काठमाडौं - त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति नजिकिदैं गए सँगै तोडफोड तथा धम्कीका घटना बढ्न थाले पछि शिक्षा मन्त्रालयले निगरानी एवं कारवाहीका लागि गृह मन्त्रालयलाई अनुरोध गरेको छ । निर्वाचनको पुर्व सन्ध्यामा भईरहेका निर्वाचन आचारसंहिता विपरितका कृयाकलाप प्रति ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले उक्त अनुरोध गरेको हो । स्ववियुको निर्वाचन आगामी मंगलबार हुँदै छ ।
‘निर्वाचन आचारसंहिता विपरितका कार्यहरू कानुन बमोजिम दण्डनीय हुने भएकोले त्यस्ता कार्य गर्ने गराउने उपर प्रचलित कानुन बमोजिम कारवाही गर्न गराउन मन्त्रालय प्रतिवद्ध रहेको छ,’ मन्त्रालयका प्रवक्ता शिव कुमार सापकोटा द्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘साथै त्यस्ता आचारसंहिता विपरित हुने जो कसैका गतिविधि एवम् क्रियाकलापहरू प्रचलित कानुनबमोजिम निगरानी गर्न तथा आवश्यक कारबाही गरिदिनु हुन सम्बन्धित मन्त्रालय र निकायहरूलाई अनुरोध गरिन्छ ।’
स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण जुनसुकै निर्वाचनका अनिवार्य सर्त भएको उल्लेख गर्दै विज्ञप्तिमा यिनै सर्तहरूलाई पूर्ण पालना गर्दै त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन सम्बन्धी निर्देशिका, २०८१ जारी गरी निर्वाचन आचारसंहिताको व्यवस्था गरेको समेत मन्त्रालयले स्मरण गराएको छ । निर्धारित निर्वाचन आचारसंहिता तथा निर्देशनको पालना गर्नु विद्यार्थी संगठनहरू, मतदाता तथा विश्वविद्यालय एवम् क्याम्पस प्रशासन सबैको कर्तव्य र दायित्व भएको विज्ञप्तिमा उल्लेख छ ।
आफ्नो पक्षलाई सहयोग नगरेको आरोप लगाउँदै विद्यार्थी संघ संगठनका नेता कार्यकर्ताले निर्वाचन समितिका सदस्यहरूलाई धम्की दिने घटना बढ्दै गएको छ ।
‘विश्वविद्यालय तथा क्याम्पसहरुका सार्वजनिक संरचना तोडफोड भएको र निर्वाचन समितिका पदाधिकारी तथा अन्य पदाधिकारीहरुलाई विभिन्न किसिमका धम्की आइरहेको भन्ने समाचार प्रति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया