Edukhabar
सोमबार, १९ फागुन २०८१
गतिविधि

केन्द्रको महानिर्देशकमा काप्री

सोमबार, १९ फागुन २०८१
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्री

भक्तपुर - शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा कृष्णप्रसाद काप्रीको सरुवा भएको छ । ततकलिन महानिर्देशक दिपक शर्माको फागुन पहिलो साता अनिवार्य अवकास भए पछि महानिर्देशक पद खाली थियो ।

चिकित्सा शिक्षा आयोगको सदस्य सचिवको जिम्मेवारी सम्हालेका काप्रीलाई अघिल्लो सोमबार बसेको मन्त्री परिषद्को बैठकले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय सरुवा गर्ने निर्णय गरेको थियो । मन्त्रालय हाजिर भएका काप्रीलाई आईतबार केन्द्रको महानिर्देशक बनाउने निर्णय भएको हो । सोमबारदेखि उनले कार्यभार सम्हाल्ने छन् । 

विद्यालय शिक्षाको बजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने, स्थानीय तहसम्म समन्वय गर्ने काम केन्द्रको हो । काप्रीले यसअघि शिक्षा मन्त्रालय अन्र्तगत विद्यालय शिक्षा, योजना र उच्च शिक्षा महाशाखामा बसेर काम गरिसकेका छन् । यस्तै परीक्षा नियन्त्रक सहित उनले शैक्षिक गुणस्तर परीक्षण केन्द्र र पाठ्यक्रम विकास केन्द्रको समेत जिम्मेवारी सम्हालिसकेका छन् ।

गोरखाको साविक नामजुङ् गाविस हाल शहीद लखन गाउँ पालिकाका काप्री २०५३ साल कात्तिकमा विद्यालय निरीक्षकबाट शिक्षा सेवा प्रवेश गरेका हुन् । २०६१ साउन २५ गते उपसचिव भएका काप्री २०७१ माघ २८ मा सहसचिव भएका हुन् । 

प्रतिक्रिया