Edukhabar
बुधबार, ०३ बैशाख २०८२
गतिविधि

शिक्षकलाई कार्यथलो फर्कन सरकारको आह्वान, बैशाख १२ गते संसद बैठक

मन्त्रीपरिषद्को बैठकका निर्णय बारेमा औपचारिक जानकारी प्राप्त भएपछि धारणा सार्वजनिक गर्ने महासंघको तयारी

बुधबार, ०३ बैशाख २०८२
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय

काठमाडौं - गए राती बसेको मन्त्रिपरिषद्को बैठकले दुई साता देखि सडक प्रर्दशन गर्दै आएका शिक्षकहरुलाई कार्यथलो फर्कन आह्वान गरेको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आएका शिक्षकलाई नयाँ शैक्षिक सत्र शुरु भएको र विद्यार्थी भर्ना अभियान चलाउनु पर्ने भएकाले विद्यार्थी अभिभावक प्रति संवेदनशील हुन सरकारले आह्वान गरेको हो । 

 मध्य राती सकिएको मन्त्रिपरिषद् बैठकले बैशाख १२ गते संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ । नेपाल शिक्षक महासंघले तुरुन्त संसद बैठक आह्वान गर्ने, विशेष बैठक डाक्ने वा अध्यादेश ल्याएर ऐन जारी गर्नु पर्ने विकल्प दिएको थियो । सरकारले नियमित बैठक आह्वान गरेको हो । यो बैठकमा शिक्षा विधेयकलाई पारित गर्न सरकारको तर्फबाट आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय भएको शिक्षा मन्त्री विद्या भट्टराईलाई उदृत गर्दै प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  

'नेपाल शिक्षक महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको छ' भट्टराईलाई उदृत गर्दै सचिवालयले भनेको छ 'यथोचित मागको सम्बोधन गर्न सरकार तयार छ ।'  

गत चैत २० गते देखि सडक प्रर्दशनमा उत्रिउका शिक्षकहरुले २५ गतेबाट शैक्षिक हड्ताल आह्वान गरेका छन् । यसले गर्दा नयाँ शैक्षिक सत्रसँगै विद्यार्थी भर्नाको कार्यक्रम कक्षा १० का अन्तिम परीक्षाको कापी परीक्षण र ११ गतेबाट शुरु हुने कक्षा १२ को परीक्षामा समेत असहयोग गर्ने महासंघले निर्णय गरिसकेको छ । 

मन्त्रीपरिषद्को बैठकका निर्णय बारेमा औपचारिक जानकारी प्राप्त भएपछि धारणा सार्वजनिक गर्ने महासंघले तयारी गरेको एक नेताले जानकारी दिए । 
 

प्रतिक्रिया