काठमाडौं - विद्यालय शिक्षाको नवप्रवर्तन तथा स्तरोन्नतिका लागि काठमाडौँ महानगरपालिकाले शैक्षिक मेला गर्ने भएको छ । शुक्रबार र शनिबार राष्ट्रिय सभा गृह परिसरमा हुने ‘काठमाडौँ शैक्षिक मेला २०८१’ मा विद्यालयहरुमा भएको शैक्षिक सुधार तथा शैक्षिक वातावरणका लागि थालिएका कार्यक्रमहरुबाट विद्यार्थीमा परेको प्रभावका बारेमा प्रस्तुती एवं प्रदर्शनी हुने जनाईएको छ । उक्त कार्यबाट विद्यार्थीले सिकेका ज्ञान र सिपहरुको बारेमा सरोकारवालाहरुलाई जानकारी हुने महानगरका प्रवक्ता नविन मानन्धरले बताए । महानगरका शैक्षिक कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा सहभागी विद्यालय र संघसंस्थाहरुसँगको सहकार्यमा मेला हुने बताउँदै उनले विद्यालय शिक्षाको नवप्रवर्तन तथा स्तरोन्नतिका लागि मेला कोशेढुङ्गा हुने दावि गरे ।
महागरका शहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले, शैक्षिक सत्रको अन्त्यमा सैद्धान्तिक विषयको लिखित परीक्षा भएजस्तै व्यवहारिक र प्रयोगात्मक कक्षाहरुको नतिजा हेर्न यस्ता मेला र प्रर्दशनीले सघाउने दावी गरे ।
विद्यालय शिक्षा सुधारका लागि महानगरले सामुदायिक विद्यालयहरुमा विभिन्न कार्यक्रम लागू गरेको छ । शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकहरुको क्षमता विकास लगायत विद्यालयमा जारी कार्यक्रमहरुका बारेमा मेलाबाट जानकारी लिन सकिने निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले बताए ।
मेलामा विद्यार्थी नमूना संसद अभ्यास सहित विद्यार्थीले नविनतम सिकाइ गतिविधि प्रदर्शन गर्नेछन् । विद्यालय शिक्षा सुधारसम्बन्धी छलफल सहित बुक फ्री फ्राइडे अन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टल मार्फत रुचि र नतिजा प्रर्दशन हुने छन् । नेपाल भाषाको सिकाइ विधि, मौलिक संस्कृति, भेषभूषा झल्काउने प्रदर्शनी, मौलिक वादन तथा गायन प्रस्तुति पनि मेलामा समावेश गरिनेछ ।
पानीको गुण जाँच तथा प्रविधि मार्फत सिकाइको प्रदर्शनी, विद्यार्थीका अनुभूति कोरिएका एक हजार बढी स्केचिङ र स्कल्प्चरको नमूना प्रदर्शनी, टिचर कलेज प्रोग्राम सम्बन्धी गतिविधि तथा नतिजा सुधारका असल अभ्यासको आदान प्रदान सहित मेलामा महानगरपालिकाका शैक्षिक गतिविधिको जानकारी प्राप्त हुने जनाईएको छ ।
कार्यक्रमका ३ चरण मध्ये मेला पहिलो चरणको कार्यक्रम भएको महानगरले जनाएको छ । दोस्रो चरणमा चालु शैक्षिक सत्रको अन्तिम बुक फ्री फ्राइडेका दिन फागुन २३ गते साझेदार र सरोकारवालाले आफू नजिकको सामुदायिक विद्यालयका कार्यक्रम अवलोकन गराउने योजना बनाइएको छ । यस्तै तेस्रो चरणमा शैक्षिक क्रियाकलापका नविनतम आयामका विषयमा पृष्ठपोषण लिन गोलमेच अन्तक्र्रिया आयोजना गरिनेछ ।
महानगरपालिका भित्र ८७ वटा सामुदायिक विद्यालय छन् । त्यहाँ ६१ हजार तीन सय २९ जना विद्यार्थी र पाँच सय २४ वटा निजी विद्यालयमा दुई लाख १० हजार नौ सय ३४ जना गरी दुई लाख ७२ हजार दुई सय ६३ जना विद्यार्थी अध्ययनरत रहेको महानगरसँग तथ्याँङ छ ।
फोटो : metronews.kathmandu.gov.np
प्रतिक्रिया