काठमाडौं - विद्यालय शिक्षामा जारी निजी लगानी प्रति प्रधानमन्त्रीको 'उदार अवधारणा' सार्वजनिक भएको भोली पल्ट पूर्व शिक्षा मन्त्रीले संसदमा केपी ओलीको परिचय स्पष्ट पार्न माग गरेकी छन् । निजी विद्यालय सञ्चालकहरुको संस्था प्याब्सनको महाधिवेशन उद्घाटन गर्दै सोमबार प्रधानमन्त्री केपी ओलीले व्यक्त गरेको धारणा प्रति पूर्व शिक्षा मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टिकी सांसद सुमना श्रेष्ठले कटाक्ष गरेकी हुन् ।
'म सोध्न चाहन्छु हिजो जुन पात्रले अभिव्यक्ति दिएका थिए ती पात्र यी तीन मध्ये को हुनुहुन्छ ?' परिचय स्पष्ट पार्न माग गर्दै उनले सोधिन् 'नेपाल सरकारका प्रधानमन्त्री हुन् कि ? वा एमालेका अध्यक्ष कमरेडको अभिव्यक्ति हो ? वा त्यो अभिव्यक्ति एक नेपाली पात्र ओली जीको मात्रै हो ? जवाफ दिनु होला ।'
प्रधानमन्त्री ओलीले निजी विद्यालय कम्पनी ऐन अनुसार यथावत हुने र गुठीको प्रावधानमा जान नहुने पक्षमा खुलेरै अभिव्यक्ति दिएका थिए ।
‘कहाँबाट आयो यो गुठीको कुरा ? म त छक्क पर्छु । व्यक्तिले खोलेको छ । गुठी रे । तपाईको गुठी तपाई नै हो’ प्रधानमन्त्री ओलीले भनेका थिए, ‘गुठीको भ्रममा नपर्नु होला । निजी क्षेत्रले दक्ष र सक्षम, कुसल नागरिक उत्पादन गर्ने हो । सरकार एक्लैले पर्याप्त हुँदैन । गुठी बनाउनु पर्ने, नाफा निकाल्नै नहुने, घाटामा चलाउनु पर्ने रु बैँकको ब्याज चाहि कसले तिरिदिन्छ ?’
यो पढ्नुहोस् : सामुदायिक विद्यालयलाई 'खुइल्याएर' निजी उक्साउने प्रधानमन्त्रीको नीति !
यही प्रसंगमा सांसद श्रेष्ठले प्रधानमन्त्रीकै हैसियतमा यो अभिव्यक्ति आएको हो भने 'आफ्नै शिक्षा मन्त्रीको अनिवार्य तथा निशुल्क शिक्षा ऐन कार्यान्वयनको काममा किन भाँजो हालेको ?' भन्दै प्रश्न गरिन् ।
'वा एमालेका अध्यक्ष कमरेडको अभिव्यक्ति हो भने निशुल्क शिक्षा भनेर जनताको दिमाग ३० / ४० बर्ष किन भुट्नु भयो ?' प्रश्न गर्दै उनले भनिन् 'निजी शिक्षामा लगानी बढाउने भनेर सबै पार्टि पंक्ति र आफ्ना सांसदहरुलाई प्रशिक्षण दिनु होला भनेर सुझाव पनि दिन चाँहे ।'
साम्यवादी नेताले विद्यालय शिक्षामा मुनाफा कमाउ भन्न नसुहाउने बताउँदै उनले त्यो अभिव्यक्ति एक नेपाली पात्र ओली जीको मात्रै हो ? भन्दै जवाफको माग गरिन् ।
शिक्षाका ४ विषयमा प्रधानमन्त्री, शिक्षा मन्त्री र गृह मन्त्रीबाट जवाफ चाहने भन्दै आफ्ना कुरा राख्न शुरु गरेकी सांसद श्रेष्ठले आफू मन्त्री हुँदा पटक पटक विभिन्न भातृसँगठनहरुले निजी बन्द गरेर देखाउन दिएको चुनौतीको कारण समेत स्पष्ट भएको उल्लेख गरिन् ।
फरक प्रसंगमा सांसद श्रेष्ठले भक्तपुर स्थित काठमाडौँ स्कुल अफ ल र धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय धुलिखेल अस्पतालमा विद्यार्थीले कहिले दलका भातृसंगठनबाट त कहिले प्राध्यापकबाट असुरक्षित महसुस गरेको उल्लेख गरिन् ।
यस्तो व्यवहारले विद्यार्थीको मानसिक स्वास्थ्य, आत्मसम्मान र आत्मविश्वासमा असर गर्ने भन्दै उनले यसको जिम्मेवारी कसले लिने ? जबाफदेही को हो ? भन्दै प्रश्न गरिन् ।
त्रिभुवन विश्वविद्यालय अन्तरगतका क्याम्पसमा जारी स्ववियु निर्वाचनका लागि सांसद र दलका शीर्ष नेतालाई कमाण्डरका रुपमा खटाउने सबै पार्टी र नेताले विद्यार्थीका समस्या किन नसकेको भन्द उनले त्रिविको पदाधिकारीको अफिस तोडफोड गर्ने नेविसंघका कार्यकर्तालाई कारबाही गर्न माग गरिन् ।
'पार्टिको नारामा विद्यार्थीलाई कक्षाकोठाबाट थुतेर लग कार्यकर्ता बनाउ' उनले भनिन् 'सरकारी शिक्षालयहरू तोडफोड गर, तालाबन्दी गर, प्रशासकलाई दलको कार्यकर्ता बनाउ । प्राध्यापकलाई दलको कार्यकर्ता बनाउ, शिक्षकलाई दलको कार्यकर्ता बनाउ, गुणस्तर खस्काउ, नीजिलाई लगानी बढाउ नाफा कमाऊ ।'
त्यही नाफाको केही प्रतिशत पार्टीको कार्यक्रममा र चुनावमा चन्दाका लागि प्रयोग गर्ने भएकाले नै विद्यालय शिक्षामा जारी निजी लगानीका पक्षमा प्रधानमन्त्रीको अभिव्यक्ति आएको उनले तर्क गरिन् ।
प्रतिक्रिया