Edukhabar
आइतबार, ११ फागुन २०८१
विचार / विमर्श

साथमा औपचारिक डिग्री, तर पनि बढ्दो छ बेरोजगारी !

शिक्षा नीति, उद्देश्य, पाठ्यक्रम, पाठ्यपुस्तक, तथा शिक्षण विधि लगायतमा संशोधन, परिमार्जन तथा परिवर्तन गरी शिक्षालाई व्यवसायिक, प्रविधिमैत्री बनाउन जरुरी

शनिबार, १० फागुन २०८१

शिक्षा व्यक्ति, समाज एवं सिङ्गो देश विकासकोे जग हो । अहिले देशमा शिक्षित व्यक्तिहरुको संख्यामा बढोत्तरी भएको छ । हरेक पालिकाहरुमा विद्यालय खुलेका छन् । देशमा डेढ दर्जनको संख्यामा विश्वविद्यालयहरु छन् । राज्यले शिक्षामा ठुलो लगानी पनि गरेको छ । तथापि शिक्षाले व्यक्ति, समाज र देशको समृद्धिको आधार निर्माण गर्न सकेको छैन । देशको शैक्षिक प्रणाली नै जीवन उपयोगी, व्यवसायिक तथा गरीखाने मोडलको नभएकोे विज्ञहरुको ठहर छ । आजको वास्तविता के छ भने शिक्षा रोजगारमूलक छैन । व्यवसायिक छैन । विश्वविद्यालयसम्म अध्ययन गरेर पनि शिक्षित जनशक्ति बेरोजगार छ । रोजगारीको लागि विदेश पलायन हुनु पर्ने स्थिति छ । यस कोणबाट हेर्दा अहिलेको शिक्षालाई बदलेर उत्पादन र रोजगारसँग जोड्नु पर्दछ । 

बेरोजगारी र गरिवी एक अर्काका परिपुरक हुन् । रोजगारीले आयआर्जन गर्ने अवसर दिन्छ । आर्थिक आयआर्जनको अभावमा व्यक्ति सम्पन्न हुन सक्दैन । व्यक्ति सम्पन्न नहुनु भनेको समाज र देश नै गरिब हुनु हो । आयआर्जन गर्नको लागि व्यवसायिक ज्ञान तथा सीपको खाँचो हुन्छ । शिक्षित युवापस्ता उच्चशिक्षासम्मको अध्ययन गर्दा पनि आफ्नो खुट्टामा उभिन सक्ने, उद्यमी बन्नसक्ने र स्वरोजगारको ढोका खोल्न सक्ने ज्ञान तथा सीपको अभाव भएकोले प्रमाणपत्रहरु दराजमा थन्काएर सीप रहित शिक्षित व्यक्तिको रुपमा अन्तराष्ट्रिय बजारमा कामको खोजीमा विदेसिएका छन् । त्यसैले पढे लेखेको शिक्षित जनशक्तिले देश भित्र कुनै पनि पेशा, खोज्न, रोज्न र टिकाउन सक्ने व्यवसायिक ज्ञान तथा सीप आर्जन गर्नु पर्दछ । 

विद्यालयदेखि विश्वविद्यालयहरुका पाठ्यक्रम तथा पाठ्यपुस्तकहरुमा देश भित्र पर्याप्त प्राकृतिक स्रोत र साधनहरु छन् भन्ने बिषयबस्तुको समावेश गरिएको छ । नेपालमा अनेक प्रकारका औषधि जन्य वनस्पतिहरु पाइन्छन् भन्ने बिषय पढाइन्छ । हाम्रो देश कृषि प्रधान देश हो । कृषि तथा पशुपालन प्रणाली परम्परागत शैलीको छ भन्ने बिषयबस्तु घोकाइन्छ । यति मात्र होइन, हाम्रो देशमा प्रशस्त मात्रामा खानी खजानाहरु छन् । सुन, चाँदी, फलाम, तामा, हिरा, मोति, युरेनियम, पेट्रोलियम पदार्थ, कोइला लगायतका खनिज पर्दाहरु छन् भन्ने सूचनात्मक शिक्षाले कसरी शिक्षितहरुमा उल्लेखित खनिज पदार्थहरुको खोज, अनुसन्धान, अन्वेषण, उत्खनन् तथा उपयोग गर्न सक्ने ज्ञान तथा सीप आर्जन हुन सक्दछ ? सक्दैन । यस कोणबाट हेर्दा हाम्रो देशको अवैज्ञानिक शिक्षा प्रणालीलाई बदलेर वैज्ञानिक तथा व्यवहारिक बनाउनु पर्दछ । 

हाम्रो देशमा प्राकृतिक स्रोत र साधनको कमी छैन । देश कृषि प्रधान छ । हिमाल, पहाड तराइको जैविक विविधता छ । कृषि उत्पादनको ठुलो संभावना छ । विद्यालय तथा विश्वविद्यालयको वरिपरि अत्यन्त अमूल्य औषधिजन्य वनस्पतिहरु छन् । खानी, खजनाहरु छन् । परन्तु हाम्रो शिक्षाले न त कृषि तथा पशुपालनको क्षेत्रलाई आधुनिकीकरण, वैज्ञानिकीकरण, यान्त्रीकीकरण तथा व्यवसायिकिकरण गर्न सकेको छ, न त वनस्पतिहरुको पहिचान र उपयोग ?  यस अर्थमा शिक्षा गरीखाने हुन सकेन । सूचनात्मक ज्ञानको स्रोतको रुपमा सञ्चालित शिक्षाले व्यक्ति र समाजलाई समृद्ध बनाउन सक्दैन । देश विकास हुन सक्दैन । 

आजका विकासित राष्ट्रहरुले विकासमा फड्को मार्न सफल हुनको पछाडि ती देशहरुले अबलम्बन गरेको गुणस्तरीय एवम् वैज्ञानिक शिक्षा प्रणाली हो । उनीहरुले  शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, अनुसन्धान, कृषि, पशुपालन, अर्थशास्त्र, राजनिति लगायतका क्षेत्रहरुमा चमत्कारिक विकास गरेका छन् । आज हाम्रा शिक्षित जनशक्ति अमेरिका, युरोप, अष्ट्रेलिया, दक्षिण कोरिया, खाडीमुलुक लगायतका देशहरुमा कामदारको रुपमा गईरहेका छन् ।  शिक्षितहरु विदेश पलायन हुनुको पछाडि देशको शिक्षा प्रणाली उत्पादनशील, गरी खाने सीपमा आधारित नहुनु हो । 

देशका विभिन्न क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने कार्य शिक्षाको हो । साधारण, व्यवसायिक तथा प्राविधिक क्षेत्रमा आवश्यक दक्ष तथा व्यवसायिक जनशक्ति उत्पादनगरी व्यक्तिको समृद्धि र देशको आर्थिक विकासमा टेवा पुराउने काम नै शिक्षाको भएकोले राज्यले तदनुरुपको शिक्षा नीति, पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण, शिक्षण सिकाइ लगायतका क्षेत्रलाई आधुनिक, वैज्ञानिक, व्यवहारिक तथा जीवन उपयोगी बनाउनु पर्दछ । 

शिक्षाले शिक्षितहरुलाई जागरुक, चेतनशील, व्यवसायिक, आत्मविश्वासी तथा कर्मशील बनाउनु पर्दछ । शिक्षामा पेशागत ज्ञान र सीपको अभाव भएकोले देशमा शैक्षिक बेरोजगार ठूलो समस्याको रुपमा रहेको छ । अहिले विज्ञान र प्रविधिको क्षेत्रमा भएको विकास र यसको प्रभावले समाजमा परम्परागत रुपमा चली आएका पेशा, व्यवसाय तथा आयआर्जनका शैलीहरु बदलिएका छन् । विज्ञान र प्रविधिले ल्याएको परिवर्तनसंग अपडेट हुन र यिनीहरुको उपयोगगरी व्यबसायिक सीप आर्जन गर्नको लागि वैज्ञानिक तथा प्रविधिमैत्री शिक्षा आवश्यक हुन्छ । 

नेपाल कृषि प्रधान मुलुक हो । कृषि क्षेत्रमा श्रमगर्ने किसानहरुलाई यस क्षेत्रमा आवश्यकपर्ने कृषि शिक्षाको जरुरत हुन्छ । यसैगरी पशुपालन, फलपूmल खेति लगायतका अन्य कृषिजन्य उत्पादनगरी यस क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकीकरण र व्यवसायिकिकरण गर्न सक्ने सक्षम जनशक्तिको उत्पादन आजको आवश्यकता हो । शिक्षाले हाम्रो देशमा उपलब्ध जल, जमिन, जडीबुटी, जंगल, खनिज पदार्थको खोज, अनुसन्धान, उत्खनन एवं उपयोग गर्नसक्ने दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक मात्र होइन, अनिवार्य शर्त हो । यसको लागि राज्यले देशको शिक्षा नीति, उद्देश्य, पाठ्यक्रम, पाठ्यपुस्तक, तथा शिक्षण विधि लगायतमा संशोधन, परिमार्जन तथा परिवर्तन गरी शिक्षालाई व्यवसायिक, प्रविधिमैत्री बनाउन जरुरी छ । 

प्रतिक्रिया