Edukhabar
शुक्रबार, ०९ फागुन २०८१
विचार / विमर्श

सफल हुन कर्मले मात्र पुग्छ कि भाग्य पनि चाहिन्छ : एटोमिक ह्याबिट पुस्तकको सन्दर्भ सहित

जिन्दगीको दौडमा मैदानमा उत्रिएका सबै सफल हुँदैनन् । यस्ता यात्रामा सफल नहुनेहरूका कथा भने यो समाजले लेख्दैन । यसका कारण पनि खोज्दैन । कसैले यस्ता कथा लेखि हाले पनि ती कथा बिक्दैनन् । जो सफल भए तीनका कथालाई भने यहि समाजले थप 'ग्लोरिफाइ' गर्दछ ।

विहीबार, ०८ फागुन २०८१

मानवीय स्वभाव र सफलताको चाहना 

मानिस स्वभावैले नाम र दाम कमाउन चाहन्छन् । भन्ने गरिन्छ धेरै जना नेम र फेमका पछाडि दौडेका हुन्छन् । अर्को अर्थमा भन्दा सबैजना सफल बन्नकै लागि दौडने हुन् । जिन्दगीभरको दौड । जिन्दगीभरको हतार । फूर्सद कमैलाई छ । यस्तो दौड कतिका लागि पेट पाल्नलाई छ भने कतिका लागि कमाउनैका लागि छ । मानव जीवन नै दौडका लागि जस्तो छ । तर सबैमा यहि स्वभाव नहुन पनि सक्ला । यसमा कोहि अपवाद पनि हुन सक्छन् । शायद सन्त महात्माहरु यस नाम र दामको दौडमा संलग्न नहोलान् कि ? 

के जिन्दगीको यात्रामा दौडेकाहरू सबै सफल भएका छन् त ? एउटै मार्गमा दौडेका मध्ये एउटा सफल हुने तर अर्को नहुने किन ? दौडेकाहरू सबैले जित्ने प्रणाली शायद यस धर्तीमा छैन पनि होला । 

जिन्दगीको यस दौडमा जित्नेहरू उनका कर्मका कारणमात्र सफल भएका हुन् कि भाग्य वा अरू कुनै तत्वको पनि भूमिका होला ? 

भन्ने गरिन्छ सफल व्यक्तिले अरुले भन्दा फरक ढँगबाट काम गर्छन् । सोच्ने शैली नै फरक हुने गर्दछ । बाहिरबाट हेर्दा उस्तै उस्तै ढँगबाट काम गरेको जस्तो देखिए पनि सफल हुन नसकेकाहरू के कस्ता कमि कमजोरीका कारण सफल नभएका होलान् ? एउटै परिवेशमा रहि काम गर्दा एउटालाई सफलता हासिल हुने तर अर्कोलाई नहुने किन होला ? 

सफल हुन नसक्नुका पछाडि के कस्ता कारण हुन्छन् होला ? असफलताको पछाडि कारण र सिकाइ दुवै हुन्छन् होला । साथै असफलता पिडादायक पनि हुन्छ नै । थोमस एल्बा एडिसनले भनेजस्तै असफलताबाट पनि सिकिरहेको छु भन्ने कति जना हुन सक्लान् ?

जिन्दगीको दौडमा मैदानमा उत्रिएका सबै सफल हुँदैनन् । यस्ता यात्रामा सफल नहुनेहरूका कथा भने यो समाजले लेख्दैन । यसका कारण पनि खोज्दैन । कसैले यस्ता कथा लेखि हाले पनि ती कथा बिक्दैनन् । जो सफल भए तीनका कथालाई भने यहि समाजले थप 'ग्लोरिफाइ' गर्दछ । अझ मिलेसम्म बढाइ चढाइ गरेर लेख्छ । यस्तो सँस्कार हामीकहाँ मात्र होइन होला । मानव समाज रहेसम्म हुने यस्तै होला ।   

सफल व्यक्तिले गरेका काम र उनका आनीबानीलाई आधार मानेर यस धर्तीमा धेरै पुस्तक लेखिएका छन् होला । सफलता पाउने सुत्र वा यस्तै यस्तै शीर्षकमा लेखिएका पुस्तकहरु धेरैले मन पनि पराउँछन् । त्यहि भएर यस समाजले सफल भएका व्यक्तिका बारेमा लेखिएका कथाहरू खोजि खोजि पढ्छ । यस्ता कथा राम्रैसँग बिक्छ । अझ विज्ञहरूले त त्यसका आधारमा थप सिद्धान्त बनाउन पनि सक्छन् । 

तर त्यति नै प्रयास गर्दा अर्को व्यक्ति किन सफल बन्न सकेन भनेर खास कारण खोज्ने प्रचलन छैन । वौद्विक जमात पनि कुन व्यक्ति सफल होला र त्यसका बारेमा लेखौँला वा बोलौँला भनेर कुरेर बसे जस्तो देखिन्छ । सफलता असफलता दुवै हात लाग्छन् जिन्दगीको यस दौडमा । यहाँ व्यक्तिले सार्थक प्रयास जारी राख्नेमात्र हो । किनकी नतिजा प्रयास गर्नेको हातमा मात्र छैन ।

व्यक्तिगत सफलताको कारक के ?

व्यक्ति सफल हुन आफ्नो प्रयासले मात्र पुग्छ कि तहाँ अन्य कुनै तत्वले पनि सँगै काम गरेको हुन्छ ? बाहिरबाट गरिने समान प्रयासमा पनि एक सफल हुने र अर्को सफल हुन नसक्नुका पछाडि कतै यहि अदृश्य शक्तिले त काम गरिरहेको छैन ?  

एकछिन सोचौँ त । के व्यक्तिको सफलतामा भाग्यको योगदान हुन्छ ? यस्तै भाग्य वा दैवी शक्तिमा विश्वास गर्ने जमात हामीकहाँ के कति छन् होला ? कतै बाहिर भन्ने र भित्रभित्रै गरिने व्यवहारमा फरक त छैन यस समाजका पात्रहरूमा ? 

धेरै व्यक्ति बाहिर नभने पनि भित्रभित्रै किन अदृष्य शक्तिको शरणमा परिरहेका छन् त ? बाहिर जे भने पनि बिहान बिहान धेरैका घरमा पुजा किन गरिन्छन त ? मानिस मन्दिर किन जान्छन् ? पश्चिमाहरु अरुलाई जे सिकाए पनि चर्चको विस्तारमा किन लागिरहेका छन् त ? उनीहरु नियमित रुपमा चर्चमा किन जान्छन् त ? कतै मानव समाजले सफलता पाउनका लागि अदृश्य शक्तिको साधना र आफ्नो प्रयासलाई सँगसँगै लगिरहेको त छैन ?

कुन मन्दिरमा जान्छौ यात्री ? कविता लेख्ने लक्ष्मी प्रसाद देवकोटाको मनमा पनि जीवनको अन्तिममा ‘आखिर श्री कृष्ण रहेछ एक, न भो ज्ञान न भो विवेक’ भन्ने वाक्य कसरी आयो होला ? 

प्रल्हाद नाटकमा बालकृष्ण समले 'ज्ञान मर्दछ हाँसेर रोइ विज्ञान मर्दछ !' लेखेर यस्तै आशय व्यक्त गरेका थिए । 

अहिले पनि संसारमा विज्ञान र प्राविधिक विषय पढेकाहरु नै किन सन्त, साधु र महात्मा बन्ने बाटोमा लागेका देखिन्छन् ? विज्ञान नै पढेका के कारणले यसतर्फ लागेका होलान ? के यस्ता साधुसन्त आजको दिनमा अझ बढेका हुन् ?

यस समाजमा साधु सन्त हिजोका दिनमा पनि थिए नै । आजका दिनमा बढेका मात्र नभएर सामाजिक सञ्जालले बाहिर ल्याइदिएको पनि हुनसक्छ । अथवा बढेकै पनि हुनसक्छन् । अहिलेका धेरै मानिसमा मानसिक चिन्ता वा दबाब बढेकोले पनि मानिसहरू शान्तिको खोजिमा लागेका हुनसक्छन् । कति ज्ञानमार्गमा लागेकै पनि हुनसक्छन् । त्यहि भएर यतिबेला मानिसहरू मानसिक शान्तिको खोजिमा छन् । यसतर्फ बढि आकर्षित भएको पाइन्छ । भरखरै भारतको कुम्भमेलामा सामाजिक सञ्जालले देखाएका नागाबाबाको सङ्ख्याले त साधुसन्त बढेको जस्तो पनि देखिन्छ । साँच्चै यतिका नागाबाबा कहाँ बसेका होलान् ?  

साथै संसारमा देख्न र सुन्न नपाइने मानिसहरूलाई पनि सामाजिक सञ्जालका साधनहरूले आम मनिसको पहुँचमा पुर्याएको हुनाले पनि सङ्ख्या बढेको जस्तो लाग्न सक्छ । अहिले घरमै बसी बसी साधु सन्तहरूको बिचार सुन्न पाइएको छ । उनीहरूलाई हेर्न पाइएको छ । यसले पनि आकर्षण बढाएको हुनसक्छ । मानसिक दबाब चिन्ता आदिबाट छुटकारा पाउन पनि मानिस यसतर्फ मोडिएका हुनसक्छन् ।  

नेपालमा पनि मेडिकल साइन्सका पुराना र अनुभवी विज्ञहरुको कुरा सुन्दा यिनीहरु पनि अध्यात्मतिर ढल्केको देख्ने म मात्र हो कि अरु पनि छन् ? के उनीहरु पनि मानिसलाई ‘गभर्न’ गर्न अर्को कुनै अदृष्य शक्ति छ भन्नेमा सहमत भएका हुन् ? यदि जीवनको उत्तराद्र्धमा यस्तो ज्ञान आउने हो भने शुरुवाट नै यस सम्बन्धी ज्ञान दिए के हुन्छ ? यसको आर्जनमा लागे के हुन्छ ?

यदि हामी यस्तै अदृश्य शक्तिमा विश्वस्त हुदैँ गएको हो भने हाम्रा प्राचिन धर्मग्रन्थहरुमा भनिएका वाक्यहरुलाइ किन रूढिबादी र पूरातनवादी भन्नु ? पुराना भन्दैमा सबै काम नलाग्ने पनि हुँदैनन् होला ? अहिलेको समयमा सान्दर्भिक देखिएकाहरूलाई गर्वसाथ आत्मसाथ गर्न हामीलाई के ले रोकेको होला ? 

सफल हुनका लागि व्यक्तिले कर्म गर्नुपर्छ । भाग्य छ भनेर डोकोमा दुध दुएर हुँदैन भन्ने भनाइमा पनि उत्तिकै दम छ । व्यक्तिले कर्म गर्नुपर्छ, एकाग्र भएर काम गर्नुपर्छ । अझ असल कर्म गर्नुपर्छ । आफ्ना अधिन वा बसमा रहेका काम गर्नुपर्छ । जुन आफ्ना बसमा छैनन् तीनका बारेमा चिन्तामात्र गरेर काम छैन् । यहि ज्ञान त हामीलाई पाँच हजार वर्षअघिको गीताले दिएकै त थियो । तर हामीले त्यसलाई समयमै आत्मसाथ गर्न सकेनौँ । हाम्रा पाठ्यक्रममा भएका यस्तै खालका उपयोगी ज्ञानलाई पुराना र काम नलाग्ने भनेर हटायौँ । 

श्रीमदभागवद् गीताको अध्याय दुइ श्लोक ४७ मा श्रीकृष्णले अर्जुनलाई भनेका थिए : अर्जुन तिमीलाई आफ्नो निर्धारित कर्म गर्ने अधिकार मात्र छ । तर कर्मको फल पाउने नपाउने विषय तिम्रो अधिनमा छैन । 

यहि फल अर्थात नतिजा पाउने नपाउने विषयमा चिन्ता होइन कि आफ्नो कर्म गर भन्ने जुन सन्देश यसमा दिइएको छ सो वास्तवमा आजको दिनमा पनि उत्तिकै सान्दर्भिक र उपयोगी छ । गीतामा श्रीकृष्णले अर्जुनलाई भनेको यी मर्मस्पर्शी र कालजयी भनाइलाई जो देहायमा दिइएको छ त्यसको सार बताउनमा हामी कँहि न कँहि त चुक्यौं नै ?

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन । मा कर्मफलहेतुर्भुर्मा ते संगोऽस्त्वकर्मणि ॥ ४७।। 

तिमीलाई आफ्नो कर्म गर्ने अधिकार छ तर कर्मको फल पाउने नपाउने कुरा तिम्रो अधीनमा छैन । तिमीले आफूलाई कर्म फलको कारण पनि कहिल्यै नसोच र कर्तव्य गर्नबाट विमुख पनि कहिल्यै नहोउ ।

व्यक्तिले आफ्नो बस वा काबुमा जुन जुन कामहरू छ तिनमा नै ध्यान दिने हो । यस्ता काम गर्दै जाने अवसर हामी सबैसँग हुन्छ । राम्रो वा ‘न्यूट्रल’ वा खराब काम गर्ने विकल्प पनि व्यक्तिसँग हुने नै भयो । अहिले अर्थात् वर्तमानमा काम गर्ने सम्मको विषय मानिसको बसमा छ । तर त्यसबाट के नतिजा आउँछ भन्ने विषय व्यक्तिको अधिनमा छैन । 

एकहार्ट टोलले ‘द पाओर अफ नाउ’मा तिमी वर्तमानमा बाँच र आनन्दित होउ भने । उनका अनुसार मानिस विगत सोचेर चिन्तित हुने र भविष्य सोचेर तनावमा रहनेभन्दा वर्तमान सोच्दा लाभ हुन्छ । उनको यस भनाइ सुन्दा त सजिलो जस्तो लाग्छ । तर व्यवहारमा अवलम्बन गर्न त्यति सजिलो होला र ? तर गर्नै नसिकने भन्ने पनि होइन रहेछ । तर हामी जे गर्न सक्छौँ वर्तमानमा मात्र गर्न सक्छौँ । विगत र भविष्यका बारेमा त केवल सोच्न मात्र सक्छौँ । नतिजा त हरेक अहिलेको क्षणमा काम गरे पछि मात्र आउने हो । तसर्थ वर्तमान भनेको त अहिले गर्ने काममात्र हो । उनले त्यसैमा ध्यान देउ नकि नतिजामा मात्र भने ।   

तिम्रा वस वा अधिनमा जे छन् तीनमा ध्यान देउ, त्यसबाट आउने नतिजामा चिन्ता नगर भन्ने गीताको शास्वत वाणीलाई हामीले समयमै किन आत्मसाथ गर्न सकेनौं ? गीताका वाणीजस्तै सार भएका, अझ गीता अध्ययन गरेर लेखिएका पश्चिमाका पुस्तकहरु लाखौं प्रति बिके । तर हामीले गीतालाई सोही रुपमा व्याख्या र प्रचार गर्न नसक्ने किन ?

मिसेल फूकोले नलेज एण्ड पाओरमा कस्को विचार फष्टाउने र कुन खुम्चने भनेर यिनको अन्तर सम्बन्ध केलाए । पाओरले नलेजको विस्तार गर्न के कसरी भूमिका खेल्छ भनेर व्याख्या गरे । उनका अनुसार नलेजलाई विस्तार गर्न, स्थापित गर्न र त्यसको वैधानिकता प्रदान गर्न पाओरले महत्वपुर्ण भूमिका खेल्दछ । 

शायद पूर्वीय दर्शनभन्दा पश्चिमहरुको दर्शन, विचार र मान्यता बढि प्रचार प्रसार हुनुमा फुकोले भनेको यहि पाओरले काम गरेको हुनुपर्छ । मिसेल फूकोले भनेको पाओर राजनीतिक सत्ताबाट मात्र प्राप्त हुने पाओर थिएन । उनले भनेको पाओरमा त धेरै आयाम थिए र छन पनि । हामीले भने पनि नभने पनि हामीकहाँ ठूला बडाले जे गर्छ भलै गर्छ भन्ने मान्यता पनि यसै अन्तर्गत पर्छ ।

सफलताका लागि गर्नैपर्ने एक कामः असल कर्म 

सफल हुन भाग्यले कति काम गर्ला भन्ने विषयमा थप खोजि चाहिएला नै । कतिलाई यो हुँदैन भन्ने पनि लाग्न सक्छ । तर एउटा सत्य के हो भने सफल हुनका लागि कर्म गर्नै पर्छ । असल कर्म गर्नै पर्छ । यसमा अरू पक्षले के कति मात्रामा योगदान गर्छन् भन्ने विषय अननोन नै छ । 

भागवद् गीतामा कर्म, अकर्म, विकर्म, सकाम कर्म, निष्काम कर्मको चर्चा छ । कर्मलाइ जे जसरी व्याख्या र विवेचना गरिए पनि व्यक्तिले सद्विचारले कर्म गर्नै पर्ने रहेछ । ज्ञानी एवम् विद्वानहरूका मत पनि यस्तै देखिन्छन् । साथै अहिलेको वैश्विक युगमा सफल देखिएकाहरूको अनुभवले पनि यहि बताएको देखिन्छ । सफलता हासिल गर्नका लागि भनेर लेखिएका पुस्तकहरूको निचोड पनि यस्तै देखिन्छ । 

अध्यात्म वा व्यक्तिलाई स्वमूल्याङ्कनबाट परिवर्तन गर्न खोजिएका अर्थात सफल बनाउन सहयोग पुग्ने भन्ने विषय समेटिएका पुस्तकहरूको फाउण्डेशन पुर्वीय दर्शन पद्धतिमा आधारित भएजस्तो देखिन्छ । यसलाई पुष्टिगर्ने आधार त छैन तर मनले यस्तै मान्छ । २/४ पुस्तकलाई आधार मान्दा पनि यस्तै लाग्छ । सबै धर्मको सार मानव कल्याण भएको हुनाले यस्ता मानव हितका विषयमा सबै धर्मको मत समान हुन पनि सक्छ । पछि व्याख्या गर्नेहरुले फरक फरक बाटो बनाएको हुन सक्छ । 

सर्वप्रथमत कर्मका लागि व्यक्ति आफैँ तयार हुनुपर्छ । यसमा अपवादमा डर, धाक, धम्की आदिले काम गर्न त सक्ला । तर दिगो हुने भनेको व्यक्ति स्वयमको प्रतिवद्धता नै हो । जब आदत वा बानि व्यहोरामा परिवर्तन गरिन्छ अनि सफलता हासिल गर्न सजिलो हुन्छ भन्ने गरिन्छ । यस्ता बानी व्यहोरा साना साना कामसँग जोडिएका हुन्छन् । यस्ता व्यवहार सम्बन्धी साना साना काममा हरेक दिन सुधार गर्दै जाने हो भने त्यही जम्मा भएर ठूलो सुधार देखिने हुन्छ । 

एटोमिक ह्याबिट पुस्तकबाट लिन सकिने कर्म र सफलता सम्बन्धी पाठहरू   

एटोमिक ह्याबिट (Atomic Habit)  पुस्तक माथि दिइएका मतहरूसँग धेरै सामिप्य राख्ने पुस्तकमा पर्ने देखिन्छ । यस पुस्तकका लेखक James Clear  (जेम्स क्लियर) हुन् जसलाई सन् २०१८ मा प्रकाशित गरिएको थियो । यो आलेख तयार गरिरहदाँसम्म पुस्तकको विक्री ५० लाख प्रतिभन्दा बढि नै छ । यो पुस्तक संसारका ५० भन्दा बढि भाषामा उल्था भइसकेको छ । जेम्स आफै पाँच सय फच्युर्न कम्पनिका नियमित वक्ता पनि हुन् । यो पुस्तक न्यूयोर्क टाइम्सको वेस्ट सेलर बुकमा परेको पुस्तक हो । पुस्तकको बाहिरी पृष्ठमा नै सानो परिवर्तनले उल्लेखनीय नतिजा (Tiny changes remarkable results) ल्याउने भनेर उल्लेख गरिएको छ ।

Atomic+Habits+James+Clear

जसरी एटम मिलेर मोलेक्युल बन्छ मानिसको आदत पनि त्यसरी नै बनेको हुन्छ भन्ने मतमा आधारित छ पुस्तक । एटमको संरचनामा फेरबदल ल्याउँदा मोलेक्यूलको स्वरूप बदलिए जस्तै मानिसको हकमा पनि यस्तै नियम लागू हुन सक्छ । आदत बदल्ने भनेको कर्मबाट नै हो । यसका लागि हरेक क्षण कर्म गरिरहनु पर्छ । यदि हरेक दिन कुनै व्यवहारमा १ प्रतिशतले सुधार गर्ने हो भने वर्ष अर्थात ३६५ दिनमा ३७.७८ प्रतिशतले उक्त व्यवहारमा सुधार गर्न सकिन्छ भनेर जेम्सले अनुसन्धानका तथ्य नै पुस्तकमा समावेश गरेका छन् ।

यो पुस्तक आँफैमा व्यवहारिक छ । आदत परिवर्तन गर्नका लागि अत्यन्त उपयोगी छ । व्यवहार परिवर्तन गर्दै गएपछि त्यसको असर नतिजामा पर्ने नै भयो । यस पुस्तकमा नतिजामा होइन कि व्यक्तिको व्यवहार परिवर्तन गर्नका लागि उपयोगी सिकाइ समावेश गरिएको छ । 

पहिलो यदि व्यक्तिले आफूलाई सुधार्न चाहने हो भने हरेक दिन एक प्रतिशत राम्रो गर्ने प्रण गर्न आवश्यक छ । यसको लागि व्यक्ति आँफैले एउटा प्रणाली बनाउन सक्नुपर्छ । स्वचालित प्रणाली बनाउन सकेमात्र काम लाग्छ ।

उदाहरणका लागि अध्ययन गर्नेले हरेक दिन कति मात्रामा अध्ययन गर्ने हो सो तय गर्नसक्नु पर्ने रहेछ । अनि त्यसलाई पालना पनि गर्नुपर्छ ।  

दोश्रो, आफ्ना अनुपयुक्त देखिएका वा बदल्नु पर्ने वा खराब आदत पहिचान गर्न सक्नुपर्छ । साथै ठिक आदत के हो भनेर पनि यकिन गर्नुपर्छ । ठिक आदतलाइ माथि भनिए झैँ बलियो बनाउन लाग्नुपर्छ । प्रतिवद्ध बन्नुपर्छ । अर्थात हटाउनु पर्ने व्यवहारलाई काटेर विकास गर्नुपर्ने आदतलाई हरेक दिन थप गर्दै गएपछि स्वतः बलियो बन्ने रहेछ । यसबाट सकारात्मक नतिजा आउने सम्भावना बढ्ने भइहाल्यो ।  

तेश्रो, आदत परिवर्तन त्यति सजिलो काम होइन । यसलाई तत्काल सुधार गर्न नसकिने पनि हुन्छ । कुनै काम गर्दा पनि तत्काल केहि नदेखिने अनि केहि काम गर्दा पनि असर नदेखिने खालको हुनसक्छ । त्यहि भएर असल कर्म गर्ने र धैर्य गर्ने कार्य सँगसँगै लैजानु पर्ने हुन्छ । यस क्रममा आएका कमजोरी वा मिष्टेकलाई हटाउँदै वा घटाउँदै अगाडि बढ्नुपर्छ ।  

चौथो, व्यक्तिको इच्छा शक्ति जगाउने आफैँले हो, प्रतिवद्धता आउने आफैँबाट हो । उत्प्रेरणा जगाउने आफैँबाट हो । यसलाई पालना गर्न ठूलै हिम्मत चाहिन्छ । नकारात्मक सोच आउन शुरु हुनासाथ मन त्यहाँबाट अन्यत्र लैजान सक्नुपर्छ । 

पाँचौं, कर्मका लागि व्यक्तिले आफूमा विश्वास जगाउन सक्नुपर्छ, त्यसलाई बलियो बनाउदै लैजानुपर्छ । आफ्नो पहिचान बलियो बनाउनुपर्छ । सवल विश्वासले खराब कार्यलाई बदल्न सहयोग गर्दछ । विश्वास आफैमा सफलताको आधार हो भन्ने पनि गरिन्छ ।

छैठौं, विकास गर्नुपर्ने वा गर्न खोजिएको आदतमा अभ्यस्त हुनका लागि समय दिनुपर्छ । साधना चाहिन्छ । तत्काल नतिजा नदेखिए पनि असल कर्मको निरन्तरता चाहिन्छ । यसमा व्यक्तिले दाँया बाँया नगरिकन समय दिइरहनु पर्छ । 

सातौं, सफल हुनका लागि चाहिने वातावरण व्यक्तिले स्वयमले सृजना गर्ने हो । सफलता पाउनका लागि अल्छि गर्ने होइन कि उपयुक्त वातावरण सृजना गर्ने तर्फ लाग्नुपर्छ । सफलता हात लाग्ला नलाग्ला भनेर चिन्ता गर्ने भन्दा पनि वातावरण सृजना पहिलो आवश्यकता हो ।

आठौं, जहिले पनि ठूला नतिजा साना साना परिवर्तनबाट जम्मा भएर देखिने हो । त्यहि भएर व्यक्ति साना काममा मिहिन ढँगबाट लाग्नुपर्छ । हामीले दैनिक गर्ने काममा साना कामलाई अनदेखा गरिएको हुनसक्छ । तर नतिजा हासिल गर्न यस्ता काममा ध्यान दिनै पर्छ । साना मसिना काममा धेरैको ध्यान पुग्दैन । यसमा सुधार चाहिन्छ ।  

नवौं, काम गर्दा कहिलेकाँही सोचेको भन्दा फरक बाटोमा पुग्न सकिन्छ । बाटो बिराउन पनि सकिन्छ । जब थाहा हुन्छ वा महशुस हुन्छ तुरुन्तै आफुले खोजेको बाटोमा फर्किहाल्नुपर्छ । चाहेको बाटोमा आउनुपर्छ । यसमा ढिलाई गर्नै हुँदैन । यात्रा गर्दा सचेत भइ हिँड्नुपर्छ ।

दशौं, सोच र व्यवहारमा तालमेल मिल्नुपर्छ । पहिला सही सोच्नु पर्यो, अनि त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्यो । यी दुवै अति महत्वपूर्ण छन् । 

यो पुस्तक यस्तै यस्तै पाठहरूले भरिएको छ । यसमा यस्ता थुप्रै व्यवहारिक उपायहरू समेटिएका छन् । यसमा समावेश गरिएका उपायहरू प्रयोगात्मक छन् । सामान्य रूपमा भन्नुपर्दा व्यक्तिको आदत निर्माणका लागि उपयोगी र सान्दर्भिक सूचनाहरु यस पुस्तकले समावेश गरेको छ । यसका अनुसार आदत निर्माण आफँैमा एक कला हो । साथै विज्ञान पनि हो । खराब कार्यतालिका र आदत छुटाउनका लागि हरेक व्यक्तिले निश्चित स्टेप वा चरण पालना गर्नैपर्छ । अर्थात कर्म गर्नै पर्दछ ।

माथि नै भनियो कि यो पुस्तक आँफैमा प्रयोगात्मक छ । अरूभन्दा पनि भिन्न छ । स्वयम पाठकले पढ्दै यसलाई व्यवहारमा कार्यान्वयनमा ल्याउन सक्छन् ।

मनोविज्ञान विधामा मानिसको व्यवहारमा परिवर्तनका उपाय अवलम्बन गर्न यस्ता उपायहरू जनावरमा परीक्षण गरिए । उनीहरुलाई प्रयोगशालाको नियन्त्रित वातावरणमा राखियो । परीक्षणको नाममा यीनलाइ कति दुख पिडा दिइयो होला । त्यो छुट्टै अध्ययनको विषय बन्न सक्छ । तर यस पुस्तकमा जेम्स क्लियरले मान्छेको व्यवहार परिवर्तन गर्न सकिन्छ भनेर विभिन्न उपाय बताएका छन्, तरिका बताएका छन् । मनोविज्ञान विधा र यसमा अवश्य फरक छ तर जेम्सले बताएका नियमहरु व्यवहारिक जीवनमा सरल ढँगबाट प्रयोग गर्न सकिने खालका छन् । उनका चार नियममा : Make it obvious, make it attractive, make it easy and make it satisfying भन्ने रहेका छन् । यी नियमहरूले सारमा देहायका सन्देश बोकेका छन् । 

- अन्तिम नतिजामा भन्दा प्रकृयामा जोड दिने । 

- साना साना काम र सोमा सुधार गर्नका लागि ध्यान दिने । 

- केहि समय सानो काम गर्दा र नगर्दा खासै फरक देखिँदैन । पहिचान गरिएका साना कामहरू नतिजा आएनन् भनेर गर्न नछोड्ने । 

- जसरी अणु मिलेर मोलेक्यूल बन्ने हो आदत वा ह्याबिट पनि त्यस्तै हो । मोलेक्यूल बदल्न होइन कि अणु बदल्नका लागि लाग्ने हो । व्यवहार बदल्ने हो भने आदत बदल्नका लागि शुरू गर्ने हो । 

यस पुस्तकमा ओलम्पिकमा स्वर्ण पदक विजेताहरु, सफल देखिएका सिइओहरु, सम्मानित वैज्ञानिकहरुका कथाहरू छन् । यीनीहरूले आफ्नो व्यवहारमा सानो सुधार गरेर आफूलाई फरक बनाए, खुसी बनाए, अझ बढि उर्जामूलक बनाए । यस्तै थुप्रै उदाहरणहरू यस पुस्तकमा दिइएका छन् । ती उदाहरणहरु आफैमा रोचक र पठनीय पनि छन् ।

हामीले प्रत्येक सेकेण्ड वा मिनेटमा गरेको कामबाट नै हाम्रो आदत वा व्यवहार निर्माण हुदैँ जाने हो । यस्ता रुटिन वर्कमा गरिएका कामको लिष्ट बनाइ तिनको समीक्षा गर्ने, तिनमा घटाउन पर्ने र बढाउन पर्ने साना साना काममा ध्यान दिएर सुधार गर्ने कार्यमा लागे सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश यस पुस्तकले दिएको छ । 

वास्तवमा भन्ने हो भने यो पुस्तक व्यक्तिको आदत निर्माणको विज्ञान नै हो । उनले यस पुस्तकमा सुझाएका स्टेप र उपायहरु विभिन्न अध्ययन एवम् अनुसन्धानबाट खारिएका छन् । उनको वैयक्तिक अनुभव पनि यसमा मिसिएको छ । मसिनो सँग हेर्दा पुस्तक साना साना कर्म गर्ने कार्यसँग जोडिएका छन् ।

र, अन्तमा 

मानिसले सफलता हात पार्नमा भाग्य अर्थात अदृश्य शक्तिको के कति योगदान छ भन्ने विषय थप खोजि गर्नेमा पर्ला । यो विषय व्यक्तिको विश्वासमा पनि भर पर्ने होला । तर असल कर्म गरेमा सफलता हात लाग्न सक्छ भन्नेमा सबैको विश्वास छ । तर यो सुनिश्चित नहुन पनि सक्छ नै । तर कर्मका साथमा अदृश्य शक्तिप्रतिको विश्वासले असहयोग भन्दा पनि सहयोग गर्न सक्छ होला ।

मानवीय व्यवहारको निर्माण साना साना आदत मिलेर बनेको हुन्छ । आदत अर्थात ह्याबिट निर्माण हुन धेरै तत्वले काम गरेको हुन्छ । यसमा परिवर्तन ल्याउन साना साना सयौं निर्णय अर्थात कर्म उपयोगी हुन सक्छन् । एउटा निर्णय अर्थात कर्मले मात्र व्यक्तिको आदत परिवर्तन नहुने नै भन्ने त होइन तर सजिलो पनि छैन । यहि कर्ममा परिवर्तन गर्न सके सफलता हात लाग्ने सम्भावना हुने भयो । तर कर्म नगरे सफलता आउँदैन भन्ने चाँहि पक्का छ ।

लम्साल, नेपाल सरकारका सचिव हुन् । उनी हाल युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत छन् । यसमा व्यक्त विचार लेखकका निजी मत हुन्। 

प्रतिक्रिया