Edukhabar
मंगलबार, ०५ चैत्र २०८१
गतिविधि

विद्यार्थीको निर्वाचन शुरु

निर्वाचनको तयारी भइरहेका बेला विभिन्न स्थानमा प्रर्दशन र झडप भएका खबर पनि आईरहेका छन् ।

मंगलबार, ०५ चैत्र २०८१

काठमाडौं  - त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र  सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन शुरु भएको छ । मंगलबार बिहान ८ बजेदेखि शुरु भएको निर्वाचन दिउँसो चार बजे सम्म हुनेछ । 

विश्वविद्यालय क्याम्पस कीर्तिपुर सहित १३ वटा आंगिक क्याम्पसमा भने चुनावी प्रक्रिया रोकिएको स्ववियु निर्वाचन समितिले जनाएको छ । विश्वविद्यालय क्याम्पसमा चैत ८ गते निर्वाचन हुनेछ । रोकिएका अन्य क्याम्पसमा सहमती गरेर चाँडै मिति तोक्ने समितिले जनाएको छ । 

विश्वविद्यालयका ६४ आंगिक र एक हजार ५३ सम्बन्धन प्राप्त क्याम्पस छन् । पल्छिलो पटक २०७९ मा स्ववियु निर्वाचन भएको थियो । विद्यार्थी संख्या दुई सय जनासम्म भएका प्रत्येक क्याम्पसमा ११ सदस्यीय, दुई सय एक देखि एक हजार विद्यार्थी भएको क्याम्पसमा १५ सदस्यीय, एक हजार एक देखि तीन हजार जनासम्म विद्यार्थी भएको क्याम्पसमा १९ सदस्यीय र तीन हजार एक जनाभन्दा बढी विद्यार्थी भएको क्याम्पसमा २१ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ ।

स्ववियु निर्वाचनको तयारी भइरहेका बेला विभिन्न क्याम्पसहरुमा प्रर्दशन र झडप भएका खबर पनि आईरहेका छन् । सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा निर्वाचन स्थगित गरिएको छ आरआर क्याम्पसमा गए राति अनेरास्ववियुले तालाबन्दी गरेको छ । 
पञ्चायती कालमा दलहरु प्रतिवन्धित भएका बेला दलहरुले विद्यार्थी मार्फत् राजनीतिक कृयाकलाप गर्थे । त्यसैले नेपालको राजनीतिक परिवर्तनमा त्रिवि स्ववियुको महत्वपूर्ण योगदान छ । त्यसो त उपत्यकाका विद्यालयहरुमा विद्यार्थी युनियनको अभ्यास २०१९ साल अगाडिदेखि नै हुँदै आएको पाईन्छ । २०१६ सालमा त्रिभुवन विश्वविद्यालय स्थापना पश्चात २०१९ साल तिर विद्यार्थी यूनियनको अभ्यास शुरु गरिएको थियो । तर, औपचारिक रुपमा भने २०२० भदौ २० गते स्ववियुको  पहिलो निर्वाचन भएको थियो । पठनपाठन लगायत विद्यार्थीका विभिन्न मुद्दासँगै स्ववियुले प्रजातन्त्र स्थापनाको मुद्दालाई केन्द्रमा राखेर कार्यक्रम गथ्र्यो ।  

पञ्चायत सरकारले २०२८ सालमा नयाँ शिक्षा प्रणाली लागू गरेसँगै स्ववियु र जनसंगठनहरू माथि प्रतिबन्ध ऐन २०२९ जारी गरेर स्ववियुलाई निस्तेज पार्ने प्रयास गरेको थियो । विद्यार्थीले आन्दोलन चर्काएपछि २०३६ सालमा प्रतिबन्ध हटाएको थियो । विद्यार्थीले पढाईलाई ध्यान दिने कि राजनीतिमा केन्दित हुने भन्ने प्रश्नलाई पञ्चायतले स्थापित गरे पछि २०४१ सालबाट विद्यालय तहमा बनाइएका संगठन हटाइयो । त्यसपछि स्ववियु विश्वविद्यालय तहमा मात्र केन्द्रित छ । 

प्रतिक्रिया