काठमाडौं - विगतमा भएका सहमती पुरा गर्न र आफू अनुकुल शिक्षा ऐन जारी गर्न सडकबाट दबाब दिदैं आएका शिक्षकका मागबारे प्रधानमन्त्रीले औपचारिक छलफल शुरु गरेका छन् । प्रधानमन्त्री केपी ओलीले शिक्षक समुदायका माग र आन्दोलनका सम्बन्धमा आज सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, मुख्यसचिव एकनारायण अर्याल र सम्बन्धित मन्त्रालयका सचिवसँग छलफल गरेका हुन् । उक्त छलफलमा थप गृहकार्य गरी वार्ताबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिइएको सचिवालयले जनाएको छ ।
छलफलमा शिक्षा मन्त्रालयका तर्फबाट नेपाल शिक्षक महासङ्घको आव्हानमा काठमाडौँ जारी आन्दोलनमा उठाइएका मागबारे अवगत गराइएको थियो । बैठकमा विद्यमान आर्थिक अवस्था, विद्यालय शिक्षाको कानुन निर्माणको प्रक्रिया र सरकारले तत्काल पूरा गर्न सक्ने माग र गुणस्तरीय शिक्षाको सुनिश्चितता आदि विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली विमिष्टेकको बैठकमा भाग लिन गएका बेला कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंहले शिक्षक आन्दोलनका बारेमा छलफल गरेका थिए । आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाए पनि उनीहरुले नटेरेपछि वार्ता हुन नसकिरहेको बेला प्रधानमन्त्रीले छलफल शुरु गरेका हुन् ।
फोटो प्रधानमन्त्रीको सचिवालय
प्रतिक्रिया