काठमाडौं –त्रिभुवन विश्वविद्यालय (त्रिवि)का रेक्टर र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यकक्षमा नेविसंघबाट स्ववियु सदस्यमा निर्वाचित नरेन्द्र साउद, सिकेन्द्र रोकाया लगायत ६ जनाको समूहले तोडफोड गरेको कान्तिपुर दैनिकमा समाचार छ । तोडफोडबाट कार्यकक्षमा रहेका कुर्सी, सिसा, टेबल, दराज, सोफामा क्षति पुगेको रेक्टर र डिन कार्यालयले जनाएको समाचारमा उल्लेख छ ।
प्रहरीलाई उदृत गर्दै अनलाइन खबरले चैत ३, ७ र ११ गते हुने स्नातकोत्तर तहको विज्ञान संकायको दोस्रो सेमेष्टरको परीक्षा सार्न उनीहरुले दबाब दिएका थिए । क्यालेण्डर प्रभावित हुनेगरी परीक्षा सार्न डीन कार्यालयले नमानेपछि तोडफोड गरिएको समाचारमा उल्लेख छ ।
त्यस्तै रूपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावलाई लिएर विद्यार्थी संगठनहरु बीच विवाद भएपछि उनीहरुले क्याम्पसमा तोडफोड गरेको समाचार छ ।
पछिल्लो समय विद्यार्थी संगठनको नाममा हुने दादागिरी मौलाउँदै गएको पाइन्छ । राजनीतिक दलहरुले विद्यार्थी संगठनको नाममा हुने गुण्डागर्दी संरक्षण गर्दै आएको पनि पाइन्छ । विश्वविद्यालयमा पदाधिकारीको नियुक्तिमा हुने राजनीति मात्र राजनीति होइन । शैक्षिक संस्थामा हुने तोडफोड राजनीतिक दलहरु बीचकै छद्म लडाई हो र यसले शिक्षण संस्थाहरु ध्वस्त बनाएका छन् । यस्ता हरकत एक हदमा विद्यार्थीलाई अध्ययनका लागि विदेश धकेल्ने कारण मध्ये एक पनि हो । आफ्ना भातृसंगठनहरुका गुण्डागर्दीलाई संरक्षण गरेर शैक्षिक सुधारको गफ दिनु वा युवा पलायन भए भन्नु राजनीतिक दलहरुको वेतुकको कुरा हो ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा २५ विद्यार्थी संघ–संगठनले भाग लिने समाचार छ । २०७९ चैतमा भएको निर्वाचनमा १९ विद्यार्थी संघ–संगठनले भाग लिएको समाचारमा उल्लेख छ । निर्वाचनका लागि त्रिविले आचार संहिता समेत जारी गरिसकेको समाचार छ ।
त्रिवि केन्द्रीय क्याम्पसले आगामी ५ चैतमा हुने स्ववियु चुनावका लागि मतदातासूची सार्वजनिक गरेको समाचार छ । ३३ वटा केन्द्रीय विभाग, ४ वटा संकाय र ८ वटा विशेष अध्ययनका ५ हजार ९ सय ६५ जना मतदाता रहेको स्ववियु निर्वाचन समितिका संयोजक प्रा.डा. कृष्णप्रसाद न्यौपानेले जानकारी दिएको दिएको समाचारमा उल्लेख छ । स्ववियु निर्वाचनको औचित्यमा स्याङ्जा वालिङका टंकप्रसाद गैरेले प्रश्न गरेको पाठक पत्र कान्तिपुरमा छापिएको छ ।
प्राध्यापक र विद्यार्थीको आन्दोलनका कारण कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसको परीक्षा अनिश्चित बनेको समाचार छ । प्राध्यापकहरूले भेटेरिनरी अध्ययनलाई कृषि सरह मान्यता दिएर विश्वविद्यालयका पदाधिकारी तथा विशेष समितिहरुमा नियुक्ति पाउनु पर्ने लगायतका माग राख्दै पेन डाउन गरेका छन् । त्यस्तै विद्यार्थीले परीक्षा सञ्चालन गर्नुपर्ने माग गर्दै क्याम्पसमा तालाबन्दी गर्दा पठनपाठन र परीक्षा अनिश्चित बनेको समाचारमा उल्लेख छ ।
काठमाडौं विश्वविद्यालय (केयु) को उपकुलपतिका लागि नाम सिफारिस गर्न छनोट समितिलाई कुलपति एवं प्रधानमन्त्री केपी ओलीले दिएको समय सकिएको समाचार छ । प्रधानमन्त्री ओलीले समितिका सदस्यलाई समय तोकेर नाम सिफारिस गर्न आग्रह गरेकोमा छनोट समितिले नाम सिफारिस गर्न नसकेको समाचारमा उल्लेख छ ।
मधेश कृषि विश्वविद्यालयको सभाले उपकुलपति डा.वैजनाथ महतो र रजिष्ट्रार श्रीभगवान ठाकुरलाई बर्खास्त गर्ने निर्णय गरेको समाचार छ । नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहको नेतृत्वमा गठित तीन सदस्य समितिले ७ असोजमा बुझाइएको प्रतिवेदनको आधारमा दुबैजना विश्वविद्यालयको अनधिकृत गतिविधिमा संलग्न रहेको पाइएकाले विश्वविद्यालय सभाले दुवै जनालाई बर्खास्त गर्ने निर्णय गरेको समाचारमा उल्लेख छ ।
मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले तीन हजार आठ सय ४१ विद्यार्थीलाई दीक्षित गरेको समाचार छ ।
बागमती प्रदेश सरकारले सञ्चालनमा ल्याएको बागमती प्रदेश विश्वविद्यालयले आगामी शैक्षिक शत्रबाट व्यावसायिक र प्राविधिक विषय पठनपाठन सुरु गर्ने गरी तयारी गरेको समाचार छ ।
प्राध्यापक र कर्मचारीलाई वेतलबी विदा जोडेर पेन्सन दिने निर्णय त्रिविले उल्ट्याउने तयारी गरेको समाचार छ । वेतलबी विदा सेवा अवधिमा जोड्न नपाइने नियम विपरीत २०६८ वैशाख ८ भन्दा अगाडि बिदामा बसेका प्राध्यापक र कर्मचारीले वेतलबी विदा जोडेर पेन्सन लिइरहेको समाचार प्रकाशित भएका थिए ।
त्रिविका शिक्षाध्यक्ष प्रा.डा. खड्क केसीले पोखराको पृथ्वीनारायण क्याम्पसमा वरीयताक्रम मिचेर दोस्रो नम्बरमा रहेका उपप्राध्यापक डा. विजय बहादुर थापालाई सहायक क्याम्पस प्रमुखमा नियुक्त गरेको समाचार छ ।
टीका भट्टराईले परीक्षा प्रणाली सुधार्ने बाटो शीर्षकमा कान्तिपुरमा लेख लेखेका छन् । पाठ्यक्रम खराब नभए पनि केही फेरबदल आवश्यक भएको लेखमा औँल्याइएको छ । त्यस्तै अहिलेको पाठ्यक्रम परिवर्तनको एउटा महत्त्वपूर्ण पक्ष भनेको विद्यार्थीले घरमा गरेको कामको प्राप्तांकमा समावेश गर्ने प्रयत्नले सुधार हुन सक्ने लेखमा उल्लेख छ ।
गोरखापत्रमा हरि केसीले विद्यार्थी पलायन रोक्न ज्ञान उत्पादन गर्ने थलो विश्वविद्यालय अनुसन्धान केन्द्रित हुनु पर्ने, नेपाली विद्यार्थीलाई नेपालमै बसेर पढूँ पढूँ लाग्ने वातावरण तयार गर्नु पर्ने लेखेका छन् ।
प्रा.डा. शान्तिकृष्ण अधिकारीले विश्वविद्यालयमा विद्यार्थीको खडेरी शीर्षकमा लेख लेखेका छन् । त्यस्तै तीर्थ भट्टराईले गोरखापत्रमा विद्यार्थीको भविष्यप्रति चिन्ता शीर्षकको लेखमा विदेश अध्ययनमा गएर पढाइ पुरा नगरेका विद्यार्थी उता फर्कन चाहँदैनन् भने उनीहरूलाई समकक्षतामा असर नपर्ने गरी नेपाली विश्वविद्यालयका समान कार्यक्रममा समावेश गरी पढाइ पूरा गर्ने अवसर दिनु पर्ने लेखमा उल्लेख छ ।
नेपाली छात्राको भारतको ओडिसास्थित कालिंगा इन्स्टिच्युट अफ इण्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी)को छात्राबासमा भएको मृत्यको कारण उत्पन्न तनाव साम्य हुँदै गएको कान्तिपुरमा समाचार छ ।
धुलिखेल अस्पतालका आवासीय चिकित्सकको आत्महत्या प्रयाससँग सम्बन्धित घटनामा केयू डीन कार्यालयले स्वतन्त्र छानबिन समिति बनाएको समाचार छ ।
समितिले उपकुलपतिलाई ५ दिन भित्र प्रतिवेदन बुझाउने र निलम्बनमा परेका कुनै पनि चिकित्सकलाई नियमित हैसियतको काम कारबाही गर्न नदिने निर्णय गरेको समाचारमा उल्लेख छ । नेपाल मेडिकल काउन्सिलले ४ जना चिकित्सकलाई ७ दिनका लागि निलम्बन गरेर छानविन गर्दै गरेको समाचारमा उल्लेख छ ।
सल्यानको कपुरकोट गाउँपालिकाको सल्यान कालिका माध्यमिक विद्यालय (मावि)मा अध्ययनरत एक छात्रालाई प्रधानाध्यापकले अश्लील म्यासेज पठाएको भन्दै गाउँपालिकाको न्यायिक समितिमा उजुरी परेको छ । छात्रालाई अश्लील म्यासेज पठाएको आरोप लागेपछि प्रधानाध्यापकले राजिनामा दिएको समाचारमा उल्लेख छ ।
चैत ७ देखि शुरुहुने कक्षा १० को अन्तिमा लिइने विद्यालय शिक्षा परीक्षा (एसईई) मा ५ लाख २२ हजार विद्यार्थी सहभागी हुने समाचार सार्वजनिक भएको छ । नियमित तर्फ चार लाख ६८ हजार, ग्रेड वृद्धिका लागि ५० हजारले फारम भरेको समाचारमा उल्लेख छ । त्यस्तै परीक्षाको लागि दुई हजार एक सय ३१ वटा केन्द्र तोकिएको समाचारमा उल्लेख छ ।
विषयगत शिक्षकको अभाव र विद्यालयले समयमै कोर्स पूरा गर्न नसक्दा कर्णालीका हिमाली र पहाडी जिल्लाबाट १०, ११ र १२ कक्षाका विद्यार्थी हरेक वर्ष ट्युसन पढ्नकै लागि वीरेन्द्रनगर (सुर्खेत) आउनु पर्ने बाध्यता रहेको कान्तिपुरमा समाचार छ ।
सरकारले आर्थिक वर्ष २०८१/८२ मा दलित समुदायका विद्यार्थीको छात्रवृत्तिका लागि करिब एक अर्ब रुपियाँ खर्च गर्ने गोरखापत्रमा समाचार छ ।
भरतपुर महानगरपालिकाले पालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य परीक्षण अभियान सुरु गरेको समाचार छ । यसले ४२ हजार विद्यार्थी लाभान्वित हुने समाचारमा उल्लेख छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका हथराटोलमा विद्यालय भवन निर्माण भएको दुई वर्ष हुँदा पनि पुरा नभएपछि तीन किलोमिटर टाढाको अर्को विद्यालय धाउनुपर्ने बाध्यता रहेको समाचार छ ।
राप्ती गाउँपालिकाले बाजा र संगीत सम्बन्धी पढाइ सहज बनाउन शिक्षकलाई तालिम दिइरहेको समाचार छ । बालविकास कक्षा पढाउँदा नाच्दै, गाउँदै पढाउन तालिमले सहयोग हुने शिक्षकले बताएको समाचारमा जनाइएको छ ।
काठमाडौँ महानगरपालिका भित्रका केही सामुदायिक विद्यालयले अवकाश प्राप्त शिक्षकको नाममा पनि तलबभत्ता लिने गरेको पाइएको समाचार छ । कानुन विपरीत तलबभत्ता लिएका शिक्षकबाट ५० लाख रुपियाँ फिर्ता गराइएको समाचारमा उल्लेख छ ।
अनेरास्ववियु रामेछापले व्यावसायिक सिपका कार्यक्रम सञ्चालन गरेपछि रामेछापका केही विद्यालयका विद्यार्थीले रचनात्मक सिप सिकेर पकेट खर्च जुटाउन थालेको समाचार छ ।
ललितपुरको बागडोलमा रहेको एक्मी कलेज अफ इञ्जिनियरिङमा पठनपाठन नभएपछि अध्ययनरत विद्यार्थीलाई अन्यत्र सारिएको समाचार छ ।
प्रधानमन्त्री केपी ओलीले खुलेरै निजी विद्यालयको पक्ष पोषण गर्न थालेको हिमालय टिभीले समाचार प्रशारण गरेको छ । संसदमा छलफलको क्रममा रहेको विद्यालय शिक्षा विधेयकमा सांसदहरुले निजी विद्यालय गुठीमा रुपान्तरण गर्नु पर्ने संशोधन हाले पनि प्रधानमन्त्री ओलीले निजीको लगानी डुबाउने गरी गुठीमा लैजान नहुने अभिव्यक्ति दिएको समाचारमा उल्लेख छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्मा अनिवार्य अवकाशमा गएपछि शिक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीलाई मन्त्रालयले महानिर्देशनको जिम्मेवारी दिएको छ ।
यो सामग्रीको अडियो भिडियो सामग्री
:
साताभरीका शैक्षिक विषयवस्तुको सामाजिक न्याय र सिर्जनशील शिक्षण विधिका दृष्टिबाट वर्गीकरण र संश्लेषण गरी सान्दर्भिक टिप्पणी सहित नीति निर्माता एवं सरोकारवालाहरुलाई शैक्षिक समाचारको सार उपलब्ध गराउनु यसको उद्देश्य हो । शिक्षा नीति तथा अभ्यास केन्द्र र एडुखबरको संयुक्त प्रयासमा दैनिक पत्रिकाहरु कान्तिपुर, गोरखापत्र र दि हिमालयन टाईम्स, न्यूज पोर्टलहरु अनलाईन खबर, सेतोपाटी र रातोपाटी अनि हिमालय टिभिको बेलुका ७ र नेपाल टेलिभिजनको बेलुका ८ बजेको समाचारलाई समेटिएको छ । यस पटक २०८१ साल फागुन १७ गते देखि २३ गते सम्मका विषयवस्तु समेटेका छौं – सम्पादक ।
गत साताका सामग्री पढ्नुहोस् : शिक्षामा गत साता
प्रतिक्रिया