Edukhabar
सोमबार, ०४ चैत्र २०८१
गतिविधि

एसईईको केन्द्राध्यक्ष गोलाप्रथाबाट !

केन्द्र रहने विद्यालयकै प्रअ केन्द्राध्यक्ष हुँदा अनियमिता हुने भन्दै शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखको मनसुवा पुरा हुन नदिने तर्क

सोमबार, ०४ चैत्र २०८१

जनकपुर - मधेसका मुख्य मन्त्री सतिश कुमार सिंहले कक्षा १० को अन्तिम परीक्षा एसईईका लागि केन्द्राध्यक्षको चयन गोलाप्रथाबाट गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् । केन्द्र रहने विद्यालयकै प्रधानाध्यापक केन्द्राध्यक्ष हुँदा अनियमिता हुने दावि सहित उनले परीक्षामा शक्ति र प्रभावको दुरुपयोग रोक्न उक्त ध्यानाकर्षण गराएका प्रेस सल्लाहकार अनिलकुमार कर्णद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

'प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयका आधारमा गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन नभए प्रदेश सरकारले एसईई परीक्षा सञ्चालन प्रकृयामा सामेल नहुने स्थिती आउन सक्ने प्रष्ट पार्दछौं' विज्ञप्तिमा भनिएको छ ।  

राष्ट्रिय परीक्षा बोर्ड नियमावलीको दफा ९ (ख) मा एसईई सञ्चालन तथा व्यवस्थापनको व्यवस्था गरेको छ ।  केन्द्राध्यक्ष नियुक्ति गर्दा जिल्ला स्थित परीक्षा समन्वय समितिसँगको समन्वयमा प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले गर्ने व्यवस्था गरेको विज्ञप्तिमा स्मरण गराईएको छ । तर बोर्डले जारी गरेको निर्देशिकामा केन्द्राध्यक्षको नियुक्ति परीक्षा केन्द्र रहेकै विद्यालयका प्रधानाध्यापकलाई जिल्ला परीक्षा समन्वय समितिको सिफारिसमा एकाई प्रमुखले गर्ने भन्ने उल्लेख हुनुले नियमावलीको व्यवस्था विरुद्द अर्नगल प्रावधान राखिएको विज्ञप्तिमा आरोप लगाईएको छ । 

गत फाुन २६ गते प्रदेश शिक्षा तथा संस्कुती मन्त्री रानीकुमारी तिवारीको समेत उपस्थितीमा भएको परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धि कार्यक्रममा निर्देशिकामा तोकिएको प्रकृयाका अतिरिक्त केन्द्राध्यक्ष नियुक्ति सम्बन्धमा जिल्लामा कार्यरत मावि तहका प्रअ मध्येबाट केन्द्राध्यक्षका लागि रोष्टर तयार गर्ने र रोष्टरमा रहेका सम्बन्धित केन्द्राध्यक्षलाई परीक्षा समितिको रोहवरमा जेष्ठ शिक्षकबाट क्रमशः केन्द्रका नाम उल्लेख भएका गोला तान्न लगाई केन्द्राध्यक्ष तय गर्ने निर्णय भएको पनि स्मरण गराईएको छ । उक्त निर्णयलाई वेवास्ता गरिए पछि मुख्यमन्त्रीले चासो व्यक्त गरेका हुन् । 

शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखका यथास्थितिवादी सोच, स्वार्थ प्रेरित शैली र दुराग्रही व्यवहारका कारण त्यस्तो हुने स्थिती आएको विज्ञप्तिमा उल्लेख छ । 

यसपटकको एसईई परीक्षा बिहीबारबाट शुरु हुँदै छ । 

madesh_SEE

madesh_SEE1

प्रतिक्रिया