफल' शिर्षकमा प्रधानमन्त्रीको सचिवालयबाट फोटो सहित सूचना सार्वजनिक भयो । एडुखबरले उक्त फोटो राखेर खबर प्रकाशन गर्यो ।
पढ्नुहोस् : सडक प्रर्दशनको १७ औं दिनमा शिक्षक नेताहरुसँग प्रधानमन्त्रीको छलफल
खबर सार्वजनिक भए पछि शिक्षकहरुमा कौतुहलता भयो । समाचारमा प्रधानमन्त्रीसँग चार जना शिक्षक नेताहरु महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समितिकी संयोजक एवं सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहाचिव मदनराज जोशी छलफलमा सहभागि भएको उल्लेख थियो । तर खबर सँगैको फोटोमा पाँचौ व्यक्ति पनि थिए !
एडुखबरको सामाजिक सञ्जाल र फोन मार्फत् धेरैले चासो व्यक्त गरे शिक्षक प्रधानमन्त्री बिचको छलफलमा सहभागि त्यो पाँचौ व्यक्ति को हो ?
ति थिए सत्ताधारी मुख्य दल नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा ।
सुदुरपश्चिमका नेता डा. भीम रावललाई ओलीले पार्टिबाट निष्काशन गरेपछि थापा त्यस क्षेत्रमा प्रभावशाली भएको राजनीतिक चर्चा छ । शिक्षक र सरकार बिचको सम्वादहिनता तोड्ने गरी प्रधानमन्त्रीले उनलाई दिएको जिम्मेवारी र उनको सकृयताले यो कुरालाई पुष्टि पनि गरेको छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी काँग्रेस, त्यसमाथि सरकारको आलोचना गर्दै आएका शेखर कोइराला गुटका, आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुली प्रमुख प्रतिपक्षी दल माओवादी निकट भएपछि ओलीले शिक्षक आन्दोलनका बारेमा कुरा गर्ने भरपर्दो नेतृत्व नै नपाईरहेको बेलामा थापाको 'ईण्ट्रि' भएको हो । थापालाई पछिल्लो समय एमालेमा उदाउँदै गरेको विद्या भण्डारी गुटका नेता भनिए पनि नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापासँगको सम्बन्धका आधारमा ओलीले थापालाई मध्यस्थता गर्न लगाएका प्रधानमन्त्री निकट श्रोतले बतायो । तुला बहादुर थापा नाताले कर्ण थापाका दाजु पर्छन् । बाजुराको बुढिगंगा नगरपालिका ९ का कर्ण थापा र २ का तुला बहादुर थापा संगै पढेका, संगै एमालेको राजनीति गरेका समकालिन हुन् ।
तर आफूहरु बिचको सम्बन्ध महत्वपूर्ण नभएको, शिक्षक आन्दोलनको समाधान महत्वको भएका आधारमा आफूले शिक्षकहरुसँग बसेर छलफल गरेको कर्ण थापाले बताए । ती छलफलहरुमा प्रधानमन्त्रीको समय समेत नपाएको शिक्षक नेताहरुको गुनासो गरेका थिए । शिक्षकका कुरा सुने पछि आफूले कुराकानी गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको थापाले दावी गरे ।
'समस्या बल्झिएर गयो समाधान दिनु पर्ने बारेमा प्रधानमन्त्री ज्यूसँग बैशाख एक गतेको भेटमा कुरा भएको थियो, विभिन्न ढंगले पहल त भएकै छ ठिकै छ तपाई पनि एक पटक कुरा गर्नु भनेर उहाँले भन्नु भएको थियो' उनले भने 'त्यसैले मैले मध्यस्थता मात्रै गरेको हो ।'
शिक्षकहरुले ऐन नलिई नजाने अडान राखेकाले सभामुखसँग पनि समय लिएको बताउँदै उनले प्रधामन्त्रीसँगको छलफल मै धेरै राती भए पनि सभामुख देवराज घिमिरेसँग पनि राती नै छलफल गरेको बताए । सभामुखसँगको छलफलमा संसदीय प्रकृया र लाग्ने अवधिका बारेमा चर्चा भएको थियो ।
उक्त छलफल पछि मध्यरातमा प्रकाशित खबर पढ्नुहोस् : ऐन निर्माणको प्रकृया छिटो पुरा गर्ने ओलीको कुरा सुनेर निस्के शिक्षक नेता !
शिक्षकसँग प्रधानमन्त्रीको गुनासो, ‘ठूला नेता’ बसेर सुल्झाउन शिक्षक नेताको सुझाव
दुबै छलफल सकारात्मक भएको थापाले दावी गरे । संसदीय प्रकृयालाई कसरी फाष्ट ट्रयाकबाट गर्ने र आन्दोलन लम्बिदैं जाँदा देखिने जटिलतालाई कसरी समाधान गर्ने भन्ने बारेमा दुई पक्ष बिच सौहार्द छलफल भएको थापाको दावी छ ।
'संविधानले गरेको विद्यालय तह सम्मको अधिकार कार्यान्वयन गर्ने कुरा संविधान संशोधनका बेला गर्ने भन्ने बारेमा उहाँहरु सहमत भईसक्नु भएको छ' थापाले भने 'ग्रेड मिलान, ईसीडीका शिक्षकको सेवा सुविधा, राहत शिक्षकलाई दरबन्दी कायम गरेर जाँच लिने कुरामा सहमती भईसकेको छ, मर्यादाक्रमको विषय गृह मन्त्रालयले गर्छ ।'
राज्यको दायित्व वृद्धि हुने बाहेकका विषयमा लगभग कुरा मिलिसकेको दावी गर्दै उनले दायित्व वृद्धि हुने विषयलाई कसरी मिलाउने भन्ने बारेमा आआफ्ना पक्षमा छलफल गर्ने र निकाश निकाल्ने सहमती भएको बताए ।
'आन्दोलनका लागि यतीका शिक्षक आएकाले उनीहरुलाई विद्यालयमा फिर्ता पठाउन पनि एक खालको सहमती नगरी हुँदैन, सरकार र शिक्षक महासंघ बिचमा सहमती गर्ने विषयमा एक खालको 'अण्डरस्ट्याण्डिङ्' भएको बुझ्छु' थापाले भने, 'ऐननै लिएर जाने भने पछि त्यसको पहल पैरवी गर्नका लागि एक तहका नेताहरु अहिलेको आन्दोलनको रुप परिवर्तन गरेर, धर्ना, मन्त्रालय र निकायमा पहल, छलफल गरिरहने लगभग सहमती छ ।'
ऐन नै चाँडो जारी गर्न संसदीय समितिका सभापति अम्मरबहादुर थापाको भूमिका प्रभावकारी नभएको उनले आरोप लगाए ।
'सबैको कुरा सुन्दा समिति सभापतिको भूमिका गैह्र जिम्मेवार देखिन्छ' उनले भने 'सभापतिले पेश गर्ना साथ त संसदबाट दुई दिनमै टुङ्गिन्छ । उपसमितिले छिटो काम सक्ने र समितिले संसदमा पेश गर्ने, शिक्षकहरु विद्यालय फर्कने अहिलेको मोटामोटी चरण त्यही हो, नत्र भने त समग्र शैक्षिक सत्र मै वाधा उत्पन्न हुने देखिन्छ ।'
शिक्षकहहरु विद्यार्थीको भविष्य र शैक्षिक गतिविधि सञ्चालनका लागि गम्भिर भएर आन्दोलनको स्वरुप परिवर्तनको निर्णयमा पुग्ने अपेक्षा गरेको पनि उनले बताए । नियमित सडक प्रर्दशन सकेर शिक्षक नेताहरु प्रधानमन्त्री र सभामुखसँगको छलफल पछिको अवस्थाबारे औपचारिक निर्णय लिन दिउँसो बैठक बस्ने अध्यक्ष सुवेदीले बताए ।
चैत २० गतेबाट सडक प्रर्दशन शुरु गरेको नेपाल शिक्षक महासंघले गत चैत २५ गतेबाट शैक्षिक हड्ताल आह्वान गरेपछि सामुदायिक विद्यालयहरुमा शैक्षिक गतिविधि ठप्प छ ।
यो पनि पढ्नुहोस् : शिक्षक नेताले निकालेको आन्दोलन ‘बैठान’ को उपाय : संवैधानिक प्रवन्धलाई थाती !
प्रतिक्रिया