भक्तपुर - शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षाका बारेमा अन्योल बढिरहेका बेला राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिन विद्यार्थीलाई अनुरोध गरेको छ । आउँदो ११ गतेबाट शुरु हुने कक्षा १२ को परीक्षालाई असहयोग गर्ने आन्दोलनरत शिक्षकहरुले घोषणा गरिसकेका छन् ।
तर बोर्डले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य गर्न अभिभावक, शिक्षक एवं प्रधानाध्यापकलाई अपिल पनि गरेको छ । कक्षा १२ को परीक्षा स्थगित गरिएको भन्दै शुक्रबार सामाजिक सञ्जालमा संप्रेषण भएको सूचनालाई बोर्डले भ्रामक भन्दै विश्वास नगर्न भनेको छ ।
'परीक्षा जस्तो संवेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको हस्ताक्षर राखि अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साईवर कानून अनुसार आवश्यक कारवाहीका लागि प्रकृया अगाडि बढाईएको छ' विज्ञप्तिमा भनिएको छ, 'बोर्डको वेभसाईट मार्फत् सूचना सार्वजनिक हुने हुँदा अन्य श्रोतबाट प्रवाह हुने सूचनामा भर नपर्न अनुरोध गर्दछ ।'
यो विज्ञप्तिले परीक्षा पूर्व निर्धारित तालिकामा हुन्छ भनेको छैन, यस अघि सामाजिक सञ्जालमा आएको विज्ञप्ति अनधिकृत हो मात्रै भनेको छ ।
चैत २० गतेबाट सडक प्रर्दशन शुरु गरेको नेपाल शिक्षक महासंघले गत चैत २५ गतेबाट शैक्षिक हड्ताल आह्वान गरेपछि सामुदायिक विद्यालयहरुमा शैक्षिक गतिविधि ठप्प छ । गत बैशाख १ गते सोमबार बसेको नेपाल शिक्षक महासंघको राष्ट्रिय समितिको बैठकले परीक्षा लगायतका कुनै पनि शैक्षिक कृयाकलापमा असहयोग गर्ने निर्णय गरेको छ ।
कक्षा १२ को परीक्षामा असहयोग गर्ने शिक्षक महासंघको निर्णय
शिक्षा मन्त्रालयले वार्ताका लागि पटक पटक गरेको आग्रह वेवास्ता गर्दै आएको महासंघ र सरकार बिच सम्वादहिनताका कारण सडक प्रर्दशन लम्बिदैं गएको छ । महासंघको नेतृत्व सरकारसँग वार्ताको औचित्य नभएको अडानमा छ । सडकमा भेटिएका मध्ये बहुसंख्यक शिक्षकले भने वार्ताबाटै समाधान निकाल्न नेतृत्वलाई सुझाव दिएका छन् । प्रर्दशनका बारेमा एडुखबरले बिहीबार गरेको स्याम्पल सर्वेमा सहभागि मध्ये ७३ प्रतिशत शिक्षकले प्रर्दशन मात्रै नभई वार्ताबाट समाधान निकाल्नु पर्ने बताएका छन् ।
पढ्नुहोस् : सडकमा शिक्षक : वार्तामा बस्नु पर्ने मत बलियो
शिक्षा क्षेत्रका प्रवुद्ध व्यक्तिहरुले पनि वार्ता टोली गठन गरेर निकाश निकाल्न सरकार र शिक्षक महासंघलाई अपिल गरेको छ ।
पढ्नुहोस् : शिक्षक र सरकारलाई अपिल : वार्ता टोली गठन गरी समाधान निकाल
यो पनि पढ्नुहोस् : अन्तर्राष्ट्रिय छवि बिग्रनेमा परीक्षा बोर्डको चिन्ता
प्रतिक्रिया