Edukhabar
मंगलबार, २९ माघ २०८१
खबर/फिचर

शिक्षक आयोग सदस्यको 'सर्टलिष्ट' सार्वजनिक, पूर्व कर्मचारीको वाहुल्यता

आवेदन हालेका ३१ मध्ये ११ जना सर्टलिष्टमा, ती मध्ये शिक्षा सेवाका तीन जना पूर्व सहसचिव सहित ७ जना पूर्व कर्मचारी ।

आइतबार, २७ माघ २०८१

काठमाडौं - शिक्षक सेवा आयोगको रिक्त सदस्यका लागि आवेदन हालेका ३१ मध्ये ११ जना सर्टलिष्टमा परेका छन् । 'शिक्षक सेवा आयोगको सदस्य पदमा नियुक्तिका लागि गठित सिफारिस समिति'ले सर्टलिष्टमा पर्नेहरुको नाम सार्वजनिक गरेको छ । सर्टलिष्टमा पर्ने मध्ये शिक्षा सेवाका तीन जना पूर्व सहसचिव सहित ७ जना पूर्व कर्मचारी छन् ।

समितिका अनुसार शिक्षाका पूर्व सहसचिव केशवप्रसाद दाहाल, डा.भोजराज शर्मा काफ्ले र रामशरण सापकोटा सर्टलिष्टमा परेका छन् । यस्तै अन्य सेवाका पूर्व सहसचिवहरु हिरामणी शर्मा, थानेश्वर गौतम र नवराज सापकोटा पनि सर्टलिष्टमा परेका छन् । यस्तै शिक्षा मन्त्रालयका पूर्व उपसचिव खेमनाथ पोखरेल सहित विष्णु घिमिरे रिमाल पनि सर्टलिष्टमा परेका छन् । 

आयोगको सदस्य हुन आवेदन हालेका शिक्षकहरु मध्येबाट पवित्रा सुवेदी, डा. लाक्पा शेर्पा र बबिता लाभ कायस्थ पनि सर्टलिष्टमा परेका छन् । शेर्पा किर्तिपुरको ल्याबरोटरी स्कुलका प्रिन्सिपल हुन भने कायस्थ पनि निजी विद्यालय सञ्चालक हुन् । 

आयोगको रिक्त रहेको दुई सदस्य बन्नको लागि आवेदन हाल्नेहरुमा सामुदायिक र निजी विद्यालयका शिक्षकहरुको संख्या धेरै थियो । 

यो खबर पढ्नुहोस् : शिक्षक छाडेर आयोग

सर्टलिष्टमा परेकाहरुलाई अवधारणापत्र सहितको व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरणको लागि समितिले मिति र समय समेत निर्धारण गरेको जनाएको छ । प्रस्तुतीकरण र अन्तरवार्ताका लागि समितिले तीनवटा छुट्टा छुट्टै समूह निर्धारण गरेको छ । पहिलो दिन आगामी फागुन ५ गते छुट्टाछुट्टै प्रस्तुतीकरण र ६ गते अन्तरवार्ताको समय निर्धारण गरेको छ । 

लोक सेवा आयोगका अध्यक्ष संयोजक रहेको छनोट समितिले माघ १ मा दर्खास्त आव्हान गरेको थियो । समिति सदस्यमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराल र शिक्षा मन्त्रालयका सचिव दिपक काफ्ले छन् । 
२०७७ पुषमा नियुक्ति गर्न सिफारिस गरिएका जनसेवा मावि काठमाडौं, कीर्तिपुरको प्रधानाध्यापकबाट अवकास भएकी नन्दकुमारी महर्जन र शिक्षा मन्त्रालयका पूर्व सहसचिव डा. डिल्लिराम रिमालको अवधि सकिएपछि नयाँ सदस्य नियुक्तिको प्रकृया शुरु गरिएको हो । महर्जन गत असोजमा अवकास भईसकेकी छन् भने रिमाल यही माघ अन्तिममा ६५ बर्षे उमेर हदका कारण अवकास हुँदै छन् । यीनै दुई पदका लागि दरखास्त आह्वान गरिएको हो । 
तत्कालिन शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको स्वार्थका कारण सिफारिस भएको सात महिना पछि बल्ल उनीहरुको नियुक्ति भएको थियो ।  

पढ्नुहोस् : शिक्षक आयोगका पदाधिकारी नियुक्तिमा शिक्षा मन्त्रीको  'रहस्यमय' ढिलाई !

प्रतिक्रिया