काठमाडौं - नेपाल शिक्षक महासंघका नेताहरुलाई प्रधानमन्त्री केपी ओलीले ऐन निर्माणका बाँकी प्रकृया छिटो पुरा गर्न समितिका सांसद र शिक्षा मन्त्रीसँग कुरा गर्ने बताएका छन् । सडक प्रर्दशनको १७ औं दिन शुक्रबार मध्य राती सकिएको महासंघका नेता र प्रधानमन्त्री बिचको छलफल पछि आन्दोलन परिचालन समितिकी संयोजक एवं महासंघकी सह अध्यक्ष नानुमाया पराजुलीले उक्त जानकारी गराएकी हुन् ।
'प्रधानमन्त्री ज्यूले ऐन निर्माणका बाँकी प्रकृया छिटो पुरा गर्ने कुरा गर्नु भयो, यस विषयमा सम्बन्धित माननीय र शिक्षा मन्त्रीसँग भेट्छु भन्नु भा छ' बैठक पछि एडुखबरलाई प्रतिकृया दिदैं उनले भनिन् 'भोली सबैलाई भेटघाट गरेर त्यसको बारेमा के बन्छ भोली थाहा होला अहिले चैं हाम्रा कुरा उहाँ समक्ष राख्यौं उहाँका कुरा सुन्यौं त्यस पछि निस्क्यौं ।'
अब के हुन्छ त ? एडुखबरको प्रश्नमा उनले भनिन् 'हाम्रो आन्दोलन अघि बढिरहन्छ, उतापट्टी उहाँहरुले वातावरण बनाउने कुरा गर्नु हुन्छ ।'
प्रधानमन्त्रीसँगको भेटलाई पनि यस अघि जस्तै उनले वार्ता भन्न रुचाईनन् । आफूहरु सरकारसँग वार्तामा बसेको नभई यस अघि पटक पटक भएका सहमती कार्यान्वयनका बारेमा जानकारी गराएको उनले बताईन् ।
अपडेट
प्रधानमन्त्रीले सरकारले सम्बोधन गर्न सक्ने कुराबारे सल्लाह गरेर निर्णय लिने तथा ऐन जारी गर्न तदारुकता दिने बताएको अध्यक्ष सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन् ।
आफूहरुले राति नै सभामुख देवराज घिमिरेसँग पनि छलफल गरेको बताउँदै उनले लेखेका छन् 'विद्यालय शिक्षा विधेयक छिटो जारी गर्ने विधि र उपाय बारे सभामुखसंग छलफल भयो ।'
उनले आन्दोलन जारी रहेको लेखेका छन् ।
... ... ...
शिक्षक महासंघले यस अघि पटक पटक भएका सहमती मध्ये अधिकाँश विषय मन्त्रीपरिषद्बाट निर्णय गरेर गर्न सकिने बताउँदै आएको छ । त्यही आधारमा महासंघले २४ बुँदे पत्र शिक्षा मन्त्रालयमा बुझाएको थियो । शिक्षा मन्त्रालयले तयार पारेको प्रस्तावलाई गत बुधबार बसेको मन्त्रीपरिषद् बैठकमा प्रवेश नगराई संसद बैठक मात्रै बोलाउने निर्णय गरे पछि शिक्षक आन्दोलन झन् पेचिलो बन्दै आएको छ ।
शिक्षा ऐन जारी गर्ने विषयलाई संसद बैठक आह्वान गर्ने रुपमा सरकारले व्याख्या गरेको भन्दै शिक्षक नेताहरुले आपत्ति जनाईरहेका छन् ।
छलफलमा महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समितिकी संयोजक समेत रहेकी सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहाचिव मदनराज जोशी सहभागी थिए ।
चैत २० गते देखि सडक प्रर्दशनमा उत्रिएका शिक्षकलाई शिक्षा मन्त्रालयले दुई पटक सम्म औपचारिक वार्ता आह्वान गर्दा समेत महासंघले अस्विकार गर्दै आएको छ । शिक्षा सचिवले गरेको पत्राचारका आधारमा आफ्ना मागका २४ बुँदा बुझाए पनि सरकार र शिक्षक बिच सम्वादहिनता जारी छ । यस्तो बेला सिधै प्रधानमन्त्रीसँग शिक्षक नेताहरुको छलफल भएको हो ।
महासंघले २५ गतेबाट शैक्षिक हड्ताल आह्वान गरेको छ । यसले गर्दा नयाँ शैक्षिक सत्रसँगै विद्यार्थी भर्नाको कार्यक्रम, कक्षा १० का अन्तिम परीक्षाको कापी परीक्षण र ११ गतेबाट शुरु हुने कक्षा १२ को परीक्षामा समेत अन्योल देखिएको छ । कुनै पनि शैक्षिक कृयाकलापमा संलग्न नहुन महासंघले निर्णय गरिसकेको छ ।
यो पनि पढ्नुहोस् : शिक्षक नेताले निकालेको आन्दोलन ‘बैठान’ को उपाय : संवैधानिक प्रवन्धलाई थाती !
शिक्षकको एक एक माग केलाउँदै समाधानको प्रकृया शुरु
गत बैशाख दुई गते राती बसेको मन्त्रिपरिषद्को बैठकले सडक प्रर्दशन गर्दै आएका शिक्षकहरुलाई कार्यथलो फर्कन आह्वान गरेको थियो । महासंघले तुरुन्त संसद बैठक आह्वान गर्ने, विशेष बैठक डाक्ने वा अध्यादेश ल्याएर ऐन जारी गर्नु पर्ने विकल्प दिएको थियो । सरकारले बैशाख १२ गतेका लागि नियमित बैठक आह्वान गर्न सिफारिस गरे पछि राष्ट्रपति रामचन्द्र पौडेलले १२ गते एक बजेका लागि बैठक आह्वान गरिसकेका छन् । तर, पनि महासंघले प्रर्दशनलाई निरन्तरता दिदैं आएको छ ।
प्रतिक्रिया